coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्ली खस भाषाको अभिलेखीकरण गर्ने तयारी

 जुम्ली खस भाषाको अभिलेखीकरण गरिने भएको छ। स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखीकरण गर्न प्रक्रिया थालेको हो।  

खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ। अहिलेसम्म खस भाषा राष्ट्रिय भाषा आयोगमा दर्ता भएको नभेटिएपछि स्थानीय सरकारले अभिलेखीकरण गर्न पहलसमेत थालेको सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। उनले भने, ‘खसभाषा आयोगमा लिपिबद्ध गर्न पहल शुरु भएको छ।’ उनका अनुसार आयोगको टोली जुम्लाको सिंजामा पुगेर ५ वटा खस लिपिको मानक प्रमाणित गरेको छ। 

अध्यक्ष धितालले गाउँपालिकाको टोली आयोगको केन्द्रीय कार्यालयमा समेत पुगेर आवश्यक छलफल, समन्वय र सहकार्य गरिएको छ। अब स्थानीय तह र सरोकारवालाहरूको बैठक बसालेर थप छलफल गर्ने उनले बताए। खस भाषाको लिपिमा शब्दकोश अभिलेखीकरण तथा कम्प्युटराइज गर्न आयोग निकै सकारात्मक र उत्साहित भएको उनको भनाइ छ। यसका साथै खस भाषा अभिलेखीकरणका लागि सिंजामै प्रशिक्षण संचालन गर्ने कार्यक्रम समेत राखिएको गाउँपालिकाले जनाएको छ।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले खस भाषा अभिलेखीकरणका विषयमा आयोगले प्राथमिकता दिएको बताए। खस भाषा अभिलेखीकरणका लागि राष्ट्रपतिको प्रतिवेदनमा समेत पठाइएको र अन्य काम भइरहेको उनले जानकारी दिए। अध्यक्ष अवस्थीका अनुसार खस भाषाका २४ स्वर र ४१ वटा व्यन्जन वर्णसमेत आयोगले तयार पारिसकेको छ। उनले भने, ‘वर्ण पहिचानका विषयमा स्थानीय डिल्लीप्रसाद तिवारी सहितका जानकारहरूबाट सहयोग भएको छ।

स्थानीय डिल्लीप्रसाद तिवारीले रत्नाकर देवकोटाको पुस्तकमा पाईएका र गाउँपालिकाले निर्धारण गरेका आजसम्म चलनमा नआएका अक्षर अगाडि बढाइएको बताए। जुम्लामा अहिले खस भाषाका जानकार चन्दननाथ नगरपालिका–१ निवासी रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि सङ्कलन तथा लेखन गरी करिब ३५ हजार खस भाषाका शब्दको ‘खसिया आखर’ नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश तयार गरेका छन्।  

जुम्लाको खस भाषाको संरक्षण गर्न स्थानीयको जोड आवश्यक रहेको छ। सिंजा गाउँपालिकाका अध्यक्ष धितालका अनुसार खस भाषाको उत्थान र विकासका लागि अब ढिला गर्न नहुने र यसमा सबैको सहयोग आवश्यक रहेको छ।

प्रकाशित: १ भाद्र २०७९ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App