काठमाडौं-काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी भैरहँदा चिनियाँ कम्पनी सम्भाव्यता अध्ययन गर्न आउन थालेका छन् । प्रधानमन्त्रीको चैत ७ गतेदेखि हुने चीन भ्रमणमा सम्झौता हुने गरी विद्युतीय बसको सम्भाव्यता अध्ययन गर्न टोली आएका हुन्।
'लामो समयको इन्धन अभावबाट पाठ सिक्दै कामपाले यो प्रयास थालेको हो,' उनले नागरिकसँग भने, 'चिनियाँ टोली दीर्घकालीन लगानी गर्न उत्सुक छन् ।' ग्रानटोन कम्पनीको टोलीले अहिले अध्ययन गरिरहेको उनले बताए । दुई साताअघि चीनकै टाइम्स इलेक्ट्रोनिक्स भेइकल कम्पनीको टोलीले पनि सम्भाव्यता अध्ययन सकारात्मक रहेको प्रतिवेदन दिएको थियो ।
कम्पनीका प्रतिनिधिले काठमाडौंको भूगोल, उपभोक्ताको रुची र बढ्दो सार्वजनिक यातायातको माग सम्बोधन गर्न कम्पनी सक्षम रहेको बताएको कार्कीले जनाए । टोलीले सार्वजनिक बसमा यात्रा गरेरै सडकको अवस्था अध्ययन गरेको उनले बताए ।
टोलीले महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङसँग पनि भेटेको थियो । उपत्यकावासीले सहज सार्वजनिक यातायात उपयोग गर्न पाउने स्थिति बनाउन महानगरले नेतृत्व गरिरहेको भन्दै तामाङले बस सञ्चालन निजी क्षेत्रको सहभागितामा हुने बताएका थिए ।
'काठमाडौंको पूर्वाधार र भूगोल सुहाउँदा बस छनोटमा पर्नेछन्,' तामाङले भने । महानगरको तत्काल प्राथमिकतामा सहरी आवश्यकता र पूर्वाधारमैत्री विद्युतीय सवारीसाधन सञ्चालन रहेको कार्कीले बताए ।
टोलीहरूले सडकको संरचना र विद्युत आपूर्तिसम्बन्धी अध्ययन गरेको कामपाले जनाएको छ । करिब एक महिनाअघि कार्कीको नेतृत्वमा कामपाको टोलीले सम्भाव्यता अध्ययन गरेपछि चिनियाँ टोली आएका हुन् ।
२० वटा बसमध्ये १२ वटा महानगर र सरकारले खरिद गर्ने योजना छ । यसबाहेक ८ वटा बस चीन सरकारसँग अनुदानमा माग्ने तयारी छ ।
महानगरले विद्युतीय बस खरिद गरेर साझालाई सार्वजनिक–निजी साझेदारी अनुसार सञ्चालन गर्न दिने तयारी गरिरहेको छ । यसअघि पनि महानगरले साझालाई १० करोड रुपैयाँ बराबरका २५ वटा ठूला बस खरिद गर्न साउनमा सम्झौता गरिसकेको छ ।
चीनको संघाईस्थित संघाई सेन्लोङ बस कम्पनी र हुनान प्रान्तको टाइम्स इलेक्ट्रोनिक्स भेइकल कम्पनीमा महानगरको टोलीले अध्ययन गर्दा विद्युतीय बस सञ्चालनको सम्भावना देखिएको थियो । यी बस काठमाडौंका सडकमैत्री बनाउन र पाटपुर्जा पाउन भने कठिन हुने टोलीको निष्कर्ष छ ।
यस्ता बस करिब १ करोड ८० लाख रुपैयाँसम्म पर्ने भए पनि सडक अनुसार सुधार गरे करिब १ करोडसम्म खरिद गर्न सकिने टोलीको निष्कर्ष छ । टोलीले १० मिटर लामा बस उपयुक्त हुने देखेको छ । बसको तल्लो भाग र भुइँको दुरी (ग्राउन्ड क्लियरेन्स) मात्र २० इन्च हुँदा काठमाडौंमैत्री छैनन् । ग्राउन्ड क्लियरेन्स ३६ इन्चसम्म बढाउने, बसमुनि राखिने ब्याट्री सडकको पानीले असर नपार्न अन्य ठाउँमा राख्नेजस्ता सुझाव उत्पादक कम्पनीलाई महानगरले दिइसकेको छ ।
प्रकाशित: २ चैत्र २०७२ २१:०४ मंगलबार