१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेश सरकारले भन्योः कोभिड संक्रमण बढ्दैछ, ख्याल गर्नू

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मापदण्ड पालना गराउन प्रदेश सरकारले चासो लिएको छ। त्यस्तै बिरामीको उपचारका लागि आवश्यक तयारी गर्न पनि सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ।  

संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारको प्रदेशस्तरीय कोभिड–१९ नियन्त्रण निर्देशक समितिको बैठक विहीबार बसेको थियो। समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ। बैठकले सबै सरकारी, गैरसरकारी कार्यालय तथा नागरिकको बढी भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय तथा शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जनस्थलमा स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ।  

त्यसैगरि गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क प्रयोग गर्न, स्यानिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिने निर्णय गरेको छ। मानिसको जमघट र भिडभाड हुने स्थानमा कोभिड–१९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रदेशका प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए।  

कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था बढ्दै गएको उनले बताए। उनका अनुसार संक्रमणको रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशभित्रका अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक औषधी, स्वास्थ्य उपकरण र जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि भएको छ।  

‘कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा बुस्टर डोज लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको छ,’ प्रमुख सचिव पन्थले भने, ‘बेलैमा सचेत हुनुपर्ने अवस्था छ। त्यही अनुसार तयारी पनि प्रदेश सरकारले गरिरहेको छ।’  

गत बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पिसिआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको थियो। अहिले प्रदेशभर १ सय ३१ जना सक्रिय संक्रमित रहेकामा ३ जनामात्र अस्पतालमा भर्ना भएका छन। अहिले कास्की, स्याङ्जा, तनहुँ र नवलपूरमा मात्र सक्रिय संक्रमित छन्।  

बैठकमा प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन। कोभिड–१९ कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि नयाँ जनशक्ति नियुक्त गर्न लागिएको उनले बताइन्।  

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तीनवटै तहका सरकारको समन्वयकै कारण विगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन्। कोरोना संक्रमणका कारण आइसोलेनसमा रहेका मुख्यमन्त्री पोखरेलले भने, ‘महामारी कसरी बढ्दै जाने हो, त्यसको आँकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ।’ 

अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन्।  खोपको प्रवन्धका अतिरिक्त पिसिआर परीक्षण, अस्पतालमा शड्ढयाको प्रबन्ध लगायत विषयमा कमजोरी नदेखिने गरी काम गर्न उनले आग्रह गरेका छन्। कोरोनाको प्रभाव घट्दै गएको देखेर यसमा केही वेवास्ता गरेको भएपनि अब भने सचेत हुनुपर्ने बेला भएको उनले बताए। खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेको तर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन्।  

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.श्रीराम तिवारीले जनशक्ति वाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको भनाइ राखे। कोभिड–१९ सम्बन्धी कुनै पनि समस्या भएमा संघीय सरकारले व्यवस्था गरेको हटलाइनमा सम्पर्क गरेर चिकित्सकीय सेवा लिन पनि उनको अनुरोध थियो। गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क हटलाइन सेवालाई पनि निरन्तरता दिने तिवारीले जानकारी दिए। 

प्रकाशित: ६ श्रावण २०७९ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App