२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरीकै संलग्नतामा चिनियाँ नागरिकको अपहरण

एक करोड फिरौती माग

ओखलढुंगाको चिसाङखुगढी गाउँपालिका–५ चिसापानीका २६ वर्षीय सूर्यबहादुर राई बुधबार साँझ ७ बजे काठमाडौं महानगरपालिका–२६ कपुरधाराको सडकमा हिँडिरहेका थिए।

सोही समयमा ६ जनाको समूहले उनलाई ‘तपाईंसँग काम छ’ भन्दै जबरजस्ती साथमा लिएर गयो। सो समूहले त्यहाँबाट उनलाई काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित खरेलटोल पुर्‍यायो। राई चिनियाँ र नेपालीका ‘दोभाषे’ थिए। खरेलटोलको एउटा घरमा राईले नै दोभाषे सेवा दिँदै आएका चिनियाँ व्यवसायी याङ याङ बस्थे।

उनी लामो समयदेखि नेपालमै विभिन्न व्यवसाय गर्दै आएका थिए। त्यहाँ पुगेर ६ जनाको समूहले याङलाई पनि ‘काम छ’ भन्दै सँगै लिएर गयो। राई र याङ दुवैलाई सो समूहले काठमाडौं महानगरपालिका–२६ गोंगबु नयाँ बसपार्कस्थित मित्रनगरको न्यु स्वर्गद्वारी प्युठान होटल एन्ड लजमा लगेर राख्यो। यसरी दुवै जनालाई ६ जनाको समूहले अपहरण गर्न सफल भयो।

त्यसपछि अपहरणकारी समूहले चिनियाँ नागरिक याङका आफन्तलाई फोन गरेर एक करोड फिरौती रकम माग गर्‍यो। सो क्रममा ५० लाख रूपैयाँमा अन्तिम ‘डिल’ भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। याङका आफन्तले रकम लगेर बुझाएनन्। बरु प्रहरीलाई नै खबर गरिदिए। त्यसपछि तत्कालै प्रहरी परिसरबाट खटिएको विशेष टोली, प्रहरी वृत्त दरबारमार्ग लैनचौर, महाराजगन्ज, मालीगाउँबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटियो।

टेलिफोन ‘ट्रेस’ गर्दै जाँदा राति ११ः४० बजे प्रहरी अपहरणकारी र अपहरित चिनियाँ नागरिक याङ र दोभाषे राई बसेकै होटलमा पुग्न सफल भयो। जहाँ प्रहरीले अपहरित दुवै जनालाई सकुशल फेला पार्न सफल भयो भने अपहरणमा संलग्न ६ जनलाई नै पक्राउ गर्न पनि सफल भयो।

टेलिफोन ‘ट्रेस’ गर्दै जाँदा राति ११ः४० बजे प्रहरी अपहरणकारी र अपहरित चिनियाँ नागरिक याङ र दोभाषे राई बसेकै होटलमा पुग्न सफल भयो। जहाँ प्रहरीले अपहरित दुवै जनालाई सकुशल फेला पार्न सफल भयो भने अपहरणमा संलग्न ६ जनलाई नै पक्राउ गर्न पनि सफल भयो।

‘समयमै सूचना प्राप्त भयो। त्यसपछि उच्च सतर्कताका साथ अपरेसन गर्दा अपहरण भएको ४ घण्टा ४० मिनेटमै अपरेसन सम्पन्न भयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले भने, ‘अपरेसनमा अपहृत व्यक्तिहरूको सकुशल उद्धार भएको छ।’

घटनामा संलग्न ६ जना पक्राउ

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौं रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखाकै सिरानचोक गाउँपालिका–५ स्थायी ठेगाना भई काठमाडौं धापासी बस्ने २८ वर्षीय लक्ष्मण गुरुङ, सर्लाही लालबन्दी नगरपालिका–११ का २९ वर्षीय रोहित मगर, प्युठान जिल्लाको प्युठान नगरपालिका–८ बागदुला स्थायी ठेगाना भई हाल काठमाडौं मित्रनगर बस्ने २८ वर्षीय विशाल मगर, नुवाकोटको शिवपुरी गाउँपालिका–६ पालथोक स्थायी ठेगाना भई हाल काठमाडौंको बानियाँटार बस्ने २७ वर्षीय विनोद केसी र बर्दिया राजापुर नगरपालिका–१० स्थायी ठेगाना रहेका हाल काठमाडौं बालाजु बस्ने २८ वर्षीय शिव सुनार रहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूमध्ये दुईजना नेपाल प्रहरीमा कार्यरत रहेको खुलेको छ। गोरखा आरुघाट स्थायी ठेगाना भएका कर्णबहादुर गुरुङ नेपाल प्रहरीका हबलदार हुन्। उनी पाटन उच्च अदालतमा कार्यरत एक न्यायाधीशको पिएसओको रूपमा कार्यरत रहेको बुझिएको छ। यस्तै अपहरणमा संलग्न बर्दियाका शिव सुनार नेपाल प्रहरीका जवान रहेको खुलेको छ। उनी प्रहरी वृत्त बालाजुमा कार्यरत छन्।

अपहरणकारीले चिनियाँ नागरिक याङ र ती दोभाषेका गतिविधि पहिल्यैदेखि पछ्याएको र त्यसबारे भरपुर अध्ययन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘पहिल्यैदेखि पछ्याएको र उनीहरूबारे पर्याप्त जानकारी लिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सोहीअनुसारै उनीहरूलाई योजनाबद्ध रूपमा अपहरणको प्रयास गरेका रहेछन्।’ यस कार्यमा प्रहरीमा कार्यरत हबल्दार गुरुङ र जवान सुनारले नै अग्रसरता लिएको देखिएको ती अधिकारीले बताए।

उनीहरूसँगै न्यु स्वर्गद्वारी प्युठान होटल एन्ड लजको कोठाबाट नगद ८ लाख १४ हजार ९ सय र विभिन्न कम्पनीका २६ थान मोबाइल सेट, हतकडी १ थान बरामद भएको प्रहरीले जनाएको छ। सो नगद र मोबाइल सेट चिनियाँ नागरिक याङको लाजिम्पाटस्थित खरेलटोलमा रहेको कोठाबाटै लगेको देखिएको प्रहरी स्रोतले बतायो। हतकडी भने अपहरण गर्दा प्रयोग गरेको पाइएको छ। चिनियाँ नागरिक नेपालमा कस्तो के व्यवसाय गर्थे भन्ने कुरा प्रस्ट नखुलेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी मैनालीले बताए।

उनले भने, ‘ती चिनियाँ नागरिकको व्यवसाय के हो? भन्ने प्रस्ट खुलिसकेको छैन। भर्खर अनुसन्धान थालेका छौं। त्यसपछि नै थाहा होला।’ अपहरण कार्यमा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१७ को ‘अपहरण वा शरीर बन्धकसम्बन्धी कसुर’सम्बन्धी मुद्दा अनुसार अनुसन्धान थालिएको एसपी मैनालीले बताए। उक्त मुद्दामा बिहीबारै काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद मागेर अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

प्रकाशित: २० श्रावण २०७९ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App