४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे

दैलेख सदरमुकामस्थित नयाँ बजार एनएमबि बैंक पूर्व जाने सडक हिलाम्मे।

वर्षातसँगै दैलेख सदरमुकामको मुख्य सडक हिलाम्मे भएको छ। सडक हिलाम्मे हुँदा सवारीसाधन हिड्न जोखिम भएको हो। नारायण नगरपालिकाले सदरमुकामभित्रका सडक सुधारका लागि योजना ल्याउन नसक्दा वर्षेनी स्थानीयहरुले दुःख पाउने गरेका छन्।

नगरभित्रका अन्य सडक चल्नै नसक्ने गरि बिग्रीयका छन्। दिगो सडकभन्दा जनप्रतिनिधिहरुका नजिक कार्यकर्तालाई पोस्न मर्मत सम्भार गराउने प्रचलनले वर्षेनी सडक बिग्रदो अवस्थामा पुगेको हो। चिप्लो सडकका कारण स्थानीय पैदल यात्रीले समेत दुःख पाउने गरेका छन्।

एनएमबि बैंकदेखि पूर्व जाने सडक, डेकेन्द्रचौकदेखि पश्चिम जाने सडक, वन कार्यालय जाने सडक तथा बजार क्षेत्रभित्रका सडकहरु पनि हिलाम्मे हुँदा नगरबासीहरुलाई सास्ती भएको छ। प्रायः दैलेखका सडकहरु हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्मे हुने गर्दछन्। एनएमबि बैंक पछाडीको सडक हिलाम्मे हुँदा सवारीसाधन गुड्नमा सकस भइरहेको स्थानीय व्यवसायी राधा ज्ञावलीले बताइन्।

यो वर्ष सडक निर्माणको कुनै पनि काम नगरपालिकाले नगर्ने नारायण नगर पालिकाका नगरप्रमुख लोमन शर्माले बताए। ‘वर्षातमा काम गुणस्तर नहुने भएकाले भदौंबाट बजारक्षेत्रका सडक स्तर उन्ननी हुन्छ।’ नगर प्रमुख शर्माले भने, बजेट विनियोजन भईसकेकोले ४ खण्ड गरेर काम गरिनेछ।’  

अस्पतालदेखी कारागार, कारागारदेखी बज्रभैरव र बज्रभैरवदेखि डेकेन्द्र चौक, डेकेन्द्रचौकदेखी बसपार्कसम्म चार भागमा सडक स्तर उन्नती गरिने नगरप्रमुख शर्माले बताए। तिन खण्डमा ४० लाख र बज्रभैरवदेखी डेकेन्द्रचौकसम्म ५० लाख रकम विनियोजन भएको नगरपालिकाले जनाएको छ।  

पूर्वाधार विकास कार्यालयबाट डेढ करोड रकम अस्पतालदेखी कारागारसम्म सडक स्तर उन्नतीका लागि आए पनि ठेकेदारले काम नगर्दा फ्रिज जाने अवस्थामा छ। दैलेख बजार क्षेत्रमा भएको हिलो सफा गर्ने कार्य नगरपालिकाले गर्ने नगर प्रमुख शर्माले बताए।

प्रकाशित: २० असार २०७९ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App