७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बङ्गुरका पाठापाठी बिक्री भएन

फाइल तबिर।

तेह्रथुमको ग्रामीण क्षेत्रमा छ महिनादेखि बङ्गुरका पाठापाठी बिक्री नहुँदा किसान चिन्तित बनेका छन्। ती क्षेत्रका विभिन्न जनजाति समुदायले घर खर्च टार्न बङ्गुर पालन र बिक्री गर्दै आएका छन्।

कोरोना माहामारीका बेला पनि राम्रो मूल्यमा बङ्गुरका पाठापाठी बिक्री गर्दै आएका किसानले छ महिनादेखि बङ्गुरका पाठापाठी नै बिक्री हुन छाडेको छ। छथर गाउँपालिका–५ की चन्द्रकला विश्वकर्माले भनिन्, ‘घरमा अहिले एक दर्जनभन्दा बढी बङ्गुरका पाठापाठी छन्। ती बिक्री नहुँदा घर चलाउन मुस्किल परेको छ। पाठापाठी बिक्रीबाटै घर खर्चको जोहो हुन्थ्यो।’

गाउँबाट पाठापाठी बेच्न शुक्रबारे बजारमा दुई पटक पुर्‍याउँदा पनि बिक्री नभएको उनको भनाइ छ। बङ्गुरको पाठापाठी बिक्रीबाट मात्रै उनले एक सिजनमा ३० देखि ४० हजार रुपैँयासम्म आम्दानी गर्दै आएकी थिइन्। ‘यसपालि एउटा माउले १०  पाठापाठी पाएको थियो। ३०–३५ हजार रुपैँयासम्म आम्दानी हुन्छ भन्ने आशा थियो’, उनी भन्छिन्, ‘योपटक त पाठापाठी नै बिक्री नै भएनन्।’ अघिल्लो सिजनमा चार हजार रुपैँयासम्ममा बिक्री भएका पाठापाठी यसपटक १५ सय रुपैँयामा पनि बिक्री नभएको उनको दुःखेसो छ।

स्थानीयवासी लक्ष्मी लिम्बूले पनि पाठापाठी बिक्री गर्न बजारसम्म ल्याउँदा पनि बिक्री नभएको गुनासो गरिन्। ‘पोहोरसम्म त व्यापारीले घरबाटै राम्रो दाम दिएर लान्थेँ तर, यसपालि त व्यापारी नै आएनन्’, उनले भनिन्।  

उनीहरुको मात्र यो समस्या होइन, छथरका अधिकांश जनजाति समुदायले बङ्गुर पाल्ने गरेका छन्। यहाँका पाठापाठी छिमेकी धनकुटा जिल्लाका साथै पूर्वी तराईका जिल्लामा निर्यात हुने गरेका छन्।  

विगतमा बजार राम्रो हुँदा बङ्गुर खरिद गरी राजधानीलगायतका व्यापारीले गाउँबाटै लैजाने गरेका थिए। व्यवसायीले उन्नत जातका योर्कसायर, हेमसायर, पाख्रीबास कालो बङ्गुर तथा स्थानीय रैथाने जातका बङ्गुर पाल्ने गरेका छन्।  

स्थानीय सरकारले बङ्गुर व्यवसायीलाई अनुदान दिँदै आएको छ। युवाको आकर्षण बङ्गुरपालनमा भए पनि बजार अभावका कारण उनीहरु चिन्तित बनेका छन्। स्थानीय बजारमा मासु खपत भए पनि पाठापाठी बिक्री नहुनु किसानको लागि समस्या भइरहेको छ।

प्रकाशित: १० भाद्र २०७९ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App