मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार फेसबुकमा एक मृतकलाई जीवित बनाएको भन्दै भिडियो सार्वजनिक भएपछि सोमबार प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-११ बुद्धनगरका पास्टर राजेन्द्र गोतामे रहेका छन्। उनले भने उक्त भिडियो पूरानो भएको बताएका छन्।
उक्त भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। भुइँमा सुतेकी (मृत भनिएकी) महिलालाई एक पुरूषले केही शब्दहरू भन्दै हातले तानेर उठाइएको छ।
पास्टर भनिएका गोतामेले 'प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई पुनः जीवित गराएको' भन्दै यशुलाई धन्यवाद दिन भनेका छन्।
प्रकाशित: ६ भाद्र २०७९ १४:३५ सोमबार