२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बारा डकैतीमा संलग्न दुई जना पक्राउ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा शनिबार मध्यरात भएको डकैतीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय जयराम पासवान र वडा नम्बर १० का ४० वर्षीय  जवाहिर महतो छन्।

शनिबार राति घटनास्थलबाटै पक्राउ गरिएका दुबैजनालाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे। प्रहरीले घटनास्थलबाट दुई थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुकसमेत बरामद गरेको छ।

डाँका समूहलाई पक्राउ गर्न खटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको टाउकोमा डाँकाले रड प्रहार गरेको बारा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटिले बताए। उनको वीरगञ्ज हेल्थ केयरमा उपचार भैरहेको एसपी बोगटीले बताए। डाँकाको समूहले प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरेको थियो। डाँकाको समूहले गोली चलाएपछि प्रहरीले पनि राइफलबाट ३ राउण्ड गोली चलाएको थियो।  

भलुहीस्थित एरोटेक प्रालिमा १०÷१२ जना डाँकाहरु हात–हतियारसहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो।

हतियारधारी डाँका समूहले स्टोरमा रहेको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोबाइल समेत लुटेर भाग्दै थिए।  

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा डाँकाहरुले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली फायर गरेका थिए। प्रहरी टोलीले आफ्नो प्रतिरक्षाका लागि गोली चलाएको जनाएको छ।

प्रकाशित: १९ भाद्र २०७९ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App