५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

थारु महिलाहरु धुमधामसँग कृष्ण जन्माष्टमी पर्व मनाउँदै

‘कृष्ण र भीम’ को युद्धले जन्माएको ‘अष्टिम्की’ पर्व

कृष्ण जन्माष्टमीमा कृष्णको पूजा गर्दै थारु समुदायका महिलाहरु।

थारु समुदायका महिलाहरुमा विशेष महत्व राख्ने कृष्ण जन्माष्टमी पर्वको उल्लासमा पश्चिम नेपालको थारु समुदाय छ। यो पर्व पूर्वी तराईमा भन्दा दाङ देखि पश्चिमका थारु बाहुल जिल्लामा थारु महिलाहरुले धुमधामसँग मनाउने गर्दछन्।

थारु अगुवाहरुका अनुसार यो पर्व अन्य समुदायका महिलाहरुले मान्दै आएको तीज पर्व जत्तिकै महत्वका रुपमा थारु समुदायका महिलाहरुले  मनाउने गर्दछन्। कृष्ण जन्माष्टमी पर्वमा निराहार ब्रत बस्ने अविवाहिता महिलाहरुले राम्रो बर पाउँ भन्ने कामना गर्दछन् भने विवाहिताहरुले पतिको दिर्घायूसँगै घर परिवारको समृद्धिको कामना गर्दै भगवान कृष्णको पूजा गर्ने गर्दछन्।

‘यो पर्व थारु समुदायका महिलाहरुको ठूलो पर्व हो, महिलाहरु आफ्नो मनोकांक्षा पुरा होओस् भनेर ब्रत बस्ने पर्व हो,’ प्रजातान्त्रिक थारु समाज दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले भने ‘थारु समुदायका महिलाहरुको प्रमुख पर्वका रुपमा मनाईने यो पर्वमा पुरुषहरु ब्रत नबस्ने पुरानो चलन छ।’

थारु अगुवाहरुका अनुसार कृष्ण जन्माष्टमी पर्वलाई थारु समुदायले ‘अष्टिम्की’ भन्ने गरेको छ। भगवान कृष्णलाई आफ्ना कुल देवताका रुपमा यो समुदायले मान्दै आएको छ। द्धापरयुग देखि यो समुदायसँग जोडिएको भगवान श्रीकृष्णसँगको सम्बन्धका कारण कृष्ण थारु समुदायका कुल देवताका रुपमा रहन गएको थारु अगुवा चन्द्रप्रसाद चौधरी बताउँछन्। ‘हाम्रो थारु समुदायले भगवान श्रीकृष्णलाई देवताको रुपमा स्थान दिएको छ,’ उनले भने ‘भईह्यार थानमा पनि कृष्णलाई देवताका रुपमा स्थान दिईएको छ।’

थारु अगुवाहरुका अनुसार थारु राजा दंगीशरण र कृष्ण बीचको बैमनश्यबाट थारु समुदाय र कृष्ण बीचको सम्बन्ध स्थापित भएको किंवदन्तीमा छ। यो कथा स्वर्गकी अप्सरा मेनका र दंगिशरणको सम्बन्ध देखि सुरु हुन्छ। स्वर्गका राजा ईन्द्रले देवताहरुको बैठक बोलाउँथे। एक दिनको बैठक पछि खानपानका क्रममा स्वर्गकी अप्सरा मेनका माथि देवताहरुबाट गलत नियत देखिएको एक ऋषिले बुझे। अनि मत्र्यलोकमा राजा दंगिशरणको शरणमा जान भनेर श्राप दिए। मत्र्यलोकमा राजा दंगिशरणको शरणमा पुगेकी अप्सरा मेनका त्यसपछि स्वर्गका राजा ईन्द्रले बोलाएको बैठकमा सहभागी भईनन्। ‘अप्सरा मेनका बैठकमा सहभागी नभएपछि उनको खोजी सुरु भयो भन्ने किंवदन्ती छ,’ थारु अगुवा चन्द्रप्रसाद भन्छन् ‘नारदलाई खोजीका लागि खटाईयो।’ मत्र्य लोकमा राजा दंगिशरणको शरणमा मेकना रहेको खबर नारदमुनीले पुर्याए। ‘अनि मेनकालाई फिर्ता ल्याउनका लागि पहल गर्न थालिएछ,’ चन्द्र प्रसाद भन्छन् ‘अनि फिर्ता बोलाउन सक्ने एक मात्रै देवता कृष्णलाई सम्भव देखेछन्।’ १६ सय गोपिनीहरुलाई मुरली बजाएर बोलाउन सक्ने कृष्णले मेनकालाई पनि मुरलीको स्वरबाटै मन्त्रमुग्ध पारेर बोलाउन सक्ने भन्दै ईन्द्रले उनलाई यसको जिम्मा दिएको थारु किंवदन्तीमा छ। कृष्णले मेनकालाई फिर्ता ल्याउनका लागि राजा दंगिशरणकहाँ दुत पठाए। तर राजा दंगिशरणले युद्ध जितेर मात्रै लैजान चेतावनी दिए। ‘युद्ध जितेपछि मात्रै मेनकालाई लैजान पाउने भन्ने राजा दंगिशरणको धम्की पछि कृष्ण रिसाएको भन्ने किंवदन्ती छ,’ चन्द्रप्रसाद भन्छन् ‘अनि भगवान कृष्ण क्रुद्ध भए र राजा दंगिशरणलाई मार्ने धम्की दिएको भनिएको छ।’

कृष्णको चेतावनी पछि राजा दंगिशरण डराए अनि पाँच पाण्डवको शरणमा गईपुगे। पाँच पाण्डव मध्यका भीमले दंगिशरण समक्ष एउटा सर्त राखे ‘सबै देवताहरुलाई मान्नुपर्छ,यदि मान्छौ भने म कृष्णबाट तिमीलाई बचाउँछु।’ दंगिशरणले आफ्नो ज्यान जोगाउनका लागि सबै देवताहरुलाई मान्ने बचन दिए। केहि समयपछि एकाएक कृष्ण राजा दंगिशरणलाई मार्न आईपुगेको खबर भीमले पाए। उनले त्यो बेला रोटी पकाउँदै गरेको र त्यहाँबाट तत्काल दंगिशरणलाई बचाउन गएको थारु किंवदन्तीमा उल्लेख छ। ‘पाँच पाण्डव मध्यका भीमले रोटी पकाउँदै गर्दा दंगिशरणलाई मार्न भीम आईपुगेको भन्ने खबर पाएपछि भीम पाक्न लागेको रोटी छोडेर त्यत्तिकै जानुभयो,’ रामप्रसाद भन्छन् ‘त्यो रोटी एकतर्फी मात्रै पाक्यो, अर्को तर्फ पकाउनका लागि कसैले त्यो रोटीलाई उल्टाउनै नसकेको किंवदन्तीमा उल्लेख छ।’ भीमले एकतर्फी पकाएको त्यहि रोटीलाई थारु समुदायले अट्वारी पर्वमा चढाउन थाले। अहिले पनि भीमको पुजाका क्रममा थारु समुदायले अट्वारी पर्वमा एक तर्फी मात्रै रोटी पकाएर चढाउने प्रचलन छ।  

दंगिशरणलाई बचाउ गएका भीम र कृष्णबीच द्धन्द चल्यो। कृष्ण र भिमको गदा जुधेर आगोको झिल्को निस्कियो। उक्त आगोको झिल्कोले अप्सरा मेनकामाथि पर्न गयो। मेनका भष्म भइन्। ‘स्वर्गकी अप्सरा मेनकाका लागि चलेको लडाईंमा उनै मेनकाकै स्वर्गमा बास भएपछि द्धन्दको अर्थ हुने कुरै भएन,’ चन्द्रप्रसादले भने ‘अनि द्धन्द्ध नगरौँ भनेर कृष्ण र भीमका बीचमा सहमती भएको भनेर किंवदन्तीमा उल्लेख गरिएको छ।’ यो द्धन्दको समापनपछि राजा दंगीशरणले सबै देवताहरुलाई मान्न थालेको र कृष्णले कुलदेवताका रुपमा थारु समुदायमा स्थान पाएको थारु अगुवाहरुको भनाई छ। ‘थारु राजा दंगिशरणले सबै देवताहरुलाई मान्ने र भगवान कृष्णलाई कुलदेवताका रुपमा मान्न थालेपछि अहिले पनि हाम्रो समुदायले भगवान कृष्णलाई कुलदेवताका रुपमा स्थान दिँदै आएको पुरानो कथन छ,’ चन्द्रप्रसाद भन्छन्। फलतः कृष्णको जन्म भएको दिन कृष्णजन्माष्टमीमा थारु समुदायले आफ्ना मुख्उ देवताको धुमधामका साथ पुजा गरेर मनाउन थालेका हुन्।  

थारु समुदायका महिलाहरुमा विशेष महत्व राख्ने यो पर्व थारु समुदायले दुई दिन सम्म मनाउने गर्दछन्। यो पर्वको अघिल्लो दिन थारुसमुदायका महिलाहरुले दर खाने प्रचलन रहेको छ। अनि जन्माष्टमीका दिन ब्रत बस्ने प्रचलन रहेको छ। ‘यो पर्वको अघिल्लो दिन महिलाहरुले घर खाने प्रचलन रहेको छ,’ चन्द्र प्रसाद भन्छन् ‘अनि कृष्ण जन्माष्टमीका दिन उनीहरु ब्रत बस्ने प्रचलन रहेको छ।’ दिनभर ब्रत बस्ने महिलाहरुले बेलुका कृष्ण लगाएत भित्तामा कोरिएका चित्रहरुमा पूजा गर्ने प्रचलन रहेको छ। पूजाको सुरुवात गाउँका मुखिया महतवाको घरदेखि सुरु हुन्छ। गाउँका सबै महिलाहरु उनै महतवाको घरमा पुजाका लागि भेला हुन्छन्। महतवाको घरको भित्तामा कृष्ण लगाएतका चित्रहरु कोरिएका हुन्छन्। उक्त महतवाका घरमा महतवाको परिवारबाट पूजाको सुरुवात हुन्छ। अन्य पर्वहरुमा माछा मासुको निकै महत्व राख्ने थारु समुदायमा यो पर्वमा माछा मासु चल्दैन। फलफूलको मात्रै यो पर्वमा बिशेष महत्व रहने गर्दछ। ‘अरु पर्वमा जस्तो यो पर्वमा माछामासु चल्दैन, केवल फलफूल मात्रै चल्ने गर्दछ,’ चन्द्रप्रसाद भन्छन् ‘भगवान कृष्णलाई यो पर्वमा फलफूल मात्रै चढाईन्छ।’ यसैगरी यो पर्वमा महिलाहरुले आफ्ना दाजु भाईहरुलाई पाहुर दिने प्रचलन पनि रहेको छ। माईती र ईष्ट बीचको सम्बन्ध प्रगाढ पार्ने पर्वका रुपमा पनि यो पर्वलाई लिने गरिन्छ। ‘ब्रत बस्ने महिलाहरुले दाजु भाइहरुलाई पाहुर दिने प्रचलन पनि रहेको छ,’ उनले भने ‘यसले दाजु भाईसंगको सम्वन्ध प्रगाढ बनोस् भन्ने हो।’ कृष्णजन्माष्टमीको दिन बेलुका पुजाआजा गर्ने महिलाहरुले रातभर भगवान कृष्ण सम्वन्धी गीत गाउने गर्दछन्। अर्को दिन पूजासामागी्र सेलाएर थारु समुदायले यो पर्वलाई बिदाई गर्ने गर्दछ।

प्रकाशित: ३ भाद्र २०७९ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App