४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उदयपुरका दुई किशोरी कोसीमा डुबेर बेपत्ता

उदयपुरका दुई किशोरी बुधबार दिउँसोदेखि सुनकोसीमा बेपत्ता भएका छन्। गाई बस्तु चराउन कोसी तटीय क्षेत्रमा गएका त्रियुगा नगरपालिका १४ साउनेका १३ र १२ वर्षीया दुई किशोरीहरु कोसीमा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्।  

त्रियुगा १४ का पूर्व वडाध्यक्ष कुरुङ राईले सामाजिक सञ्जाल फेसबुकमा सन्देश सार्वजनिक गर्दै साउनेका बिपना राई र बिना राई कोसीमा डुबेर बेपत्ता भएको जानकारी दिएका छन्। बिपना खामबहादुरकी छोरी हुन् भने बिना जीतबहादुर राईको छोरी भएको पूर्व वडाध्यक्ष राईको स्टाटसमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घट्नाको पुष्टि गर्दै खोजी कार्य थालिएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख सुबासचन्द्र बोहराले १३ वर्षीया बिपना र १२ वर्षीया बिना गाई बाख्रा चराउन गएका बेला कोसीमा डुबेर बेपत्ता भएको पुष्टि गरे। उनका अनुसार उदयपुर र खोटाङबीचको सीमास्थल धाब्लाङमा झोलुङ्गे पुल आसपास उनीहरु कोसीमा परेर बेपत्ता भएका हुन्।  

किशोरीहरु डुबेर बेपत्ता भएको खवर स्थानीयबाट पाएल्गत्तै साउने प्रहरी चौकी र परिवार तथा स्थानीय आफन्तले खोजी कार्य थालेको भए पनि कतै नभेटिएको एसपी बोहराले बताए। अहिले पनि प्रहरी र स्थानीयबाट उनीहरुको खोजी कार्य जारी रहेको छ। उनीहरुलाई बाढीले बगाएर मृत्यु भईसकेको अनुमान स्थानीयले गरेका छन्।

प्रकाशित: २२ असार २०७९ १५:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App