४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

नाउरको संख्या क्रमिक रूपमा घट्दै

हिउँ चितुवाको आहाराको रुपमा रहेको नाउरको संख्या पछिल्लो समय घढ्दै गएको छ। ताप्लेजुङको कञ्चनजङ्घा हिमालको फेदीमा विगतका वर्षका तुलनामा यसको संख्या क्रमिक रूपमा घढ्दै गएको हो।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र विश्व वन्यजन्तु कोषद्वारा संयुक्त रुपमा  कञ्चजङ्घा संरक्षण क्षेत्रमा नाउरको गणना हुँदै आएको छ। विश्वमा दुर्लभ जनवार हिउँ चितुवाको प्रमुख आहाराको रूपमा  नाउर मानिन्छ।

विसं २०७३ मा भाले पोथी गरी दुई हजार २०० को सङ्ख्यामा नाउर रहेको परिषद् तथ्याङ्कमा उल्लेख छ। यसपछि विसं २०७७ को गणनामा भाले–पोथी गरी एक हजार ४२१  नाउर भेटिएको थियो। विसं २०७७ मा कोभिड–१९ का कारण चार ब्लगमध्ये गोला–मौमा ब्लग क्षेत्रमा भने गणना हुन सकेको थिएन।

भर्खरै सम्पन्न भएको विसं २०७८ को नाउर गणनामा विगतको तुलनामा कमी आएको देखिएको छ। भाले–पोथी गरी एक हजार ६४८ नाउर  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा रहेको गणना तथ्याङ्कले देखाएको छ। राम्जेल ब्लग वयस्क भाले सात अर्धवयस्क भाले २२, तरुण भाले ४४ र किशोर भाले ४८  रहेको संरक्षण क्षेत्रले जनाएको छ।

त्यस्तै बच्चा नाउर ३३ र पोथी ७३ गरी राम्जेल ब्लग क्षेत्रमा २२७ वटा नाउर हरेको तथ्याङ्क छ। घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा वयस्क भाले ७१, अर्धवयस्क भाले ६२, तरुण भाले ६७ र किशोर भाले ५८ वटा रहेका छन्। बच्चा ३६ र पोथी १५७ गरी जम्मा ४५१ वटा घुन्सा–खाम्वाचेन ब्लग क्षेत्रमा रहेको तथ्याङ्क छ।

याङमा ब्लग क्षेत्रमा ७४ वयस्क भाले, ७७ अर्धवयस्क भाले, ११२ तरुण भाले र ८१ किशोर भाले रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका सचिव मनकुमार लिम्बूले बताए।  त्यस्तै १२ बच्चा, १५७ पाथी र पहिचान नखुलेको ३४ वटा गरी ५४७  नाउर याङमा क्षेत्रमा रहेका छन्। गोला–मौमा ब्लग क्षेत्रमा ६६ वयस्क भाले, ५५ अर्धवयस्क भाले, ६३ तरुण भाले र ७१ किशोर भाले  छन्।

त्यसैगरी दुई बच्चा, १५८ पोथी र आठ पहिचान नखुलेको नाउर गोला–मौमा क्षेत्रमा रहेको उनले बताए। गत वर्ष गरिएको गणना घुन्सा खम्बाछेन ब्लग क्षेत्रमा ६४२  नाउर रहेको गणनाको तथ्याङ्कमा आएको छ। याङमा ब्लग क्षेत्रमा ५३२  र रामजेल ब्लक क्षेत्रमा २४७ नाउर रहेको कार्यालयले जनाएको छ। पोथी नाउरभन्दा भाले नाउरको सङ्ख्या दोब्बर बढी रहेको कार्यालयले जनाएको छ।

पोथी ४९५ र ८१६ भाले रहेको थियो। असी वटा बच्चा रहेको गणनाको तथ्याङ्कले जनाएको छ। २७ नाउर भालेपोथी नछुट्टिएका नाउर रहेका थिए। २०८ नाउर वयस्कको भाले रहेको थियो। २०७ नाउर तरुण भाले रहेको थियो। २०६ नाउर किशोर अवस्थाको रहेको तथ्याङ्कले जनाएको छ। १९८ अर्धवयस्क उमेरको नाउर रहेको कार्यालयले जनाएको छ।

कञ्चनजङ्घा क्षेत्रमा नाउरको बासस्थान तथा चरनको अध्ययन अवलोकन गर्न चारवटा क्षेत्र (ब्लग)मा विभाजन गरेर नाउर र हिउँ चितुवाको बासस्थान र चरणको अवस्थाबारेमा अध्ययन विगतदेखि नै गर्दै आएको कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए। ओलाङचुङगोला, याङमा, घुन्सा र याम्फुदिन ब्लगमा विभाजन गरेर संरक्षणमा पाइने वन्यजन्तुको निरीक्षण हुँदै आएको उनले बताए।

संरक्षण क्षेत्रमा हिउँ चितुवा अनुगमन उपसमिति गठन भएको छ। नारउ र हिउँ चितुवालागयतका वन्यजन्तुको निरीक्षण गर्ने जिम्मेवारी हिउँ चितुवा उपसमितिलाई जिम्मेवारी दिएको घुन्सा ब्लग हिउँ चितुवा उपसमितिका अध्यक्ष पेमा शेर्पाले बताए। वन्यजन्तुबाट घरपालुवा जनवारहरु क्षति पुग्यो भने उपसमितिले अवलोकन गरेर राहत उपलब्ध गराउँदै आएको उनले जानकारी दिए।

वन तथा वन्यजन्तु प्राविधिक र स्थानीय हिउँ चितुवा उपसमिति पदधिकारीहरू नाउर गणनामा परिचालन हुने गर्दछ। ब्लग विभाजन गर्दा एक क्षेत्रको वन्यजन्तु आर्को ब्लकमा नजानका लागि हिमाल, खोला आदिका आधारमा क्षेत्र सिमाङ्कन गरिएको छ।

यसले गणनामा दोहोरिने कम सम्भावना रहेको कार्यालयल सचिव मनकुमार लिम्बूले बताए। समुद्र सतहदेखि पाँच हजार मिटरभन्दा माथिको उचाइको हिमाली क्षेत्रमा पाइने हिउचितुवाको आहाराका रूपमा रहेका नाउरहरूको अवस्था बारेमा बुझ्न समय–समयमा गणना हुँदै आएको छ।

कञ्चनजङ्घा क्षेत्रमा घुन्साबाट पाङपेमा बेस क्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजङ्घा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलाबाट मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लग क्षेत्रमा विभाजन गरेर संरक्षण क्षेत्र व्यावस्थापन परिषद्ले विगतदेखि नै नाउरको गणना गर्दै आएको फेम्बुले बताए।

समुद्र सतहदेखि तीन हजार ८०० को उच्च हिमाली क्षेत्रमा नाउरको चरन क्षेत्रमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गर्दै आइएको छ। अझ पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ। सामान्यतया मौसम सफा भए १५ देखि २० दिनको अवधिमा गणना सकिने कञ्चनजङ्घा क्षेत्रले जनाएको छ। संरक्षण क्षेत्रमा विसं २०६० मा १२ हिउँ चितुवा रहेको अनुमान गरिएकामा अहिले यो बढेर कम्तीमा पनि २९ पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्रले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कोषको सहयोगमा गरिएको ‘क्यामरा ट्रयाप’ र अन्य परीक्षणले सो संरक्षण क्षेत्रभित्रका ओलाङचुङगोला, लेलेप, याम्फुदिन क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या २० देखि २९ सम्म रहेको संरक्षण क्षेत्रको अनुमान  छ। हिउँ चितुवाको मलमूत्र परीक्षणका आधारमा पनि त्यस क्षेत्रमा उक्त सङ्ख्यामा हिउँ चितुवा रहेको परिषद्को कार्यालयले जनाएको छ।

प्रकाशित: १५ असार २०७९ ०६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App