२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लागूपदार्थ ओसारपसारमा महिला

कैलालीको पूर्वी क्षेत्रमा लागूपदार्थ ओसारपसारमा महिलाको संलग्नता बढ्न थालेको छ। प्रहरीका अनुसार यस कार्यमा भारतीय सीमा क्षेत्रबाट ल्याउनेदेखी बिक्री वितरणमा समेत महिलाहरु संलग्न रहेका छन्। भारतीय सीमा बजार तिकुनीयाँमा घरायसी सामान ल्याउन भन्दै गएका केही महिलाहरुले लागूपदार्थ ओसार्ने गरेको पाइएको छ।

उनीहरुले लागूपदार्थ ओसारे वापत रकम पाउने गरेका छन्। प्रहरीका अनुसार महिलाहरुले नै लागुपदार्थ बिक्री गरे वापतको रकम असुल्ने र भारतीय नागरिकलाई बुझाउने गरेका छन्। यस्तै कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले टीकापुर नगरपालिका–७ दिब्यपुरकी २९ वर्षीया सुवासनी चौधरीलाई साउन २० गते पक्राउ गरेको छ। उनी विगत ५ महिनादेखी यस कार्यमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ। चौधरीले समेत आफू यस कार्यमा संलग्न रहेको स्विकारेकी छन्।

उनले भारतीय नागरिक प्रदिप सरदारबाट लागूपदार्थ खैरोहिरोइन ल्याउने गरेको बताएकी छन्। उनले सो सामान टीकापुर र लम्की क्षेत्रका केही व्यक्तिहरुलाई बेच्ने गरेको बताइन्। उनले लम्कीकी एक महिलाले पटक पटक आफूसँग खैरोहिरोइन खरिद गरेर लगेको बताइन्। उनले टीकापुरमा समेत थुप्रै व्यक्तिहरुलाई बेचेको बताइन्। उनले प्रहरीसँगको बयानका क्रममा ती कुनैपनि व्यक्तिहरुलाई आफूले नचिन्ने बताएकी छन्।

‘मोबाइलमार्फत् कुरा हुन्थ्यो। आउथे पैसा बुझाएर सामान लैजान्थे’ उनले प्रहरीसँगको बयानमा भनिन्, ‘त्यो भन्दा धेरै चिनजान भएन।’ उनले धेरैजसो समय भारतीय नागरिकले लागूपदार्थ सीमा क्षेत्रसम्म पुर्‍याउने गरेको बताइन्। पक्राउ परेको दिन भने उनले भारतीय सीमा बजार तिकुनीयाँ नजिकैको बन्दिपुरबाट लागुपदार्थ ल्याएको बताइन्। उनले सो दिन ३० ग्राम खैरोहिरोइन लिएर आएको बताइन्।

उनका अनुसार सो दिन भारतीय नागरिक सरदारले बन्दिपुरमै बोलाएका थिए। उनले लागूपदार्थ खुर्सानीको पोकाभित्र लुकाएर ल्याएकी थिइन्। उनलाई लम्कीबाट एक व्यक्तिले सामान लिएर टीकापुर आउन भनेका थिए। उनी १० ग्राम खैरोहिरोइन बोकेर टीकापुर पुगिन्। उनले सो सामान हाटबजार नजिकै ती व्यक्तिलाई दिइन् र ४० हजार रुपैयाँ बुझिन्।

लागूपदार्थ खैरोहिरोइन बिक्री वितरण भैरहेको खबर इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी पायो। स्थानीय एक युवकले प्रहरीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। ती युवक पूर्व दुर्व्यसनी हुन्। प्रहरीका अनुसार उनी केही समयदेखी चौधरीको सम्पर्कमा थिए। प्रहरीले चौधरीलाई हाटबजार नजिकैबाट पक्राउ गर्‍याे।

उनको साथबाट प्रहरीले ४० हजार रुपैयाँ मात्रै बरामद गर्‍याे। उनले प्रहरीसँग बाँकी लागूपदार्थ बाटोमा फालेको बताइन्। प्रहरीले लागूपदार्थ भेटाउन सकेन। पक्राउ परेकी चौधरीसँग लागूपदार्थ बरामद नभएपछि प्रहरीले तारेखमा छोडेको छ। उनले बयानका क्रममा लागूपदार्थ ओसारपसारमा संलग्न रहेको स्वीकारे पनि प्रमाण नपुगेकाले छोड्न परेको प्रहरी नायब उपरीक्षक शाहीले बताए।

‘उनले बयानका क्रममा सबै कुरा प्रष्ट भनेकी छन्। उनले भने अनुसार अनुसन्धान गर्दा सबै कुरा छर्लङ्ग पनि भएको छ’ उनले भने, ‘चौधरीमाथि मुद्दा चलाउने आधार नै भएन।’ लागूपदार्थ ओसारपसार गरे वापत महिलाले प्रति ग्राम चार सयका दरले ज्याला बुझ्ने गरेका छन्। चौधरीले ३० ग्रामको १२ हजार रुपैयाँ आफूले बुझ्ने र बाँकी रकम भारतीय नागरिक सरदारलाई दिने सहमति भएको बताइन्।

‘आफ्नो ज्याला राखेर बाँकी रकम उसलाई बुझाउने सहमति भएको थियो’ उनले भनिन्, ‘यसअघिको सामान पनि यसैगरी बिक्री गर्थे।’ उनले लागूपदार्थ ओसारपसार गरेर कमाएको रकमले गाउँमा घर निर्माण गरेको बताएकी छन्। उनका श्रीमान ज्यालादारी काम गर्छन्। उनी प्रायः घरबाहिर बस्छन्। उनका ११ र ९ वर्षका गरी दुई छोरा छन्।

प्रहरीका अनुसार भारतीय नागरिकले लागूपदार्थ ओसारपसारमा यस्ता अन्य धेरै महिलालाई प्रयोग गर्ने गरेका छन्। उनीहरुले लागूपदार्थ लुकाएर ओसारपसार गर्न सहज र इमान्दार हुने भएकाले महिलालाई प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। गतवर्ष लम्की चोकमा फलफूलको व्यापार गर्दै आएकी शाही थरकी एक महिला खैरोहिरोइनसहित पक्राउ परिन्।

प्रहरीले अनुसन्धानका क्रममा उनको पूरै परिवार यस कार्यमा संलग्न रहेको पायो। अहिले पनि उनकी बुहारी लागूपदार्थ बिक्री वितरण गरेको आरोपमा जेलमा रहेको बताइएको छ। यस्तै टीकापुर नगरपालिका–१ ब्लक नं. ६ की एक महिला लागूपदार्थ ओसारपसार गर्दा-गर्दै आफैं दुर्व्यसनमा फसिन्। उनी खैरोहिराइनसहित पक्राउ परिन्।

टीकापुरमै कष्मेटिक पसल चलाएर बसेकी अर्की एक महिला समेत लागूपदार्थसहित पक्राउ परिन्। प्रहरीले उनी मात्रै नभइ उनका श्रीमान् समेत दुर्व्यसनमा रहेको पत्ता लगायो। उनीहरु केही समय जेल बसेर रिहा भैसकेको प्रहरीले जानकारी दिएको छ। लागूपदार्थ दुर्व्यसन प्रहरीका लागि टाउको दुखाइ बनेको छ। धेरै युवा-युवती लागूपदार्थ दुर्व्यसनको सिकार भैरहेका छन्।

प्रहरीका अनुसार जसका कारण समाजमा अपराधिक क्रियाकलाप बढेका छन्। प्रहरीलाई लागूपदार्थ दुर्व्यसन रोक्नु निकै चुनौतीपूर्ण भैरहेको प्रहरी नायब उपरीक्षक शाही बताउँछन्। उनले अभिभावकको लापरवाहीले समेत समाजमा लागूपदार्थ दुर्व्यसनको जालो फैलिएको बताए। ‘अभिभावक नै यस बारेमा गम्भीर छैनन्’ उनले भने, ‘प्रहरीको एक्लो प्रयासले लागूपदार्थ दुर्व्यसन रोक्न गाह्रो छ।’

कैलालीको पूर्वी क्षेत्र लागूपदार्थ दुर्व्यसनको अखाडा बन्दै गएको छ। खुला सीमा क्षेत्रका कारण सहजै लागुपदार्थ ओसारपसार हुने गरेको छ। सीमा क्षेत्रमा बस्ने केही भारतीय नागरिकले नेपालतर्फ व्यापक मात्रामा लागूपदार्थको कारोबार गर्ने गरेका छन्। प्रहरीले कुन व्यक्तिले यस्तो काम गरिरहेको छ भन्ने जान्दाजान्दै पनि पक्राउ गर्न सकेको छैन।

प्रकाशित: २३ श्रावण २०७९ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App