८ वर्षअघि जबरजस्ती करणी गरी भाग्दै आएका एक अभियुक्त उदयपुर प्रहरीको फन्दामा परेका छन्। ०७१ साल वैशाख २० गते महिलामाथि बलात्कारको अभियोगमा अदालतबाट कैद सजाय सुनाइए पनि भाग्न सफल चौदण्डीगढी नगरपालिका ९ का ४० वर्षीय राजेश्वर चौधरी बुधबार राति पक्राउ परेका हुन्।
घट्नालगत्तै फरार रहेका चौधरीविरुद्ध ५ वर्षअघि अदालतले कैद सजाय सुनाएको थियो। तर, पनि फरार रहँदै आएका चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले बुधबार राति १० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सन्तोष आचार्यका अनुसार ०७४ साल चैत २७ गतेको फैसला अनुसार अदालतले चौधरीलाई ६ वर्ष कैद सजाय सुनाएको छ। उनलाई बिहीबार जिल्ला अदालतको जिम्मा दिएको र अदालतले पनि तत्कालै सजाय कार्यान्वयनका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ श्रावण २०७९ १४:५६ बिहीबार