५ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भुक्तानी नपाउँदा देवधारको मोटरेबल पुलको कामले गति लिएन

देवधारस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

महेश्वर चामलिङ राई  

गरेको कामको समयमा भुक्तानी नपाउँदा चौदण्डीगढी नगरपालिका ९ र १० को देवधारस्थित त्रियुगा नदीको निर्माणाधीन मोटरेबल पक्की पुलको कामले गति लिन सकेको छैन । त्रियुगा नगर र छिमेकी चौदण्डीगढी नगरको सीमास्थित देवधार–हडिया जोड्ने गरी निर्माणाधीन पुलको भईसकेको कामको पनि भुक्तानी नपाउँदा कामले गति लिन नसकेको हो ।  

चौदण्डीगढी ९ र १० को हडिया र त्रियुगा १ को जोगीदहबासीलाई मदन भण्डारी लोकमार्गसँग सोझो यातायातले जोड्ने सो पुल १ वर्षअघि निर्माण सुरु भएको हो । अहिलेसम्म १५ प्रतिशत भौतिक प्रगति गरिसकेको कामको भुक्तानी भने ५ प्रतिशत मात्र पाएकाले थप काम अघि बढाउन निर्माण कम्पनीले आनाकानी गरिरहेको हो । निर्माण कम्पनी प्रतिनिधि उमेश श्रेष्ठले काम गरेको पैसा समयमा भुक्तानी नपाउँदा फटाफट काम गर्न समस्या भईरहेको गुनासो गरे ।  

‘पेश्की चाहिएन, तर गरेको कामको बीलमात्र भुक्तानी समयमा गरिदिए काम गर्न सहज हुन्छ’ श्रेष्ठले भने ‘तर, बील पेस गरेको महिनौँ बित्दा पनि भुक्तानी नपाएपछि काम अघि बढाउन गाह्रो हुन्छ, हामीलाई त्यस्तै भईरहेको छ । भुक्तानी पाए कामले गति लिने थियो ।’  

५ स्पानको पुलको हालसम्म २ पिल्लर ठडिईसकेको छ भने बाँकी ५ पिल्लरका लागि सबै सामान तयारी भईसककेको भएपनि भुक्तानीकै समस्याले काम रोक्नु परेको निर्माण कम्पनी बताउँछ ।  

पाईल फाउण्डेशन प्रविधिमा निर्माण हुने ३ सय २० मिटर लम्बाई र ४ मिटर फुटपाथसहित ११ मिटर चौडाईको उक्त पुल ५ का स्पानको हो । साईट इन्चार्ज तथा प्राविधिक सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर धरान, सुनसरीका इन्जिनियर रोशन देवका अनुसार पुल समयमै निर्माण सम्पन्न गर्नेगरी काम भईरहे पनि सोँचेजस्तो गति लिन भने सकिरहेको छैन । यसो हुनुको प्रमुख कारण पनि समयमा भुक्तानी नहुनु नै रहेको इन्जिनियर देवको स्वीकारोक्ति छ ।  

सम्झौता २ वर्षअघि अर्थात् ०७९ मङ्सिर २१ गते नै भए पनि स्थलगत अध्ययन र प्राविधिक डिजाईन गर्न ९ महिना समय लाग्दा पुलको काम १ वर्षपछि मात्र सुरु भएको हो । मूल्य अभिबृद्धि कर र पिएससहित ४० करोड ३४ लाख ८८ हजार ८ सय रुपैँयाको सम्झौता भएको पुल ०८३ सालको जेठ २० गतेभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ । पुल बनाउने ठेक्का एम÷एस सूर्य एण्ड सन्स् प्रालि धरान सुनसरीले पाएको इन्जिनियर देवले बताए ।  

सेक्टरका सूचना अधिकारी इन्जिनियर आविष्कार तिम्सीनाले विभागबाट बजेट निकासा नभएका कारण भुक्तानी रोकिन गएको स्वीकारे । भुक्तानी रोकिएका कारण पनि फटाफट कामले गति लिन नसकेको भन्ने आफुलाई लागेको भन्दै तिम्सीनाले विभागसँग बजेट चाँडो निकासाका लागि पत्राचार र मौखिक आग्रहसमेत गरेको बताए । विभागले बजेट पठाउने भनेकाले केही समयभित्रै निकासा आउने र आएपछि भुक्तानी गरेर कामले गति लिने अपेक्षा इन्जिनियर तिम्सीनाले गरेका छन् ।  

प्रकाशित: ५ पुस २०८१ १५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App