४ वैशाख २०८१ मंगलबार
समाज

महानगर कार्यालयमुनि ढलपोखरी, निकास कहिले?

काठमाडौं महानगरपालिकाको कार्यालयमुनि रहेको ‘ढलपोखरी’ निकासका लागि योजना अगाडि बढ्ने भएको छ। बालेन्द्र साहले मेयरको जिम्मेवारी सम्हालेको ५१औं दिनपछि बल्ल समस्या समाधानका लागि योजना अगाडि बढ्ने भएको हो।

सुन्धारास्थित ऐतिहासिक बागदरबारमा महानगर कार्यालय सञ्चालित थियो। २०७२ सालको भूकम्पले सो भवनमा क्षति पुर्‍याएपछि अहिले जीर्णोद्धार भइरहेको छ। यसकारण छेउमै रहेको बहुद्देश्यीय निजी भवन जेडिए कम्प्लेक्सको पाँचौं र छैठौं तला भाडामा लिएर महानगरले आफ्नो कार्यालय चलाइरहेको छ। त्यहीँ मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष छ।  

जेडिए कम्प्लेक्स र सँगै जोडिएको चाइना टाउन सपिङ कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङ परस्पर जोडिएका छन्। यही पार्किङ क्षेत्र विगत तीन वर्षदेखि ढलपोखरीमा परिणत भएको छ। जहाँ न्युरोड, सुन्धारादेखिको ढल आएर थुप्रिने गरेको छ। सहरका सेफ्टी ट्यांकीसम्मको ढल आएर जम्मा हुँदै आएकाले यो क्षेत्र पुरै दुर्गन्धित बनेको छ। ढलपोखरीका कारण चाइना टाउनका केही पसलसमेत डुबानमा पर्दै आएका छन्।  

यसरी ढलपोखरी बन्नुको कारण यही क्षेत्र भएर बग्ने पुरानो ढलनिकास कुलोमा पुगेको क्षति हो। न्युरोड, सुन्धारादेखि बागदरबार क्षेत्रको ढल निकासका लागि यहाँ राणाकालमै बनाइएको १६ फिटे राजकुलो छ। जुन चाइना टाउन र जेडिए कम्प्लेक्समुनि भएर भोटेबहालस्थित केन्द्रीय कारागारको पछाडिपट्टि हुँदै टेकुसम्म पुग्छ।  

यही कुलोमाथि कारागार सुरक्षा प्रहरीले क्यान्टिन, नुहाउने धारा, ट्यांकीलगायत संरचना बनाएपछि कुलो भत्किन पुगेको थियो। यसरी कुलो भत्किएपछि त्यो कुलोमा बग्ने ढल तीन वर्षदेखि जेडिए कम्प्लेक्स र चाइना टाउनमुनि रहेको पार्किङ क्षेत्रमा जम्मा हुने गरेको छ।

यसरी लगातार तीन वर्षसम्म पनि आफ्नै कार्यालयमुनि ढल थुप्रिएर महानगरलाई गिज्याइरहँदा समाधानको उपाय खोजिएको थिएन। यसअघिका मेयर विद्यासुन्दर शाक्यले यो समस्याको समाधानका लागि कुनै ध्यान नदिएको स्थानीयको गुनासो थियो। महानगरदेखि संघीय सरकारका विभिन्न एकाइहरू सहरी विकास मन्त्रालयसम्म धाउँदा पनि सरकारी निकायबाट कुनै समाधानको पहल नगरिदिएको स्थानीयको गुनासो थियो। यही कारण चरम दुर्गन्ध, निरन्तरको व्यापार घाटा र रोगको जोखिम झेल्दै आएको उनीहरूको दुःखेसो थियो।  

अहिले स्थानीयवासीले नयाँ मेयर बालेनसँग यो समस्या समाधानको आस गरेका थिए। बालेन मेयर भएको केही दिनभित्रै यो समस्या समाधान भएर दुर्गन्ध हट्ने उनीहरूको विश्वास थियो। तर, उनलाई पनि यो समस्या समाधानका लागि पहल गर्दागर्दै ५१ दिन बितेको छ। उनी कार्यालय हाजिर भएको ५१औं दिनमा योजना परेर बल्ल सम्झौता गर्न भ्याएको स्थानीयले बताएका छन्।  

चाइना टाउन कवल धनी संघका अध्यक्ष निर्मल श्रेष्ठका अनुसार मंगलबार योजनाका लागि महानगरपालिका र ढल उपभोक्ता समितिबीच सम्झौता भएको छ। कुल १७ लाख ८६ हजार लागतमा निर्माण हुने यो योजनाका लागि ९० प्रतिशत लगानी महानगर र १० प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने गरी सम्झौता भएको छ। ‘बल्ल हाम्रो समस्या समाधानका लागि योजना बनेको छ। अब कुनै अवरोध नभए छिट्टै यो दुर्गन्धबाट हामीले छुटकारा पाउनेछौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘योजना अवधि तीन महिनाको छ। तर, हामी १५ दिनमै सम्पन्न गर्ने योजनामा छौं।’  

ढल निकासका लागि रहेका खानेपानी, कारागार सुरक्षा, विद्युत् र स्थानीयसँगको छलफल पनि लगभग समाधानको चरणमा पुगेको उनले बताए। विद्युत् र खानेपानीसँग महानगरले नै समन्वय गर्ने सहमति भएको छ। यस्तै कारागार र स्थानीयसँगको समन्वय उपभोक्ता समितिले गर्नेछ। उपभोक्ता समितिको अध्यक्ष पनि आफैं रहेको चाइना टाउन कवल धनी संघका अध्यक्ष श्रेष्ठले बताए।

प्रकाशित: ४ श्रावण २०७९ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App