१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

शुक्रबार पोखराको तापक्रम ३५ डिग्री, तीन वर्षपछिकै बढी गर्मी

पोखरा फेवाताल किनारको खोलामा पौडी खेल्दै स्थानीय बालक। तस्बिरः उमेश पुन/नागरिक

तीनवर्ष अघिको रेकर्ड पछ्याउँदै शुक्रबार दिउँसो पोखराको तापक्रम उच्च बिन्दुमा उक्लेको छ। शुक्रबार पोखराको तापक्रम ३५ डिग्री सेल्सियस थियो। तापक्रम उकालो लागेपछि यहाँको दिउँसोको जनजीवन पनि प्रभावित भएको छ।  

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तीन वर्षअघि सन् २०१९ को अगष्ट १४ मा पोखराको तापक्रम ३५ डिग्री सेल्सियस पुगेको थियो। पछिल्लो केही दिनदेखि पोखराको तापक्रम उकालो लाग्ने क्रममा थियो। जल तथा मौसम विज्ञान कार्यालयका मौसम सहायक सरोज अधिकारीले पोखराको तापक्रमले तीन वर्षअघिको रेकर्ड भेट्याएको बताए। ‘शुक्रबार धेरै नै गर्मी अनुभव भयो। यो वर्षको मात्र नभई तीन वर्षअघिकै जतिकै रेकर्ड कायम भएको छ,’ अधिकारीले भने, ‘पानी परेन भने तापक्रम अझै बढ्नेछ।’

तापक्रम उकालो लागेपछि यहाँको मुख्य बजारमा पनि चहलपहल केही कम भएको छ। दिउँसोको समयमा बजारको चलहपहल कम हुने गरेको छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार यसअघि २०१६ को मे १ तारिखमा पोखराको तापक्रम ३४.८ डिग्री थियो। त्यस्तै २०२० को अगष्ट ५ र २०२१ को मे २४ मा पोखराको तापक्रम ३४.७ डिग्री थियो। 

‘तीन वर्षपछिको बढी गर्मी शुक्रबार अनूभुति भएको छ। पोखरालाई सितल सहर भनिएपनि पानी नपर्दा यहाँ गर्मी महसुस भएको छ,’ उनले भने, ‘यो बेला पर्याप्त पानी पर्नुपर्नेमा केही दिनदेखि पोखरामा पानी नै परेको छैन।’

पछिल्लो तीन दिनदेखि पोखराको तापक्रम ३४ डिग्री थियो। तर, शुक्रबार भने बिहानैदेखि पोखरा खुलेको थियो। पोखरा खुलेसँगै यहाँबाट माछापुच्छ्रे लगायतका हिमाली श्रृंखला पनि देखिएका थिए। जल तथा मौसम विज्ञान कार्यालयका अधिकारीले तत्काल पानी पर्ने सम्भावना नदेखिएकोले तापक्रम अझैमाथि लाग्ने अनुमान रहेको बताए।

पोखराको तापक्रम सबैभन्दा बढी यसअघि सन् १९७५ अप्रिल ८ मा सबैभन्दा बढी ३७.४ डिग्री पुगेको थियो। त्यस्तै १९९२ को अप्रिल २२ मा पनि पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो। गर्मी बढेपछि पोखरा आसपासका खोलानाला र बजारभित्रका स्वीमिङ पुलमा रमाउने युवायुवतीको संख्या बढेको छ। त्यस्तै यहाँका होटलका स्वीमिङ पुलमा रमाउन पनि पुग्ने युवायुवतीको संख्या थपिएको पर्यटन व्यवसायीले बताएका छन्।

प्रकाशित: ३१ असार २०७९ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App