३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

राजधानीमा मिर्गौला कारोबारीको गिरोह सक्रिय

अनुसन्धानले राजधानीका सडकमा आश्रितलाई प्रलोभनमा पारी भारतमा लगेर मिर्गौला बेच्न लगाउने गिरोह सक्रिय रहेको देखाएको छ। मानव बेचबिखन ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्ल भन्छन्, ‘यहाँका सडकमा लाखौं मानिस आश्रित छन्। उनीहरू विपन्न, बेसहारा र घरबारविहीन भएकाले प्रलोभनमा सजिलै फस्न सक्ने खतरा छ।’

असार पहिलो साता नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंका सडकमा आश्रित दुई किशोरलाई मिर्गौला (किड्नी) निकाल्न भारत लैजाने तयारी भइरहेको सूचना पायो। ब्युरोले सूचना प्राप्त भएपछि गहन अनुसन्धान थाल्यो। भारत लैजाने तयारी गरिएको भनिएका किशोरहरूको आसपास रहेर ब्युरोले अनुसन्धान अघि बढायो। अनुसन्धानको प्रारम्भमै शंकास्पद गतिविधि देखिन थाले। ती किशोरका नजिक तीनजना पात्र निरन्तर पुगिरहन्थे।

ती पात्र दैलेखको चमुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भई हाल काठमाडौं कालोपुल बस्ने २८ वर्षीय धूपेन्द्र शाही, सोही ठाउँ स्थायी ठेगाना भई हाल काठमाडौं चाबहिल बस्ने ३२ वर्षीय विमलबहादुर शाही र झापाको पृथ्वीनगर नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २१ वर्षीय छोटे भनेर चिनिने आशिष तामाङ थिए।

तीनजनामध्ये धूपेन्द्र ती किशोरलाई नियमित पोलिक्लिनिक लगेर स्वास्थ्य जाँच गराउने कार्यमा संलग्न थिए। विमल र आशीष भने उनीहरूलाई होटलमा बास र खानाको व्यवस्था मिलाउँथे। असार १५ गते ब्युरोले सूचना ‘सही रहेको’ निष्कर्ष निकाल्यो। त्यसपछि धूपेन्द्र, विमल र आशिषलाई ब्युरोको टोलीले पक्राउ गर्‍यो। प्रहरी टोलीले दुवै किशोरलाई उद्धार गरेर थप अनुसन्धान अगाडि बढायो।

अनुसन्धानमा थप तथ्य खुल्यो। पर्दापछाडि अन्य दुई पात्र पनि देखिए। ती दुई पात्र रामेछापको मन्थली नगरपालिका–५ स्थायी ठेगाना भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा बस्ने विधान र हिमाल श्रेष्ठ नामले परिचय दिने २८ वर्षीय धनबहादुर रोका र गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल काठमाडौंको गौशाला बस्ने ३१ वर्षीय विजय कुँवर थिए। अनुसन्धानपछि असार २८ गते उनीहरूलाई पनि प्रहरीले पक्राउ गर्‍यो।

पाँचजनाको फरकफरक भूमिका

ब्युरोका अनुसार पक्राउ परेकामध्ये धनबहादुर गिरोहका नाइके हुन्। उनकै योजनामा अन्य चारजनाले मिलेर ती दुई किशोरलाई मिर्गौला दान गर्न भन्दै भारत लैजान तयार पारेका थिए। धनबहादुरले भारतमा रहेका मिर्गौला मागकर्तासँग मोलमोलाइ गर्ने, उनीहरूको मागअनुसारको मिर्गौला दाता खोज्न आफ्ना सहयोगी परिचालन गर्ने, मिर्गौला दातालाई भारत लैजाने र मिसन सफल भएपछि दातालाई नेपाल फिर्ता ल्याउने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

विजयले धनबहादुरकै निर्देशनअनुसार अन्य सहयोगीमार्फत सम्पर्कमा आएका मिर्गौला दाताको रक्तसमूह पत्ता लगाई मागकर्ताको समूहसँग मिल्ने/नमिल्ने पहिचान गर्ने, मागकर्ताको समूहसँग मिल्ने मिर्गौला दाता खोज्न सहयोगी परिचालन गर्ने र मिर्गौला दातालाई भारत लैजाने प्रबन्ध मिलाउने काम गर्दै आएको अनुसन्धानबाट खुलेको छ। बाँकी तीनजना धनबहादुर र विजयको निर्देशनअनुसार मिर्गौला दाता खोज्ने, उनीहरूलाई रिझाउने, रिझाइसकेपछि खानपान र नियमित स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने काममा संलग्न देखिएका छन्।

यसरी लगिँदै थियो भारत

मानव बेचबिखन ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लका अनुसार यसरी प्रलोभन दिएर भारत लैजान लागिएका ती दुई किशोर ‘सडक बालक’ हुन्। दुवै किशोरको उमेर १८ वर्ष कटिसकेको छ। यो गिरोहले ती दुई किशोरलाई मिर्गौला दान गर्ने भन्दै फकाएको देखिएको छ। उनीहरूले ती किशोरलाई ‘मान्छेको शरीरमा दुईवटा मिर्गौला हुने र जसमध्ये एक बेच्दा कुनै नकारात्मक असर नपर्ने’ भन्दै फकाएको खुल्न आएको छ।  

गिरोहका नाइके धनबहादुर पनि विगतमा सडकमै आश्रित रहेको ब्युरोको अनुसन्धानमा खुलेको छ। उनलाई पनि दशकअघि यसैगरी कसैले भारत लगेर मिर्गौला निकालिदिएको अनुसन्धानले देखाएको छ। ‘आफ्नो मिर्गौला निकालेको खत देखाएर ती दुई किशोरलाई धनबहादुरले फकाएको देखिएको छ,’ एसपी मल्लले भने, ‘मिर्गौला बेच्दा पाँच लाख रूपैयाँ आउने, फर्कंदा ५० हजार पर्ने एक मोबाइल पनि पाइने, शरीरलाई पनि असर नपर्ने भनेर गिरोहले ती दुई किशोरलाई प्रलोभनमा पारेको खुल्न आएको छ।’

मिर्गौला बेच्न राजी भएका दुवै किशोरलाई धनबहादुरको समूहले दुई महिनासम्म काठमाडौंको राम्रै होटलमा मिठो र पौष्टिक खानपान र मनोरन्जनसहित राखेको थियो। एसपी मल्लका अनुसार मिर्गौला निकाल्दा नियमित स्वास्थ्य जाँच आवश्यक हुन्छ। उनले भने, ‘स्वास्थ्यको प्रोटोकल पनि पछ्याइने, स्वस्थ र पौष्टिकयुक्त खाना दिँदा किड्नी पनि राम्रो हुने भएकाले यसरी सुविधा दिएर दुई किशोरलाई राखिएको रहेछ।’

स्वस्थ मिर्गौला उपलब्ध गराउँदा एकातिर राम्रो मूल्य पाइने र अर्कातिर सडकमा आश्रित बालबालिका यस्तो सुविधा दिएर राख्दा खुसी भएर मिर्गौला दिन तयार हुने भएकाले उनीहरूले यस्तो उपाय अपानाएको पाइएको उनले बताए। दुई महिना नियमित स्वास्थ्य जाँच, स्वस्थवद्र्धक र पौष्टिकजन्य खानेकुरा खुवाइसकेपछि ती किशोरलाई कोलकाता लैजाने तयारी थियो।

‘हामीले उद्धार नगरेको भए सायद अहिले ती दुवै किशोर भारतमा हुन्थे,’ एसपी मल्लले भने। पक्राउ परेका गिरोहका पाँचैजनालाई ब्युरोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको मुद्दा जिल्ला अदालत काठमाडौंमा अगाडि बढाइसकेको छ। यस्तै थप अनुसन्धान कार्य पनि चलिरहेको एसपी मल्लले जानकारी दिए।  

सडकमा मिर्गौला खोज्ने गिरोह

अनुसन्धानले राजधानीका सडकमा आश्रित मानिसलाई प्रलोभनमा पारी भारतमा लगेर मिर्गौला बेच्न लगाउने गिरोह सक्रिय रहेको देखाएको एसपी मल्ल बताउँछन्। उनी भन्छन्, ‘यहाँका सडकमा लाखौं मानिस आश्रित छन्। उनीहरू विपन्न, बेसहारा र घरबारविहीन भएकाले प्रलोभनमा सजिलै फस्न सक्ने खतरा छ।’

ब्युरोका अनुसार अन्य गिरोह पनि राजधानीका सडकमा आश्रितलाई प्रलोभनमा पारेर मिर्गौला बेच्न भारत लैजान सक्रिय भएको हुन सक्छ। ‘वर्षौंअघि सडकबाट कसैले टिपेर लगेका मानिसको मिर्गौला निकालिएको छ। त्यो मानिस स्वयं अहिले त्यही धन्दामा संलग्न छ,’ एसपी मल्ल भन्छन्, ‘यसबाट थुप्रो गिरोह मिर्गौलाको व्यापारमा सक्रिय छन् भन्ने अनुमान सजिलै लगाउन सकिन्छ।’

राजधानीका सडकमा मात्रै २ सयभन्दा बढी मिर्गौला निकालिएका मानिस रहेको ब्युरोको अनुमान रहेको उनले बताए। गिरोहले विभिन्न प्रलोभन दिएर नेपालबाट विभिन्न उमेरका मानिसलाई भारतका विभिन्न सहरमा पुर्‍याएर मिर्गौला बेच्न लगाएको ब्युरोको अनुमान छ। नेपालमा मानव अंग किनबेचलाई अवैध मानिएको छ।

‘मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १३ ले ‘अंग खरिद बिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अंग प्रत्यारोपणसम्बन्धी क्रियाकलाप गर्नु हु“दैन’ भनेको छ। दफा १४ मा ‘बिरामीको नजिकको नातेदार’ ले भने ‘आधुनिक चिकित्सा प्रणालीअनुसार व्यवस्थित रूपमा रोगको उपचार गर्ने प्रयोजनका लागि मात्र मानव शरीरबाट अंग झिक्न र एक मानव शरीरबाट अंग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिनेछ’ भनेको छ।

दण्ड सजायको व्यवस्था यस्तो छ

मानव अंग झिक्ने र किनबेच गर्ने कार्यलाई नेपाल सरकारका दुईवटा ऐनले कसूरका रूपमा परिभाषित गरेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले यसलाई कसूर मानेको छ।  

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ उपदफा १ को (ग) ले ‘प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने’ कार्यलाई ‘मानव बेचबिखन र ओसारपसार गरेको मानिने’ भनेको छ। यो कसूर गरे दफा १५ को उपदफा १ (ग) अनुसार दस वर्ष कैद र दुई लाख रूपैयाँदेखि पाँच लाखसम्म जरिवाना हुन्छ।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को दफा १३ र २३ ले मानव अंग खरिदबिक्री गर्ने वा त्यस्तै प्रकारका अन्य कामको प्रयोजनको लागि अंग प्रत्यारोपणसम्बन्धी क्रियाकलापलाई अपराध मानेको छ। यो अपराध गरेमा पाँच वर्ष कैद र दुई लाख रूपैयाँदेखि पाँच लाखसम्म जरिबाना तथा अंग झिकिएको व्यक्तिको मृत्यु भएमा जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ।

प्रकाशित: १३ श्रावण २०७९ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App