७ वैशाख २०८१ शुक्रबार
समाज

६१ केजी लागुऔषध गाँजा बरामद

विराटनगर महानगरपालिका–१४ जतुवाबाट प्रहरीले बुधबार ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ।  

प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले गाँजा बरामद गरेको हो।  

गाँजा लोड गरिएको को २ ह ४६१० नम्बरको सफारीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीलाई देख्नासाथ सफारी चालक फरार भएको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। जतुवा हुँदै भारततर्फ लैजान लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रहरीले एक सातायता विराटनगर सीमा क्षेत्रबाट २ सय ५३ केजी गाँजा बरामद गरेको छ। ठूलो परिमाणमा शुक्रबार राति, मंगलबार बिहानको रात र बुधबार दिउँसो गाँजा बरामद भएको हो।  प्रदेशको भोजपुर, धनकुटा, खोटाङ, उदयपुर, संखुवासभामा गाँजाको व्यापक खेती हुने गरेको छ। त्यहाँ उत्पादन भएका गाँजा भारतमा बिक्रीका लागि धेरै जाने गरेको छ। गाँजा तस्करीमा संलग्नहरुले कोसी, अरुण नदी प्रयोग गरेर सुनसरी र उदयपुरमा ट्रान्जिट गर्दै नेपालका विभिन्न भागलगायत भारतमा बिक्री वितरण गर्न लैजाने गर्छन्। गाँजा तस्करीका मुख्य नाइके पक्राउ नभई भरिया मात्रै पक्राउ पर्ने गरेको छ। 

प्रकाशित: १८ श्रावण २०७९ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App