१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

काठमाडौंका मेयर बालेन शाहकै पथमा त्रियुगाका मेयर बसन्त, डोजर लिएर सडकमा

नगरपालिकाले बुधबार गाईघाट बजारमा भत्काएको पेटी मिचेर बनाइएको छानो। तस्विरः महेश्वर

मेयर बालेन शाहले काठमाडौं महानगरपालिकाका सडक मिचेर बनाइएका अनाधिकृत संरचना भत्काउने अभियान सुरु गरिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले पनि सडक सफाई अभियान सुरु गरेको छ जस अन्तर्गत सडक पेटी मिचेर बनाइएका अनाधिकृत घरटहरा र पसलहरु बुधबारदेखि भत्काउन थालेको छ।  

दिउँसो ४ः०० बजे निस्केको नगर प्रहरी, सशस्त्र र जनपथ तथा त्रियुगा उद्योग बाणिज्य संघका पदाधिकारीसहितको नगरपालिका टोलीले सफाई अभियान थालेको हो। नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा नं. ११ का वडाध्यक्ष सुमन्त कोईरालासहितको टोलीले बोक्से जोड्ने सीमा प्राथमिक आँखा उपचार केन्द्रदेखि सेतो पुल, मेन चोक, बिपी चोक हुँदै नगरपालिका कार्यालयको गेटसम्म सफाई अभियान चलाएको छ।

 डोजर र टिफरसहित जनपथ, सशस्त्र र नगर प्रहरीका सय बढी सुरक्षाकर्मी, बाणिज्य संघका पदाधिकारी, जनप्रतिनिधि, व्यापारी व्यवसायी संलग्न ठूलो जमात बजार घुमेर फुटपाथमा रहेका पसल हटाएको छ। सो क्रममा सडक पेटी मिचेर बनाइएका टहरा तथा छानाहरु भत्काउदै जफत सामान टिफरमा लोड गरेर ल्याएको छ। सो क्रममा पहिलो दिन झण्डै दर्जन व्यापारिक पसल, पेटी मिचेर बनाइएका छाना डोजर लगाएर भत्काइएको छ। नगरपालिका गेटअगाडिको आफ्नै भवनको छानोसमेत टोलीले भत्काएको छ।

आँखा अस्पतालदेखि पूर्वतर्फ बाँया किनारको सडक पेटी सफाई गर्ने क्रममा लाली गुराँस स्कुलनजिक आईपुग्दा केही व्यापारी व्यवसायीले भने नगरपालिकाको चर्को बिरोध गरे। तर, अधिकाँशले भने नगरपालिकाको उक्त कदमप्रति खुसी व्यक्त गरेका थिए। पेटी नमिल्न पटकपटक आग्रह गरे पनि नटेरेको तथा पेटी मिच्ने गरी छानो जोडेर लुगा, कपडा, जुत्ताचप्पल, फलफु्ल र चटपटे पसल चलाउने गरेकाले नगरपालिका यस्तो कदम चाल्न बाध्य हुनुपरेको मेयर बस्नेतले बताए।

 उनका अनुसार यो कदम चाल्नुअघि १५ दिने सूचना जारी गर्दै माईकिङ र पसल पसल पुगेर सडक पेटी नमिच्न र त्यसभित्र बनेका अनाधिकृत घर टहरा भए भत्काउन आग्रह गरिएको थियो। तर, व्यापारी व्यवसायीले नगरपालिकाको आग्रहप्रति बेवास्ता गरेको तथा पेटी नै कब्जा गरेर सडक दुर्घटनाको जोखिम कायम राखेकाले भत्काउनु परेको बस्नेतले बताए।  

गाईघाट बजारलाई सुन्दर र सभ्य सहर बनाउने उदेश्यले सडक सफाई अभियान थालेको मेयर बस्नेतले बताएका छन्। उनका अनुसार अभियानलाई निरन्तरता दिइने र यो पहिलो दिन सचेत गराइएको बताए। ‘आज पहिलो दिन भएकाले केही सांकेतिक कदम स्वरुप थोरै संरचना मात्र भत्काइएको छ’ उनले भने ‘यति गर्दा पनि सचेत भएनन् भने ३ दिनपछि सबैतिर भत्काइने छ।’ पछिल्लो समय बढ्दो सडक दुर्घटना कम गर्न र बजारलाई फोहोर हुन नदिन मदन भण्डारी लोकमार्ग र सगरमाथा लोकमार्गमा पार्किङ गर्न पनि मनाही गर्ने तयारी उनले गरेका छन्।

 गाईघाट बजारको पूर्वतर्फ असारीको सीमा बरुवा पुलदेखि बोक्से छुट्ने आँखा उपचार केन्द्रसम्म १.२ किलोमिटर खण्ड मदन भण्डारी लोकमार्ग पर्छ भने सगरमाथा लोकमार्ग अन्तर्गत त्रियुगा बसपार्कदेखि मुख्य चोकसम्म ०.८ किलोमिटर सडक रहेको छ। दुवै सडक अत्यन्त व्यस्त हुने भएकाले पेटी मिचेर व्यापार व्यवसाय गर्दा दुर्घटनाको जोखिम बढी हुने गरेकाले यस्तो योजना अघि सार्नु परेको बस्नेतले बताए।  

 उपप्रमुख महेश्वरी राईले बजार सुन्दर बनाउन सके सिंगो नगरबासीको आफ्नै इज्जत बढ्ने भएकाले गाईघाटलाई सँधै स्वच्छ, सफा र हराभरा राख्न अभियान चलाइएको बताईन् । सडक पेटी नमिची व्यापार व्यवसाय गर्न आग्रह गरिए पनि बजारबासीले घरमा छती जोडेर छाना हाल्दै पेटी नै कब्जा गर्ने गरेकाले बटुवालाई पैदल हिड्न गाह्रो हुनुका साथै दुर्घटनाको उच्च जोखिम हुने भएकाले यो अभियान चलाइएको उनले बताईन्। बजार सुन्दर राख्न सबै नगरबासीले सहयोग गर्न पनि उनको आग्रह छ।  

 वडाध्यक्ष सुमन्त कोईरालाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय गर्ने गरेको पाइएपछि पहिले आफैले हटाउन आग्रह गर्दै सूचित गरेकोमा कसैले नटेरेपछि भत्काउनु परेको बताए। उनले खासगरी फलफुल, सागसब्जी र चटपटे पसलले सडक पेटी कब्जा गरेको हुनाले त्यसलाई व्यवस्थित गर्न फलफुल र चटपटे पसललाई एकै ठाउँमा केन्द्रित गर्न लागिएको बताए। त्यसका लागि नगर प्रहरी कार्यालय अगाडिको खाली जग्गामा नगरपालिकाले अस्थायी टहरा बनाएर स्थानान्तरणको तयारी गरेको कोईरालाको भनाई छ।

नगरपालिकाले उद्योग बाणिज्य संघको समन्वयमा टहरा निर्माण गरिएको छ। त्यहाँको होचो जमिन पुरेर बनाइएको टहरामा ८ वटा स्टल राख्न टहरामा फलफुपल व्यापारीलाई राख्ने योजना वडाले बनाएको छ। फलफुल पसलसम्म आउजाउ गर्न सहज होस् भनेर बिपी चोकस्थित वालमार्ट र थापा चिया पसलदेखि नगर प्रहरीनजिक छिर्ने बाटोसमेत खुलाईदिएको वडाध्यक्ष कोईरालाले बताए।

 सडक छेउछाउ राख्ने गरेका सबै सब्जी पसललाई भने हवाईफिल्डस्थित तरकारी तथा कृषि उपज बजारमा स्थानान्तरण गर्ने योजना नगरपालिकाले बताएको छ । नगरपालिकाले करोडौँ लगानी गरेर हवाईफिल्डमा तरकारी तथा कृषि उपज बजार व्यवस्थापन गरे पनि केही समय बसेर बजारकेन्द्रित सडक पेटीमै बेच्ने गर्दा सडक फोहोर, कुरुप र दुर्गन्धित हुनुका साथै सवारी दुर्घटना बढ्दै गएको छ।    

प्रकाशित: १६ भाद्र २०७९ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App