४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

खेत रहे न धान फल्छ!

हिजो खेत, अहिले बस्ती

धानखेतबारे सचेतना जगाउने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले बुधबार धान दिवसका अवसरमा पोखरा २५ हेम्जामा गरेको रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटक। तस्बिरः उमेश पुन/नागरिक

कृषिका लागि अब्बल मानिने पोखरा २५ हेम्जाको फाँट केही वर्ष अघिसम्म रित्तै थियो। निकै कम बस्ती हुँदा त्यहाँ कहिल्यै डुबान समस्या थिएन। तर, केही दिनअघिको भीषण वर्षापछि हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारी डुबानमा पर्‍यो। बस्ती डुबानमा पर्नुको कारण थियो– पानीको निकास सहज नहुनु, किनकि त्यहाँ पछिल्लो समय निकै संख्यामा घर ठडिएका छन्, प्लटिङ गरेर धान उत्पादन हुने खेतमा बस्ती बसाइएको छ।  

हेम्जाको उदाहरण मात्र हो, धान फल्ने खेतलाई धेरैतिर प्लटिङ गरेर बस्ती बसाइएको छ। धान फल्ने खेतमा बस्ती बस्दै जाँदा त्यसको असर डुबानमा त छँदै छ, धान उत्पादनमा पनि उत्तिकै परेको छ। हिजोसम्मका धान खेत बस्ती बनेका छन्। ‘धान फल्ने खेत हो, तर बस्ती बसेको छ। खेतलाई बस्ती बनाउँदा दुईतिरबाट प्रभाव परेको छ, एकातिर डुबान समस्या निम्तियो भने अर्कातिर उत्पादन हुने क्षेत्र पूरै बस्तीमा परिणत भयो,’ पोखरा २५ का वडा सदस्य सुवास भण्डारी भन्छन्, ‘हिजो धान र आलु फल्ने खेत हो, तर अहिले घरले ढाकेको छ। धान फल्ने खेतमा बस्ती बस्दा डुबान हुन पुग्यो।’

भण्डारीको जस्तै भनाइ पोखरा महानगरको कृषि महाशाखाका प्रमुख मनहर कडरियाको पनि छ। कडरिया पनि मोटरबाटो पुगेपछि सडकछेउमा बस्ती सर्न थालेका छन्। त्यसले गर्दा उत्पादनमा पनि प्रभाव पारेको छ। ‘मोटरबाटो पछ्याउँदै बस्ती बस्न थालेको छ। मोटरबाटो जता जान्छ, उतैउतै घर बन्न थालेका छन्,’ कडरिया भन्छन्, ‘जग्गाले अन्न उत्पादन दिन्छ वा दिँदैन भन्दा पनि मोटरबाटोको नजिक बसाइ सर्ने रहरले गर्दा मार कृषि क्षेत्रमा पनि परेको छ।’  

उनका अनुसार गाउँगाउँमा सडक विस्तार भइरहेको छ। त्यही सडक विस्तार हुँदै गर्दा बस्ती पनि सर्न थालेको छ। ‘सडकको नजिक बसोबास गर्नुपर्छ भन्ने मान्यताले खेतीयोग्य जग्गा नासिँदै गएको छ,’ उनले भने, ‘यसले उत्पादनमा असर पारेको छ। खेतबारी चिरा पारेर बीच खेतबाट मोटरबाटो खनिएको छ। त्यसबाहेक घर बन्ने क्रम त झनै छ। धान फलाउन त खेत बचाउनुपर्छ, खेत नै नरहे धान कहाँबाट फल्छ र?’

कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख बासुदेव रेग्मी ११ महिनाको अवधिमा करिब ५० अर्ब रूपैयाँको धान मात्र आयात हुनुमा जमिनको खण्डीकरण प्रमुख कारण ठान्छन्। उनी भन्छन्, ‘जमिनको खण्डीकरण भएको छ। मोरबाटोले धेरैतिरको खेत पुरिएको छ। त्यसले गर्दा धान उत्पादनमा मार परेको छ।’ उनका अनुसार जग्गा खण्डीकरण हुँदै जाँदा बर्सेनि धान उत्पादन हुने क्षेत्रफल घट्दो छ। ‘क्षेत्रफल कम हुनासाथ उत्पादन पनि स्वतः कम हुने नै भयो। धानलाई झनै बढी मार परेको छ,’ उनले भने, ‘उत्पादन क्षेत्र घट्दो छ। धानको उत्पादन पनि घट्ने भयो।’

उनका अनुसार अहिले किसानले बेलैमा धान रोप्न त पाएका छन। त्यहीअनुसार धमाधम रोपाइँ पनि भइरहेको छ, तर रासायनिक मल अभाव भने उत्तिकै छ। ‘अझै पनि रासायनिक मल अभाव छ। तराईमा पनि समस्या मलकै छ। बेलैमा मल, सिँचाइ, मनसुनको साथ हुने हो भने बल्ल उत्पादन बढ्छ,’ रेग्मी भन्छन्, ‘बहिरबाट हेर्दा मनसुन बेलैमा भित्रिएर धान रोप्न पाए उत्पादन बढ्छ भन्ने अनुमान छ। तर त्यो गलत हो, किनकि उत्पादन हुने क्षेत्र हरेक दिन घटिरहेको छ।’ धान उत्पादन बढाउन क्षेत्रफल घट्न दिन नहुने उनले बताए। ‘बिउ, सिँचाइ र मल हुने हो भने उत्पादन बढाउन सघाउँछ। क्षेत्रफल घट्न पनि रोक्नुपर्छ। सबैतिर घर बनाउने हो भने धान फलाउने ठाउँ नै रहन्न,’ रेग्मीले भने।  

पोखरा महानगरभित्र ११ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। महानगरभित्र हाइब्रिड धानले १५ प्रतिशत मात्र हिस्सा ओगट्छ। अरू सबै स्थानीय जातको धान खेती हुन्छ। त्यसबाहेक जेठोबुढो ४० प्रतिशत र अन्य उन्नत ४५ प्रतिशत र बाँकी हाइब्रिडको खेती हुने गरेको छ। महानगरभित्र मात्र ३९ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ। गण्डकी प्रदेशमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। गण्डकी प्रदेशमा वर्षमा करिब साढे ३ लाख टन धान खेती हुन्छ। ‘धान फल्ने यकिन क्षेत्रफल पनि पहिचान गर्न पनि सकिने अवस्था छैन। किनभने हरेक वर्ष धान फल्ने फाँट खण्डीकरण भएको छ। प्लटिङ र नयाँ बस्ती विकासले उत्पादन घटाउन सघाएको छ,’ रेग्मीले भने।

धानबारे ज्ञान दिन महोत्सव

यसैबीच ‘पोखरा सबै मौसमका लागि’ भन्दै आयोजना हुने रोपाइँ महोत्सव यसपटक पोखरा २५ हेम्जामा आयोजना गरिएको छ। पोखरामा हरेक वर्ष फरक–फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) ले आयोजना गरेको यो महोत्सवको १७ औं संस्करण हो। खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बर्सेनि यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष गोपी भट्टराईले बताए। २०६१ सालदेखि परिषद्ले बर्सेनि यो महोत्सव आयोजना गर्दै आएको छ।

पोखरा २५, माइस्थानस्थित रामबहादुर कुँवर, तुलसी पौडेल, अग्निधर पौडेल, डिल्लीराम नेपाली, कृष्णबहादुर कुँवर, मैना केसी र प्रकाश पौडेलको करिब १० रोपनी क्षेत्रफल खेतमा यसपटकको रोपाइँ महोत्सव आयोजना गरिएको उनले बताए। ‘मुख्य बालीका रूपमा परिचित धान खेती हुने क्षेत्रफल घटिरहेको छ। पोखरा र आसपासका फाँटमा धानखेती गर्न छाडेर घर बनाउन थालिएको छ,’ उनले भने, ‘अब धान खेती हुने क्षेत्र देख्न पनि नपाउने अवस्था छ। सकेसम्म ती क्षेत्रलाई जोगाउन पनि यस्ता कार्यक्रमले सघाउने अपेक्षा हो।’ परिषद्ले यस्तो गतिविधि हरेक वर्ष फरक–फरक फाँटमा आयोजना गर्दै आएको छ।

प्रकाशित: १६ असार २०७९ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App