१५ वर्षअघि भूमिगत सशस्त्र समूहको त्रासले सुनसरी हरिपुरबाट विस्थापित भएका परिवार वराहक्षेत्र वडा नं. ३ को सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गा ओगटेर बस्दै आएका छन्। त्यहाँ पनि केही वर्षअघि सिंचाइ आयोजनाले हटाएको थियो।
फेरि कुनै विकल्प नभएपछि घर–टहरा बनाएर विस्थापित परिवार बस्दै आएका छन्। ‘कुन बेला के हुने हो? कुनै टुङ्गो छैन,’ विस्थापित परिवारकी कृष्णमाया श्रेष्ठले भनिन्, ‘माओवादीबाट विस्थापितलाई त सरकारले पनि सहयोग गरेको सुनेको थिइम्। हामी पनि आशै आशमा बिताइरहेका छौं।’ आशै आशमा यत्रो वर्ष बिताइसक्दा पनि अहिलेसम्म केही सरकारी सहयोग नपाएको उनको गुनासो छ।
२०६३ सालमा माओवादीले सशस्त्र आन्दोलन त्यागेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरिसकेको थियो। लगतै, तराईमा भूमिगत सशस्त्र समूह बग्रेल्ती गठन भएका थिए। तिनै भूमिगत समूहमध्ये मधेसी मुक्ति टाइगर्सले जहिल्यै दुःख दिने गथ्र्यो। दिनहु दुःख त स्थानीयले सहेकै थिए, आँखै अगाडि सर्वसाधारणको हत्या गर्न थालेपछि गाउँले रातरात हरिपुरबाट विस्थापित भएका थिए।
विस्थापित भएर नहरको ऐलानी जग्गामा बसोबास गर्ने दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन्। ‘आय आम्दानी गर्ने एक मात्र उपाय भनेको ज्याला मजदुरी हो,’ गीता माझीले भनिन्। माझीका श्रीमान् भने विरामी भएर यतिबेला ज्याला मजदुरी गर्न सक्ने अवस्थामा छैनन्। ‘मेरो परिवारको त विजोग भएको छ, श्रीमान पनि विरामी भएर काम गर्न सक्नुहुन्न,’ उनले भनिन्।
विस्थापित हुँदाको क्षण सम्झेर एकदमै दुःख लाग्ने गरेको टेकबहादुर तामाङ् बताउँछन्। त्यतिबेला भूमिगत समूह मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले राति भएपछि कन्चटमा गोली ताक्थे, चेलीबेटीप्रति कुदृष्टि राख्ने, खोरमा पालेका कुखुरा र खसी रातभरी काटेर मस्ती गर्ने गर्थे। ‘त्यतिबेला टाइगर्सको ज्याजतीले त ज्यान बचाएर हिड्न नै गाह्रो थियो, धन्न बेलैमा छाडेर मात्र ज्यान बचाएको हो,’ तामाङ्ले भने, ‘नत्र जे पनि हुन सक्थ्यो।’ काम नभएको दिन पुरुषहरु तास खेलेर समय कटाउँने गरेको महिलाहरुको गुनासो छ।
मधेसी मुक्ति टाइगर्सका कार्यकर्ताले स्थानीयलाई पीडा दिनुका सार्थै २०६४ साल साउन १४ गते राति त टेकबहादुर कुवँरलाईं गोली हानेर हत्या नै गरे। मधेसी टाइगर्सको निसानामा बलराम गिरी पनि परेका थिए। टेकबहादुरलाई हत्या गरेको १३ दिनपछि परिवारकै सदस्यले बलरामलाई भगाएर अन्यत्रै राखे। मधेसी मुक्ति टाइगर्सको ज्याजतीले गर्दा २०६४ कात्तिक महिनामा ५८ परिवार एकै दिन घर छाडेर हिडे। खोली जग्गा खोजी गर्ने क्रममा नहरको जग्गामा बसे।
त्यतिबेला एकैपटक विस्थापित भएका अहिले बराहक्षेत्र वडा नं. ३ मा १२ परिवार बस्दै आएपनि अरु भने बराहक्षेत्रकै चतरा, कोही मोरङको उर्लाबारी, लक्ष्मीमार्ग र झापाको विभिन्न स्थानमा बसोबास गर्ने गरेका छन्। विस्थापित परिवारका छोराछोरीका निम्ति एक नीजि बोडिङ्ले गाउँमै पठनपाठनको व्यवस्था मिलाएको छ। विगतका वर्षमा भन्दा पछिल्लो वर्ष विस्थापित परिवारका छोराछोरी विद्यालय भर्ना हुने क्रम र पढाइको स्तर सुध्रिएको शिक्षिका मनमाया माझीले बताइन्।
विस्थापित पीडितले अहिलेसम्म सरकारी पक्षबाट केही पाएका छैनन्। पीडितलाई स्थानीय सरकारभन्दा पनि संघीय सरकारका तर्फबाट सम्बोधन गरिनुपर्ने बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए। ‘बराहक्षेत्रमा विभिन्न कारणले विस्थापितको संख्या ठूलो छ। यस्तै १५ वर्षअघि मधेसी मुक्ति टाइगर्सका कारण विस्थापित भएका परिवार छन्, यी परिवारका निम्ति केन्द्रीय सरकारले ठोष कार्यक्रम ल्याउनुपर्छ।’
उनका अनुसार विस्थापित परिवारका निम्ति स्थानीय सरकारको स्रोत र साधनले धान्न सक्दैन्। विस्थापित बासीन्दाको सामूहिक आवाज छ, ‘सरकारले स्थायी बस्ने ठाउँको व्यवस्था गरि दियोस्।’ विस्थापित परिवार सरकारी निकायको न्यायको पखाईमा छन्। विस्थापितको पीडामा मल्हमपट्टी लगाउने काम गर्नैपर्छ।
प्रकाशित: ३ श्रावण २०७९ १०:०१ मंगलबार