२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका  सडक पनि अहिले जीर्ण भइसकेका छन्।  

जीर्ण सडकको स्तरोन्नतिसमेत नहुँदा स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन्। राणाकालीन समयमा चिठीपत्र पुर्‍याउने ‘हुलाकी’ कुद्ने भनेर रेखाङ्कन गरिएको पूर्वदेखि पश्चिम जोडिने ‘हुलाकी सडक’ निर्माण सुरु भएको लामो समय भइसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीय समस्यामा परेका छन्।

तत्कालीन राजा महेन्द्र शाहले हुलाकी सडकलाई प्राथमिकतामा नपारी मधेसको बस्तीभन्दा २०–३० किलोमिटर उत्तर चुरेछेउमा जङ्गल फँडानी गरेर पूर्व–पश्चिम लोकमार्ग निर्माण अघि बढाएपछि हुलाकी सडक निर्माणको काम ओझेलमा परेको थियो। यसयता पनि मधेसको जीवनस्तर बदल्ने महत्वपूर्ण मार्गका रुपमा मानिएको सो सडक सरकारी प्राथमिकतामा पर्न सकेको छैन।

हुलाकी सडक स्थापनापश्चात् चार शासन व्यवस्था फेरिएर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि सडक निर्माणले तीव्र गति नपाउनु मधेसका लागि दुर्भाग्य हो। कूल ४० दशमलव ३७ किलोमिटर हुलाकी सडक निर्माण गर्न रु ६४ करोडमा पाँच वर्षभित्र हुलाकी सडक कालोपत्र सक्ने गरी हिन्दुङ्ग एन्ड ठोकर हिरा एन्ड नमीता जेभी/हिन्दुङ्ग एन्ड ठोकर शाहा निर्माण सेवा र दिवा निर्माण सेवालाई २०७३ सालमा तीनवटा प्याकेजमा ठेक्का लागाइएको थियो।

हालसम्म निर्माण कम्पनीले करिब ३२ करोड रकम लगिसके भए पनि सडकको अवस्था उस्तै छ। गोडैता नगरपालिकाका स्थानीय कपिल महतोले सडकको दुरवस्थाका कारण यस भेगका नागरिकले सधैँ सास्ती व्यहोरिरहेको गुनासो गरे। 'आफूहरूका लागि हुलाकी सडक नै मुख्य सडक हो, जहाँ गए पनि हुलाकी सडक भएरै जानुपर्छ तर सडक निर्माणको काम सुस्त छ कतै निर्माण भइसकेको सडक जीर्ण भइसकेको छ,' उनले भने।  

'बाल्यकालदेखि देख्दै आएको सडकको अवस्था जस्ताको त्यस्तै छ, हिउँदमा धुलोको मार खेप्दै आएका आफूहरु वर्षा लागेपछि हिलाम्ये बाटो हिँड्न बाध्य भएको,' उनले भने। हुलाकी सडकलाई मधेसको ‘लाइफलाइन’ मानिए पनि मधेसको पुस्ता परिवर्तन भए पनि सडकको अवस्था भने नफेरिएको स्थानीयले बताएका छन्। जिल्लाका सरोकारवालाहरुले पटक पटक बैठक बसी हुलाकी सडक निर्माणको ठेक्का पाएका निर्माण कम्पनीहरुलाई ताकेता गरि रहेका भए पनि ठेकेदारले बेवास्ता गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। रासस

प्रकाशित: १८ श्रावण २०७९ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App