कपिलवस्तुमा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि पहल थालिएको छ। कपिलवस्तु र बुद्धभूमि नगरपालिका, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्त पहल थालेका हुन्। छाडा चौपया व्यवस्थापन गर्न उनीहरु यसको समाधानका लागि छलफल गरी गौशाला निर्माण प्रकृया अगाडि बढाएका छन्।
गौशाला निर्माणका लागि बुधबार कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख बावुरा आचार्य, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक उपरिक्षक प्रेम बहादुर बस्नेत, डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधीराम कंडेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी लगायतका टोलीले बुद्धभूमि नगरपालिका–९ स्थित गब्दाहामा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्।
गब्दाहाको बझिनिया भन्ने राष्ट्रिय वन क्षेत्र भित्र १ सय ९५ हेक्टर क्षेत्र कान्जी हाउस निर्माणका लागि उपयुक्तस्थल हुने टोलीले ठहर गरेको थियो। गाई गोरुलाई राख्न बझिनिया वनभित्र खालि स्थानमा बुद्धभूमि नगरपालिकाको सहयोगमा टीनको ठूलो सेड समेत निर्माण भइसकेको छ। वन क्षेत्रको भित्र पर्ने पशु चौपायालाई आहाराको समते कमी नहुने र पानी समेतको उपलब्धताले यो क्षेत्र गौशालाका लागि उपयुक्त हुने कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।
‘अहिले ठूलो समस्या र चुनौतीका रुपमा रहेको छाडा चौपया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’। बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जंगलभित्र खालि जग्गामा रहेको यो क्षेत्र भित्र गौशाला निर्माण गरिनुपर्ने बताए। ‘छाडा चौपायाबाट कृषक लगायतका जनताहरु नै हैरान भएका छन् यसको जति सक्दो चाडो व्यवस्थापन गुर्नपर्छ’ उनले भने’ सबै पालिका मिलेर छाडा चौपायका व्यवस्थापन गरिनुपर्ने उनले बताए।
यसअघि एक वर्ष कपिलवस्तु बुद्धभूमि र शिवराज नगरपालिकाले संयुक्त लगानीमा बुद्धभूमिको सुगुरबरुवा भन्ने स्थानमा गौशाला निर्माणका लागि निर्णय समेत गरेको थियो। तर राजमार्गदेखि नजिकै र सानो ठाउँ भएकाले सो निर्णय कार्यान्वयन हुन सकेको थिएन। प्रजिअ धर्मेन्द्रकुमार मिश्रले छाडा चौपाया व्यवस्थापनका लागि सबै पालिकाहरु एक जुट हुनुपर्ने बताए।
‘छाडा चौपाया व्यवस्थापनका लागि सक्दो प्रयास गर्नेछु’ उनले भने। अब गौशाला निर्माणमा भने ढिलाइ गर्न नहुने उनले बताए। बझिनियामा कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकामा रहेको छाडा चौपाया राख्ने योजना छ। उता गौतमबुद्ध डिभिजन वन कार्यालयका प्रमुख दधीराम कंडेलले ऐन र नियमको परिधिभित्र रही सो स्थानमा गौशाला निर्माण गर्नुपर्ने बताए।
पालिकाहरुको संयुक्त बैठक बसी परिषदबाटै निर्णय गरी सरकार समक्ष जग्गाको भोगाधिकार प्राप्तिका लागि पहल गरिनुपर्ने उनले बताए। वन क्षेत्रमा पर्ने सो जग्गाको जिपिएसबाट निक्र्यौल गरी नक्सा डिजाइन समेत बनाउनु पर्ने उनले बताए। ‘ऐन नियमको परिधिभित्र रही काम गर्न सहयोग गर्नेछु,’ उनले भने। बझिनियामा गौशाला निर्माणकोलागि जग्गाको नक्सा डिजाइन बनाउनका लागि बुद्धभूमि नगरपालिकालाई जिम्मा दिइएको छ।
जिल्ला समन्वय प्रमुख बावुराम आचार्यले जिल्लाका १० वटै पालिकाले छाडा चौपाया व्यवस्थापनका लागि अब ढिलाइ गर्न नहुने बताए। उनले पालिकाहरु मिलेर गौशाला निर्माण गरी समस्या समाधान गनुपर्ने बताए। यसअघि सुद्धोदन गाउँपालिकाले गौशाला निर्माणको काम अघि बढाइ सकेको छ।
यस्तै बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकाले समेत गौशाला निर्माणका लागि जग्गा छुट्टाउने काम गरी सकेको छ। टोलीमा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष जाहिद खा, बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष तेज बस्नेत र वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्य लगायतको सहभागिता रहेको थियो।
यसअघि बझिनियामा छाडा चौपाया व्यवस्थपनका लागि स्थानीयबासीले झबिन्द्रराज शास्त्रीको अध्यक्षतामा गोरक्षधाम गठन गरी सकेको छन्। बझिनियामा गौशाला निर्माणको विषयमा छलफल गर्न कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रजिअ मिश्रले बताए।
प्रकाशित: २५ श्रावण २०७९ १३:२२ बुधबार