४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना

विराटनगरमा सामाजिक सुरक्षा कोषको  प्रादेशिक  कार्यालय स्थापना भएको छ। गत वर्षदेखि विराटनगरस्थित उद्योग संगठनको कार्यालयमा स्थापना भएको सामाजिक सुरक्षा इकाइलाई प्रादेशिक कार्यालयको रुपमा विराटनगरको कञ्चनवारीमा स्थापना गरिएको हो।  

कार्यालयको बुधबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे। कार्यालय उद्घाटन पछि आयोजित कार्यक्रमा मेयर कोइरालाले श्रमिकले पाउने सामाजिक सुरक्षाको अधिकारबाट कोहि पनि बञ्चीत नहुन् भन्ने विषयमा महानगरपालिका सजग रहेको बताए। सामाजिक सुरक्षाको दायरामा सबै श्रमिकहरूलाई आबद्ध गर्ने विषयमा कोषको प्रादेशिक कार्यालयको स्थापनाले ठूलो महत्व राख्ने उनले बताए। 

कोइरालाले सबै दलहरू र सबै ट्रेड यु्नियनहरूको संयुक्त प्रयासबाट सामाजिक सुरक्षा कोष स्थापना भएको र यसको पूर्ण कार्यान्वयनका लागि पनि सबै एकभएर लाग्नुपर्ने आबश्यकता रहेको बताए। उनले भने‘सबै राजनीतिक दल र ट्रेड युनियनको संयुक्त प्रयासबाट स्थापना भएको सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयनमा पनि सबै एक भएर लाग्नुपर्छ।’  

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उप निर्देशक रोहित रेग्मीले समाजिक सुरक्षाको कार्यालयको स्थापनाले घरछेउमै सेवा सुबिधाको बिस्तार भएको बताए। उनले श्रमिकको जीवनमा आइपर्ने  समस्यामा  सामाजिक सुरक्षाकोष अभिभावकका रुपमा रहने बताए। उनले  योगदानकर्ता दुर्घटनाका कारण कामै गर्न नसक्ने अवस्थामा पुगे पनि उसले समाजिक सुरक्षा कोषबाट आजीवन पेन्सन पाउने, मृत्यु भएमा परिवारले सामाजिक सुरक्षा पाउने, दुर्घटनामा घाइतेभएका उपचार पाउने भएकाले श्रमिकका लागि सामाजिक सुरक्षा आबश्यक रहेको बताए। उनले भने‘सामाजिक सुरक्षाले श्रमिकको जीवनमा आकस्मिक रुपमा आइपर्ने समस्यामा राहत दिन्छ। काम गर्ने उमेर सकिएपछि आजीवन पेन्सन पनि पाइन्छ।’  

कार्यक्रममा समाजिक सुरक्षा कोषका सञ्चालक समिति सदस्य पुस्कर आचार्यले सामाजिक सुरक्षा श्रमजीविका लागि अपरिहार्य रहेको बताए। उनले समाजिक सुरक्षा सबै क्षेत्रका श्रमिकलाई अनिवार्य रुपमा लागु हुनुपर्ने व्यवस्था भए पनि कार्यान्वयनमा नआउनु दुखद भएको बताए। आचार्यले सामाजिक सुरक्षाको सुरुवाद गर्दा प्रधानमन्त्रीले नयाँ युगको सुरुवाद भनेपनि पूर्ण रुपमा कार्यान्वयनमा नआउँदा सबै श्रमिकले नयाँ युगको सुरुवाद भएको महशुस गर्न नपाएको बताए। उनले भने‘नयाँ युगको सुरुवाद त भनियो तर, कार्यान्वयनमा आएको ४ वर्षसम्म पनि सबै श्रमिकले नयाँ युगको महशुस गर्न पाएका छैनन्।’ 

आचार्यले सामाजिक सुरक्षाका कार्यक्रमममा खर्बौं रुपैयाँ खर्च गर्दै आएको सरकारले सामाजिक सुरक्षा कोषमा भने कुनै योगदान नगरेको गुनासो गरे। उनले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि सामाजिक सुरक्षा कोषको दायरमा ल्याउन माग गरे।  कार्यक्रममा मजदुर नेताहरू, नीजि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ८ भाद्र २०७९ १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App