फागुन २१ लाई तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरी(म्यादी)को माग भएको छ । यो नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फको कुल संख्या हो ।
कुलमध्ये ८ सय ४६ जना नेपाल प्रहरीतर्फबाट भर्ना हुनेछन् । ४६ जना सशस्त्र प्रहरीतर्फ भर्ना हुने भनिएको छ । सूचनामा कुल संख्या मात्र खुलाईएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार निर्वाचन प्रहरीकाका लागि शुक्रवार पुस २५ गतेबाट माघ १ गतेसम्म आबेदन दिन सकिने छ ।
आबेदन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट गर्न सकिने यादवले जानकारी दिए ।
१८ वर्ष पूरा भई ५४ बर्ष ननाघेको वा २०२८ साल माघ महिना १ गते देखि २०६४ साल माघ महिनाको १ गतेसम्म जन्म भएका व्यक्तिले निर्वाचन प्रहरीका लागि आबेदन दिनसक्ने भएका छन् । नेपाली नागरिक,साधारण लेखपढ गर्न जान्ने,नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रुपले स्वस्थ्य भएको, आतंककारी एवम् विध्वंसात्मक संगठनको सदस्य नरहेको व्यक्ति आबेदनका लागि ग्राह्य हुनेछन् ।
यस्तै पुरुषको हकमा उचाई घटीमा ५ फिट, छाति ३१ देखि ३३ इञ्च र तौल ५० किलो र महिलाको हकमा घटीमा उचाई ४ फिट १० इञ्च, तौल ४२ किलो र गर्भवति नभएको हुनुपर्ने न्यूनतम् योग्यता तोकिएको छ ।
निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति पाएको मितिले जम्मा ४० दिन कायम रहने छ । छनौट भएका निर्वाचन प्रहरीलाई माघ १५ गते २४ गतेसम्म सार्वजनिक बिदाका दिन समेत तालिममा खटाइने भएको छ ।
निर्वाचन प्रहरीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरु तलव स्केल सरह ८६९.४० रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ७७ रुपैयाँ उपलब्ध गराइने भएको छ । निर्वाचन प्रहरीलाई सम्वन्धित जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाए सरहको दररेट अनुसार प्रति निर्वाचन प्रहरी ४० दिनका लागि खाद्यान्न वापतको रकम दिइने भएको छ । निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति निर्वाचन प्रहरी एकपटकका लागि ८ सय ४६ रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराइने भएको छ ।
प्रतिदिन प्रति निर्वाचन प्रहरी तीनसय रुपैयाँका दरले ४ दिनको एकमुष्ट एकहजार दुईसय रुपैयाँ रकम खाजा वापतको एकमुष्ट उपलब्ध गराइने छ । निर्वाचन प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट तोकिएको दररेटका आधारमा पोशाक वापतको रकम दिइने छ ।
कर्तव्य पालनाको सिलसिलामा निर्वाचन प्रहरी घाइते भए स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले तोकिए बमोजिमको क्षतिपूर्ति पाउने भएका छन् । निर्धारित अवधि भन्दा अघि गैर हाजिर भएमा वा जिम्मेवारी पूरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै सुविधा दिइने छैन ।
कुनै मनासिव कारणले निर्वाचन प्रहरीले करार भन्दा अघि नै जिम्मेवारी छाड्नुपर्ने परिस्थिति भएमा २० दिन वा सो भन्दा बढी काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सेवा सुविधा भने पाउने भएका छन् ।
प्रकाशित: २५ पुस २०८२ १५:२२ शुक्रबार





