चार दिनअघि उदयपुरमा भएको बोलेरो दुर्घटनाका घाइतेमध्ये थप १ जनाको निधन भएको छ। चालकसहित १० जना सवार बोलेरो दुर्घटनाका घाइते १ जनाको सोहीदिन राति निधन भएको थियो भने ८ जना उपचाररत रहेकोमा शुक्रबार थप १ घाइतेको ज्यान गएको हो।
गत बुधबार कटारीबाट मयंखुतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२४३ नं. को बोलेरो कटारी ४ स्थित सिद्धिचरण लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा परी कटारी १३ मयंखुका १८ वर्षीय विष्णु राउतको सोही राति उपचारको क्रममा निधन भएको थियो।
सबै घाइतेको उद्धार गरी बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा राउतको सोही राति र अर्की घाइते कटारी ८ की ५५ वर्षीया उर्मिला ठकुरीको शुक्रबार निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। इप्रका प्रमुख डिएसपी मानबहादुर राईले अन्य घाईतेहरुको उपचार सोही अस्पतालमा भईरहेको बताए।
उनका अनुसार अहिले पनि कटारी ८ का २० वर्षीय राज ठकुरी, २२ का मनोज ठकुरी, ३५ का कृष्णबहादुर बुढाथोकीको उपचार भईरहेको छ। त्यसैगरी कटारी ४ का २२ वर्षीय दिपेश कोईराला, कटारी ११ का ५० वर्षीय ईन्द्रबहादुर मगर, कटारी ११ कै १८ वर्षीय दिबस बस्नेत र सुनसरी ईटहरी उपमहानगरपालिका १० का ५० वर्षीय निर्मल भुजेलको पनि उपचार भईरहेको छ।
घाइतेहरुको अवस्था अहिले सुधारोन्मुख रहेको छ। सडकमा अनियन्त्रित भई दुर्घटनामा पर्दा बोलेरोमा सवार यात्रुहरुको टाउको, खुट्टा, हात र शरीरका बिभिन्न भागमा घाउ चोट लागेको प्रहरीले जनाएको छ। बोलेरो चालक कटारी नगरपालिका १३ मैयंखुका २३ वर्षीय पोषराज खत्री र बोलेरो नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको डिएसपी राईले बताएका छन्।
प्रकाशित: ३२ असार २०७९ १५:१६ शनिबार