४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध

फाइल तस्बिर।

निरन्तर अविरल वर्षासँगै आएको बाढी र पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध बनाएको छ। उक्त सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नंं १ स्थित उदिपुरको देउराली डाँडामा पहिराले सडक अवरुद्ध बनाएको हो।

गए रातिदेखि परेको अविरल वर्षा अझै नरोकिँदा पहिरो जाने तथा लेदो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीको भनाइ छ। पानी परिरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा उक्त सडक कटान गर्न सक्ने सम्भावना छ। पटकपटक आएको बाढी र पहिराले यात्रा गर्न समस्या हुँदै आएको छ।

प्रहरीका अनुसार सडक अवरुद्ध भएसँगै कुनै पनि सवारी साधन आवतजावत हुन सकेको छैन। गत वर्ष र असार पहिलो साता गएको बाढीले डुम्रे–बेँसीसहरको देउराली डाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडक सञ्चालन हुँदै आएको थियो तर उक्त वैकल्पिक सडकसमेत बाढी र पहिराको चपेटामा परेको छ। गन्तव्यमा बिहानै जान लागेका यात्रु सडक अवरुद्धका कारण समस्यामा परेका छन्।

पानी नरोकिएसम्म अवरुद्ध सडक खुलाउन असम्भव हुने बताइएको छ। वैकल्पिक सडकसमेत अवरुद्ध हुन थालेपछि काठमाडौँ, पोखरा, चितवनलगायत बेँसीसहर आवत–जावत गर्ने यात्रुलाई सास्ती भएको छ। उक्त सडकबाट मनाङवासी यात्रा गर्दै मनाङ पुग्ने गर्दछन्। डुम्रे–बेँसीसहर ४२ किलोमिटरको छ। 

प्रकाशित: ५ श्रावण २०७९ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App