५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जब मुम्बई उड्न लागेको जहाज रोकियो...

मुम्बई उड्नलाई तयारी हुँदै गरेको जहाज। यसपछिमात्रै उडान रोकेर सन्तोष लामिछानेलाई पक्राउ गरिएको थियो। तस्बिर: प्रकाश भण्डारीको फेसबुकबाट साभार

नेपाली ध्वजावाहक जहाज नेपाल एयरलाइन्सको ‘न्यारो बडी आरए–३२०’ बुधबार भारतको मुम्बईका लागि उड्ने कार्यक्रम थियो। दिउँसो १ः१० मा उड्ने तालिका अनुसार चालक दलका सदस्यहरूले उडानको तयारी गरिसकेका थिए।

यात्रुहरू रमाउदै, फोटो सेसन गर्दै, बोडिङ पास लिएर विमानभित्र चढिसकेका थिए। केही पूर्वतयारीका कामबाहेक उडानको तयार भइसकेको थियो। उता सोही जहाजको उडानका धावनमार्गको ट्राफिक जाम हटाएर पूर्ण रूपमा तयारी गरिसकिएको थियो।

त्यत्तिकैमा चालक दललाई टाबरबाट उडान रोक्ने जानकारी आयो। टावरको जानकारीपछि विमान निर्धारित उडान समयमा उडेन। त्यसको केही बेरमा नेपाल प्रहरीको टोली जहाजभित्रै आइपुग्यो। नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोको टोली आएर जहाजबाट सबै यात्रुलाई ओराल्यो र खानतलासी लिन थाल्यो। त्यस क्रममा ब्युरोको टोलीले यात्रुहरूको परिचय पनि लिन थालेको थियो। 

एकएक गर्दै परिचय लिँदै गर्दा जहाजमा यात्रा भर्न लागिरहेका एकजनालाई पक्राउ गर्‍यो। ती थिए कैलालीका सुनचाँदी व्यवसायी, सन्तोष लामिछाने। उनी श्रीमती मीना लामिछानेसहित मुम्बईमा आयोजना हुन लागेको ‘३८औं अन्तर्राष्ट्रिय ज्वेलरी प्रदर्शनी–२०२२’मा भाग लिन जाँदै थिए। उनीसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघको टोली नै जाँदै थियो। तर, प्रहरीले सन्तोषलाई नै नियन्त्रणमा लियो। उनीसँगै उनकी श्रीमती मीना पनि झरिन्।

त्यसपछि बाँकी १ सय ३८ यात्रुसहित जहाज मुम्बईका लागि उड्यो। यसरी निर्धारित समयभन्दा २ घण्टा १० मिनेट ढिलोगरी जहाज गन्तव्यतर्फ प्रस्थान गरेको थियो। यता विभिन्न सञ्चारमाध्यममा भने उड्दै गएको विमानबाट ‘आतंकवादी’ समातेको हल्ला फैलिएको थियो।

कैलाली प्रहरीको सूचनाका आधारमा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले आतंकवादी समातेको समाचार आइरहेको थियो।तर, प्रहरीले पक्राउ गरेका सन्तोष भने आतंकवादी नरहेको प्रहरीले प्रतिक्रिया दिएको छ। ‘आतंकवादी भन्ने हल्ला निराधार हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा उहाँबारे सुन चोरीसम्बन्धी मुद्दा रहेछ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘सोही कुराको जानकारी आएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।’

पक्राउ गरेर थप अनुसन्धान र अभियोजनका लागि उनलाई कैलाली पठाइन लागेको डिआइजी राईले बताए। ‘उहाँको मुद्दाबारे कैलाली प्रहरीले नै अनुसन्धान भइरहेको छ। त्यसैले पक्राउ गरेर उतै पठाउन लागेका छौं,’ उनले भने।

चोरीको सुन किनेको आरोप

पक्राउ परेका सन्तोषको कैलालीमा सुनचाँदी पसल छ। उनी लामो समयदेखि यो व्यवसायमा रहेको स्थानीयले जनाएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार सन्तोषमाथि चोरीको सुन किनेको आरोप छ। ‘उहाँमाथि भारतबाट चोरी गरेर ल्याएको सुन किनेको आरोप छ,’ एसपी राठौरले भने, ‘यसबारे पर्याप्त प्रमाण नजुटेका कारण अगाडि समात्न सकेका थिएनौं। आज(बुधबार) पर्याप्त प्रमाण फेला परेपछि समात्न लगाएका हौं।’

पक्राउमा ढिलाई हुँदा अनुसन्धान प्रभावित हुने समस्या भएकाले तत्कालै समात्नुपरेको उनले बताए। उनले भने,‘पहिला समात्नका लागि पर्याप्त आधार जुटायौं। त्यो आधार जुटेपछि जतिसक्दो चाँडो समात्नुपर्ने हुन्छ, नत्र अनुसन्धान नै प्रभावित हुने, प्रमाणहरू बिग्रने भएकाले तत्कालै समात्न लगाएका हौं।’ कैलाली प्रहरीले प्रहरी प्रधान कार्यालयलाई सूचना दिँदा ‘आतंकवादी सवार’ भनेर सूचना नदिएको पनि एसपी राठौरले बताए। ‘हामीकहाँ जे मुद्दा छ, त्यहीँ भन्यौं नि। नभएको कुरा भन्ने सवालै भएन। बाँकी बाहिर के हल्ला चल्यो थाहा भएन,’ उनले थपे।

स्रोतका अनुसार सुदूरपश्चिमतिर भारतका विभिन्न ठाउँबाट सुन चारेर ल्याउन गिरोह नै सक्रिय छ। यस्ता गिरोहले भारतका सुनधनीले वैध/अवैध ढंगबाट राखेको सुन ठूलै मात्रामा चोरेर नेपाल भित्र्याउँछन्। यसरी सुन चोरी गरेर ल्याउने समूह, व्यापारी, शक्तिशाली व्यक्तिहरू र सुरक्षाकर्मीहरू मिलेर भागबण्डा गर्छन्। कतिपय अवस्थामा सस्तोमा खरिद बिक्रीसमेत हुने गर्दछ। भारतका सुनधनीले राखेको अवैध सुनमा खास्सै समस्या नआएपनि वैध सुनका हकमा भने केही समस्या आउँछ। इन्टरपोलमार्फत मुद्दासमेत आउनसक्ने भएकाले सावधानी अपनाइन्छ।

प्रकाशित: १९ श्रावण २०७९ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App