२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रैथाने जंगली हात्तीबाट सर्वसाधारण सधै पीडित

हात्तीको आक्रमणबाट पूर्वमा नौ जनाको मृत्यु

कोशी टप्पु वन्य जन्तु आरक्ष आसपासका बासीन्दा रैथाने जंगली हात्ती, अर्नालगायतका अन्य जनावरबाट सदावहार पीडित छन्। आरक्ष क्षेत्रका जनावर मानववस्तीमा सहजै प्रवेश गरेर विध्वंस मच्चाउने गरेका छन्। कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रका रैथाने जंगली हात्ती, अर्ना, बदेल जस्ता ठूला वन्यजन्तुले स्थानीयको वालिनाली र धनजनमा सदावहर क्षति गर्दै गर्ने गरेको छ।

जंगली हात्तीले जहिले दुःख दिने गरेको कोशी गाउँपालिकाका दिनेश खरुवालले बताए। जनावरबाट पीडित हुँदै आएपनि सरकारी नियमनकारी निकायले भने जहिल्यै क्षतिपूर्ति दिने बेलामा आलटाल गर्ने र कतिपयलाई त दिँदै नदिने गरेको उनको आरोप छ। एकातिर रैथाने जंगली हात्ती अनि अर्कातिर अर्ना, बदेलजस्ता जनावरको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा हात्तीको आक्रमणबाट दुई जना सर्वसाधारणको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। यस्तै, ११० वटा घरमा क्षती गरेको छ भने ४२५ जनाको अन्नबालीमा क्षती गरेको छ। त्यसो त सप्तरी र सुनसरीमा गरी विद्युतीय धराप थापेकै कारण दुई वटा हात्तीको पनि मृत्यु भएको छ। मानवीय सुरक्षाका लागि विद्युतीय घेराबेरा अझ मजबुद पार्ने रणनीति आरक्ष प्रशासनले लिएपनि गाउँलेले चार किलोमिटर घेराबेरा गर्न दिएका छैनन्।

आरक्ष प्रशासनले पछिल्लो समय सुनसरी र सप्तरीमा पाँच–पाँच किलोमिटर विद्युतीय घेरोबेला ७५ लाख रुपैयाँ खर्चेर गरेको थियो। तर, सुनसरी कोशी गाउँपालिकाको बुधनीदेखि भेण्टाबारीसम्म चार किलोमिटर विद्युतीय घेराबेरा गर्न गाउँलेले नै अवरोध गरेको आरक्ष प्रशासनले जनाएको छ।

आरक्ष प्रशासनले  प्रकाशपुरदेखि हरिपुरको चेकपोष्टसम्म १७ किलोमिटर यसअघि नै विद्युतीय घेराबेरा गरेको थियो। तर, विद्युतीय घेराबेरा गरेपनि जंगली जनावरले त्यसलाई सहजै तोडेर मानववस्तीमा प्रवेश गरी विध्वंस मच्चाउने गरेको पीडित बताउँछन्।

खासगरी गाउँलेले छाडा गाईभैंसी आरक्ष क्षेत्रमा छोड्ने अनि जंगली जनावरलाई चरीचरणको अभाव हुँदा मानववस्तीमा प्रवेश गरी क्षती गर्ने गरेको आरक्षका वार्डेन रामचन्द्र खतिवडाले बताए। ‘जंगली जनावरलाई नियन्त्रण गर्न खासगरी गाउँले र स्थानीय सरकारबाट आरक्ष प्रशासनले सहयोग पाउँदैन,’ उनले भने, ‘स्थानीय सचेत हुनुपर्छ।’

गाउँलेले आरक्ष क्षेत्रमा घरपालुवा जनावर छाड्नाले अर्ना, जंगली हात्ती र चित्तलको आहारा संकटमा परेको आरक्ष प्रशासनको दाबी छ। आहारा संकट हुदाँ ती जनावर बेला–बेलामा मानववस्तीमा प्रवेश गरी विध्वंस मच्चाउँदा पनि मानवीय र बालीमा क्षति पुर्‍याउने क्रम बढ्दो छ। आरक्ष क्षेत्र आसपासका बासीन्दा र आरक्षका रैथाने जनावर दुवैका लागि क्षेत्र विस्तार उत्तम विकल्प मानिदै आएको छ।

कोशी टप्पुका रैथाने हात्ती र अन्य जनावरले पुर्‍याएको क्षति आर्थिक वर्ष २०७८–०७९ मा ६० लाख ६५ हजार २१ रुपैयाँ प्रदान गरिएको जानकारी दिइयो। आरक्ष क्षेत्र सुनसरी, सप्तरी र उदयपपुरमा गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटिय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र हो। यो आरक्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधान अनुरुप नेपालमा हालसम्म रहेका अर्नाहरुको एकमात्र बासस्थान संरक्षण गर्ने मूल उद्देश्य राखी पूर्वी तराईका तीन  जिल्लाका केही भागलाई समेटेर वन्यजन्तु आरक्षको वि.सं. २०३२ मा स्थापना गरिएको हो।

हात्तीको आक्रमणबाट पूर्वमा नौ जनाको मृत्यु

हात्तीको आक्रमणबाट पूर्वका जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा नौं जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट सुनसरी, मोरङ, झापा र इलाममा गरी नौं जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट सो अवधिमा १६ जना सक्त घाइते भएका छन्। कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा सदावहार जंगली हात्तीले विध्वस मच्चाउँदै आएको एक वर्षको अवधिमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ।

हात्तीको आक्रमणाट सात जना घाइते भएका छन्। आरक्ष तथा आसपासका क्षेत्रमा १५ वटासम्म हात्ती रहेको जनाइएको छ। यी हात्तीमध्ये चार–पाँचवटा समूह–समूहमा मानववस्तीमा प्रवेश गरि विध्वंस मच्चाउने गरेको आरक्ष प्रशासन हात्तीसार विभागका अधिकृत रामगुलाम चौधरीले बताए। मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक दुई जना घाइते भएका छन्।

उक्त झापामा पाँच जनाको मृत्यु भएको छ भने पाँचै जना सक्त घाइते भएका छन्। इलाममा एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। यस्तै, सिरहा र उदयपुरमा एक–एक जना हात्तीको आक्रमणबाट घाइते भएका छन्। मानवीय क्षतीसँगै पूर्वका जिल्लामा अन्नबाली र घरहरुमा पनि हात्तीले क्षति गरेको छ। जसमा झापामा मात्र भण्डारण गरेर राखेको १३३ जनाको खाद्यन्नमा क्षति गरेको छ।

यस्तै, १४८ जनाको घर भत्काएर क्षति गरेको छ भने १७९ जनाको अन्नबाली नष्ट गरेको कोशी टप्पु वन्य जन्तु आरक्षको रेकर्डमा उल्लेख छ। सप्तरीमा १६ वटा घर–टहरा र १२ जनाको अन्नबाली नोक्सान गरेको छ। इलाममा २६ जनाको पशुधनमा क्षति गरेको छ। नेपालमा कुल २०० देखि २२५ वटा जंगली हाती छन्। कोशी टप्पुमा १५ वटाको हाराहारीमा हात्ती रहेकोमा भारतबाट झापाको बाहुन डागीमा १३० देखि १५० वटासम्म आउने गरेका छन्।

डेढ दसक अघिदेखि झापादेखि सिरहासम्मको चारकोसे जंगलमा रैथाने रुपमा बस्ने जंगली हात्ती पछिल्ला वर्ष कोसी टप्पु वन्य जन्तु आरक्ष क्षेत्रमै बढी मात्रमा बस्दै आएकाले गर्दा सुनसरी, सप्तरी र उदयपुरको मानववस्तीमा प्रवेश गरी बढी मात्रमा विध्वंस मच्चाउने गर्दा मानवीय क्षतीसँगै अन्नबालीको नोक्सानी हुने गरेको छ।

प्रकाशित: १६ श्रावण २०७९ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App