७ वैशाख २०८१ शुक्रबार
समाज

एकीकृत समाजवादीका विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ।

आज अनेरास्ववियूले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो। अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत नाैं जना उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए।

उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्। अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सरह शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए।

यस्तै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सोही घटनाको विरोध गरेको छ। राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विरोध जनाएको हो। अनेरास्ववियुले विश्वविद्यालयमा लगाएको तालालाई वार्ता र सहमतिका आधारमा तुरुन्तै खुलाएर नियमित काम कारबाही अगाडि बढाउन त्रिवि प्रशासनसँग माग गरेको छ।

इन्चार्ज मदन विष्ट र अध्यक्ष शम्भुप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा  ‘उक्त प्रक्रियामा संलग्न दोषीमाथि तुरुन्त कडा कारबाहीको समेत माग गर्दछौं साथै सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने व्यक्तिहरुमाथि अविलम्ब कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं’ भनिएको छ।

प्रकाशित: २७ असार २०७९ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App