२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिर्घरोगीलाई नियमित खाने औषधि बुढीगंगा पालिकाकै लगानीमा दिने

पदभार ग्रहणसहित निर्णयमा हस्ताक्षर गर्दै नगर प्रमुख रामबहादुर बाँनीया।

बुढीगंगा नगरपालिकाले पालिकामा बसोबास गर्ने विपन्न परिवारका दिर्घरोगीले खाने औषधिको व्यवस्थापन गरिदिने निर्णय गरेको छ। आफैंले औषधि किनेर खान नसक्ने विपन्न परिवारका दिर्घरोगीको नियमित खाने औषधि पालिकाकै लगानीमा खरिद गरेर दिने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन्।

असार २३ मा सम्पन्न निर्वाचनपछि पहिलो दिन पदभार ग्रहण गर्दै बाँनीयाले पालिकाको आन्तरिक श्रोतबाटै औषधि खरिद गरेर उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख बाँनीयाले नियमित स्वास्थ्य जाँच, वार्षिक एक पटक विशेष सेवासहितको निःशुल्क स्वास्थ्य शिविर र जटिल प्रकृतिको उपचारको ग्यारेन्टी समेत पालिका स्तरबाटै गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

वैशाख ३० को निर्वाचन आयोगले धाँधलीको आरोपसहित रद्द गरेपछि बुढीगंगामा असार २३ मा पुनः मतदान भएको हो। पदभार ग्रहणकै दिन बानीयाँले नगर प्रमुख उपप्रमुख दुवैका तर्फबाट ८ वटा निर्णयमा हस्ताक्षर गरेका हुन्। पहिलो नम्बरमा सबै बस्तीमा खानेपानीको पहुँच सुनिश्चित गर्ने बताएका छन्।

आधुनिक शिक्षा विकासको अवधारणा अन्र्तगतको अंग्रेजी माध्यमको शिक्षण सिकाइ पनि सञ्चालन गर्ने गरी पहिलो चरणमा साविक तीन गाविसका पशुपति मावि, भानुदय नमुना मावि र त्रिशक्ति माविलाई छनोट गरिएको छ। सबै नागरिकलाई इन्टरनेटको सुविधामा जोड्ने गरी सेवा विस्तारको पनि निर्णय गरेको छ।

बाह्रै महिना सबै वडामा सडक सुचारु हुने अवस्था निर्माण गर्ने, पालिका स्तरमै लोकसेवा तयारी कक्षा सञ्चलन गर्ने, नगर प्रोफाइल तयार पारी सोही आधारमा पाँच वर्षे योजना अघि सार्ने र कृषि खेतीलाई आधुनिक र व्यवसायी बनाई परम्परागत बालीको संरक्षणमा ध्यान दिने निर्णय गरेका छन्।

निवर्तमान नगर प्रमुख दीपक विक्रम शाह, र उपप्रमुख तारा खाती थापाको उपस्थितिमा नवनिर्वाचित नगर प्रमुख रामबहादुर बाँनीया र उपप्रमुख माया कुँवरले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहणकै दिनको निर्णयले जनतालाई राहत हुने काम गरिएको प्रति स्थानीय आशावादी बनेका छन्।

जनताको सेवा र जनताको भावना विपरीत कुनै कार्य नगर्ने वचन समेत पदभार ग्रहणको क्रममा खाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधीले पार्टीको घोषणा पत्रअनुसार नै काम कारबाही गर्ने योजनासहित निर्णय गरिएको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन्। बुढीगंगामा एमालेले १० वटा वडा मध्ये सात अध्यक्षसहित नगर प्रमुख उपप्रमुख जितेको छ। तीन वटा वडामा काँग्रेसका जनप्रतिनिधी आएका छन्।

प्रकाशित: २८ असार २०७९ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App