५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

११ सहसचिव बरण्डामा १७ सहसचिव रिक्त

सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समुहमा राखेको छ। जबकी अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ। अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ। अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ। उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्नबित्तिकै फर्कन्छन्। उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन।  

मन्त्रालयमा अहिले शोभाकान्त पौडल, यामप्रसाद भुषाल, भगवान अर्याल, रेखा कँडेल, प्रकाश पौडेल, प्रदीप परियार, सुरेश राउत, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापालगायतका सहसचिव अतिरिक्त समूहमा छन्। सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अतिरिक्तमा रहेका सहसचिवहरूलाई यही हप्ताभित्र खाली ठाउँमा पठाउने तयारी भएको बताए। त्यसका लागि गृहकार्य भइरहेको उनले जनाए। मन्त्रालय स्रोतका अनुसार अतिरिक्त समूहमा राखिएका सहसचिवहरूलाई खाली ठाउँमा पठाउन मन्त्रालयले सूची तयार गरेको छ। एक दुई दिनभित्रै निर्णय सार्वजनिक हुने मन्त्रालय स्रोतको भनाइ छ।  

स्रोतका अनुसार अतिरिक्त समूहमा राखिएका सहसचिवहरूको सरुवा गर्दा विभिन्न ठाउँमा कार्यरत केही सचिवहरूको पनि जिम्मेवारी फेरबदल गर्ने तयारी भएको छ। ‘सूची बनाउने, त्यसलाई परिमार्जन गर्ने, फेरि अर्को सूचि बनाउने प्रक्रियाले पनि समयमै कर्मचारी पठाउन ढिलो भएको हो,’ स्रोतले भन्यो, ‘यसमा मन्त्री तथा उच्च कर्मचारीहरूको चासो जोडिएको हुन्छ।’  

सहसचिव र सहसचिवभन्दा माथिल्लो तहका कर्मचारहिरूको सरुवा मन्त्रपरिषद्बाट गर्नु पर्ने कानुनमा व्यवस्था छ। तर संघीय मामिला मन्त्रालयले मन्त्री तहको निर्णयबाट कामकाजमा सहसचिवहरूलाई खटाउन सक्ने व्यवस्था छ। काजमा पनि दुई किसिमबाट खटाउन सक्ने व्यवस्था छ। काज भनेर तोकियो भने निश्चित समयका लागि बढीमा ३ महिनाका लागि खटाउन सकिन्छ। तर कामकाजका लागि भनेर खटाइयो भने अर्को व्यवस्था नभएसम्मका लागि खटाउन सकिन्छ। कामकाजमा खटाइएका कर्मचारीहरू एक, दुई वर्षसम्म पनि बस्न सक्छन्। मन्त्रालय स्रोतका अनुसार अहिले तुलसीपुर, घोराही, नेपालगञ्ज, जितपुर सिमरा, कलैया तथा इटहरी उपमहानगरपालिका सहसचिवको दरबन्दी रिक्त छ। त्यहाँ कामुले उपमहानगर चलाएका छन्। यसैगरी गृह मन्त्रालयमा ८ जना सहचिवको दरबन्दी रिक्त रहेको छ।

यसैगरी सञ्चार मन्त्रालयमा २ र राष्ट्रिय योजना आयोगमा एउटा सहसचिवको दरबन्दी रिक्त छ। मन्त्रालय स्रोतका अनुसार विरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे लामो समय विदामा बस्न चाहेको जानकरी मन्त्रालयलाई गराएका छन्। त्यहाँ पनि अर्का एक सहचिवलाई सरकारले खटानु पर्ने भएको छ। सहसचिवहरू काठमाडौं महानगरपालिकालाई सबैभन्दा आकर्षक कार्यालय मान्छन्। काठमाडाैंमा जान बहालावाला सहसचिवहरूले पनि विभिन्न पहुँच प्रयोग गरेको स्रोतको भनाइ छ। अहिले कामनपामा प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौडेल कार्यरत छन्। एकै पटक १ दर्जन सहसचिवहरू सरुवा गर्दा काठमाडांैमा पनि फेरदबल गर्न बहालावाला सहसचिवहरूले लबिङ गरेको स्रोतको भनाइ छ।  

काठमाडांै महानगरपछि गृहमा पुगी क वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भई सरुवा हुन सहसचिवहरूको दोस्रो प्राथमिकता हुने गर्छ। राष्ट्रिय योजना आयोग तथा सञ्चार मन्त्रालयलाई उनीहरूले त्यती आकर्षक कार्यालय मानिँदैन।  

मन्त्रालय स्रोतका अनुसार अहिले देशभर १सय ८० स्थानीय तह निमित्तको भरमा चलेका छन्। ती मध्ये १ सय वटा गाउँपालिका तथा ८० वटा नगरपालिका निमित्तको भरमा चलेका छन्। नगरपालिकामा उपसचिव सरहका कर्मचारी तथा गाउँपालिकामा शाखा अधिकृत सरहको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत खटाउन सक्ने व्यवस्था कानुनमा गरिएको छ। अहिले १ सय वटा गाउपालिकालाई नायब सुब्बाले चलाएका छन्। यसैगरी ८० वटा नगरपालिका शाखा अधिकृत सरहका कर्मचारीले चलाएका छन्। मन्त्रालय स्रोतका अनुसार मधेस प्रदेशका आधाजसो स्थानीय तह कामुले चलाएका छन्।

प्रकाशित: १३ असार २०७९ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App