coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

निकास खोसेर विकास चाहँदाको सकस

वर्षाको भेलले बस्ती डुबानमा परेपछि पोखरा–२५ हेम्जाका बासिन्दामाथि आइपरेको सकस। तस्बिरः उमेश पुन/नागरिक

पोखरा महानगरपालिका–२५ हेम्जाको सुइखेत क्षेत्रको बस्ती यसअघि कहिल्यै वर्षायाममा डुबानमा परेको थिएन। अधिक वर्षा हुँदा कुनैवर्ष सिमित क्षेत्र मात्र सामान्य डुबानमा पर्दथ्यो। पानीको निकास सहज हुँँदा हेम्जाको म्याग्दीटोल, सुन्दरपुरी, खहरेटारीका बासिन्दा ढुक्कले निदाउँदे। तर, शुक्रबार रातीदेखि परेको अविरल वर्षाले त्यहाँको ठुलो बस्ती डुवानमा पर्‍यो। डुबानमा पर्दा बिस्थापित भएका गाउँले अझै घर फर्किन सकेका छैनन्।

स्थानीयका अनुसार त्यहाँका करिब तीनसय घरका बासिन्दा डुबानमा परेका छन्। ती मध्ये अझै आधाजति आफन्तकहाँ शरण लिएर बसेका छन्। पोखरा–२५ का वडा सदस्य समेत रहेका स्थानीय सुवाश भण्डारीका अनुसार पहिलोपटक यो आकारमा त्यहाँको बस्ती डुबानमा परेको हो। बस्ती डुबानमा पर्दा गाउँलेलाई सकस भएको उनले बताए। ‘पहिलो पटक यो आकारमा बस्ती डुबानमा परेको छ। यसअघि भीषण वर्षा हुँदा मात्र कहिलेकाँही केही क्षेत्र डुब्ने गरेको भएपनि यो पटक भने अत्यासलाग्दो अवस्था आयो,’ भण्डारीले भने, ‘पहिलापहिला डुबेको क्षेत्रको पानीको निकास खोलिदिएपछि सहजै बग्दथ्यो, यो पटक त्यो अवस्था रहेन।’

भण्डारीका अनुसार पोखरा–बागलुङ राजमार्ग बिस्तारले पनि बस्ती डुबाउन सघाएको हो। त्यो भन्दा बढी सहयोग त जथाभावि भएका प्लटिङ र घर निर्माणले गर्दा डुबानको समस्या निम्तिएको हो। ‘मुख्य राजमार्ग बिस्तार गर्दा उकासियो। त्यसले गर्दा पानीको निकास सहज हुन पाएन। बनेका निकास पनि साँघुरा भए,’ उनले भने, ‘साना कल्भर्टले शुक्रबार रातीको भीषण वर्षापछिको भेललाई थेग्नै सकेनन।’ उनका अनुसार बगेको पानी सहजै सुइखेतसम्म निकास पाउनुपर्नेमा बीचबीचमा अवरोध हुँदा बस्तीमै रोकिएको हो। 

‘राजमार्ग बनाउँदा पनि एउटा समस्या थपिएको रहेछ। त्यो बाहेक अरु समस्या जथाभाविको प्लटिङ र घर निर्माणले यो अवस्था आएको हो,’ उनले भने, ‘विकास गर्दा निकास दिइएन । त्यसको समस्या अहिले अरुले नभई त्यहीका गाउँलेले भोग्नुपरेको छ।’ बस्तीमा पानी संकलन हुँदा धेरै बासिन्दा समस्यामा परेको उनले बताए। करिब तीनसय घर डुबानमा परेकोमा अझै आधाजतिको बसोबास आफन्तकहाँ रहेको भण्डारीले सुनाए। अधिकांश घरको तल्लो तलामा पानी छिरेको उनले बताए।  

भण्डारीका अनुसार डुबानमा परेको क्षेत्र धान र तरकारी खेती हुने ठाउँ हो। पछिल्लो समय त्यहाँ सहरीकरणसँगै घर थपिएका छन। घर थपिने क्रम अझै उस्तै छ। घर बन्ने क्रममा पानीको निकास पनि रोकिएको उनले बताए। ‘सुन्दरपुरीदेखि म्याग्दीचोकमा बढी समस्या भएको हो। राजमार्ग बिस्तार हुँदा पनि नाला पुरिए, प्लटिङ गर्दा पनि नाला पुरियो। पहिलेका ठुुला आकारका नालालाई अहिले साँघुरो बनाइयो,’ उनले भने, ‘पहिलेको निकासलाई बढाउनुपर्नेमा झनै साँघुरो बनाइएको छ। त्यसले गर्दा भीषण वर्षापछिको पानी बग्नै पाएन। ठुलो बनाउनुपर्ने नालाको आकार घटाउँदा यो अवस्था आएको हो।’

उनका अनुसार हिजोको खेतमा अहिले ठाउँठाउँमा घर पनि बनेका छन्। खेत पुरेर घर बनाइएको छ। घर बनाउँदा पानीको निकास पनि रोकिएको छ। त्यसबाहेक म्याग्दीचोक र सुन्दरपुरी पछाडि पहिरो झरेकोले गर्दा पनि क्षति बढी भएको उनले बताए। पहिरोले बगाएर पुरानो नहर (८४ नहर) ठाउँठाँउमा भत्किएपछि नहरबाट बगेर आएको पानी पनि बस्तीमा सोझिएको उनले बताए। ‘नहरमा माथि भाथिको भेल र छहराको पानी मिसिन्थ्यो। वर्षाैपुरानो त्यो नहरले सिंचाई हुँदै आएको थियो,’ उनले भने, ‘पहिरोले ठाउँठाउँमा नहर भत्काइदियो। त्यसपछि नहरको पानी पनि बस्तीतिर सोझियो । पहिरोले नहर पुरिएपछि पानी बस्तीतिर सोझिँदा पनि डुबानमा परेको हो।’  

बगेर आएको सबैतिरको पानी सहजै सुइखेत खोलामा मिसिनुपर्नेमा बस्तीतिरै फर्किएको उनले उनले बताए। ‘निकास सहज हुँदो हो त फुटेको नहरको पानीले पनि खासै जोखिम थप्ने थिएन। तर, यहाँ पानी नै बग्न पाएन,’ उनले भने। ‘घर बनाउँदा नाला मिच्न पाए हुन्थ्यो भन्ने सोँचाई नहटेसम्म यो समस्या दोहोरिन्छ । पानीको निकास मिचिनु, जथाभावि सहरीकरण बढ्नु, प्लटिङ हुनुको कारणले यो समस्या थपिएको उनले बताए।  

पोखरा–२५ का वडाअध्यक्ष मोतीप्रसाद तिमिल्सिेनाले पनि यसअघि कहिल्यै पनि यो बस्ती डुबानमा नपरेको बताए। उनका अनुसार अहिले डुबानमा पर्नुको कारण पानीले सहज निकास नपाउँदा हो। ‘कहिलेकाँही भीषण वर्षा हुँदा सहजै निकास हुन नपाए केही क्षेत्र डुुबानमा पर्दथ्यो। निकास खोलिदिएपछि पानी आफ्नै बाटोबाट बग्थ्यो,’ तिमिल्सिनाले भने, ‘यो पटक भने निकास नपाएरै भेल बस्तीमा पसेको हो।’ उनका अनुसार त्यस ठाउँमा यसअघि बस्ती निकै नै कम थियो। प्लटिङ भएको थिएन। पानीको नाला पनि ठुला थिए। ठाउँठाउँमा नाला राखेर निकास दिँदा कहिल्यै डुबानमा परेको थिए।  

‘अहिले सबैतिरको निकास साँघुरो बनाइएको छ। प्लटिङले नालाको आकार घटाइएको छ। ठाउँठाउँमा बनेका पक्कि घरले पनि पानीको वहाव मोडिएको छ। त्यसबाहेक सडक बिस्तारसँगै नालाको आकार र संख्या पनि घटेका छन,’ तिमिल्सिनाले भने, ‘बस्ती डुबान पर्नुमा अरु नभई मानवीय कारण नै हो। आफैले पानीको बाटो खोसिदिँदा यो समस्या थपिएको हो।’ केहीवर्ष अघिसम्मको धानखेत अहिले बस्तीमा परिणत भएकोले पनि पानीको निकास रोकिएको उनले बताए।  

‘यो पटक पहिरो पनि झ¥या। त्यसबाहेक गाउँमा सिंचाई गराउने ८४ नहर पनि ठाउँठाँउमा फुट्यो । फुटेपछि नहरको पानी पनि बस्तीतिर सोझियो,’ उनले भने, ‘पानीको बाटो रोकिएपछि यो अवस्था आएको हो।’ उनका अनुसार डुबानको यो समस्या आउनुमा अरु कोही नभई स्थानीयबासि नै कारक हुन्। ‘जथाभावि प्लटिङ भएकै छ। हिजोका बढेमानका ह्यूम पाइप झिकेर सानो पाइप हालिएको छ। कतिपय ठाउँको निकास नै खोसिएको छ,’ उनले भने, ‘अब पनि सचेत नहुने हो भने आगामि दिनमा अरु समस्या थपिन सक्छन्।’  

यसैबीच पोखरा महानगरका मेयर धनराज आचार्यले वर्षाका कारण आउन सक्ने बिपद्को जोखिमबाट जोगिन थप सजगता अपनाउन नगरवासीलाई आग्रह गरेका छन्। आइतबार अपिल जारी गर्दै मेयर आचार्यले पोखराका विभिन्न ठाउँमा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका घरमा क्षति पुगेको, सडक भासिएको, ग्रामिण तथा सहरी सडक समेत अवरुद्ध हुन पुगेको र ती समस्या समाधान गर्ने तथा राहत र उद्दारमा सहजीकरण भईरहेको बताएका छन। अपिलमा मेयर आचार्यले बाढी, पहिरो र डुबान लगायतका कारण उत्पन्न विपदमा बढी जोखिम हुने हुँदा थप सजगता अपनाउन, पूर्व सूचना–संकेतका आधारमा जोगिने उपाय खोज्न आग्रह गरेका छन्।  

प्रकाशित: १२ असार २०७९ १२:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App