८ वैशाख २०८१ शनिबार
समाज

पोखरा महानगरको नीति तथा कार्यक्रमः हरेक वर्षको पहिलो ६ महिनामा तीन हजार रोजगारी (पूर्णपाठसहित)

‘बारीदेखि बजारसम्म, गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गरिने

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर धनराज आचार्य। तस्बिरः उमेश पुन/नागरिक

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीनहजार रोजगारी थप गर्ने योजना सहित पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। महानगरका प्रमुख धनराज आचार्यले सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना संचालन गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।  

हरेक आर्थिक वर्षको पहिलो ६ महिनामा तीनहजार रोजगारी थप गर्ने योजनाका साथ १२ कक्षा अध्ययन सकेका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरेनरी, ईम्व्रोइडरी, ग्राफिक्स र वेबपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने मेयर आचार्यले बताए।  

‘दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम संचालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पोखरा महानगरपालिकामा रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथा निजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आवद्ध गरिनेछ।’ त्यस्तै न्युनतम रोजगारीको प्रत्याभूति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिकाको विकास निर्माण कार्यलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिने आचार्यले बताए।  

त्यसैगरि कृषि उत्पादनको बजारीकरण, मूल्यश्रृंखला र भण्डारण सहयोगका लागि ‘बारीदेखि बजारसम्म, गोठ देखि ओठसम्म’ अभियान सञ्चालन गरिने पनि नीति तथा कार्यक्रमले समेटेको छ। कृषि उपज संकलन केन्द्र र कृषि बजार मार्फत स्थानीय कृषि उपज बिक्री बितरण सुनिश्चित गरिने मेयर आचार्यले बताए। कृषि उपजको उचित मूल्य र बजार पहुँचको लागि कृषि उत्पादन व्यवस्थापन प्रणाली सञ्चालन गरिने पनि यसमा उल्लेख छ। प्राकृतिक तथा अन्य कारणले बालीमा पुग्न सक्ने क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान सूचना प्रणालीको व्यवस्था मिलाउँदै कृषि बीमालाई पनि महानगरको नीतिले प्राथमिकता दिएको छ  

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकार समक्ष यसअघि नै अनुरोध गरिसकेको र पर्यटकको बसाइ अवधि बढाउन पर्यटकीय गतिविधि बढाउने पनि महानगरको नीतिमा समेटिएको छ  पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यहाँको प्याराग्लाईडिङ बिस्थापित हुने भएपनि महानगरले प्याराग्लाइडिङलाई पोखराभित्रै संचालन गर्न पहल गर्ने पनि बताएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आगामि जनवरी १ अघि नै पोखराको आकाशबाट प्याराग्लाईडिङ हट्नुपर्ने बताईसकेको छ।

पोखरामा निर्माण भएर पनि व्यवस्थापन नभएको पर्यटक बसपार्क व्यवस्थापन पनि महानगरले गर्ने नीतिमा समेटिएको छ। त्यस्तै सभा, सम्मेलन, गोष्ठि (माइस टुरिजम) जस्ता पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम मार्फत पोखराको पर्यटन विकासमा अभियान चलाउने महानगरको नीति रहेको प्रमुख आचार्यले बताए। त्यस्तै लेकसाइड बाहेक वेगनासताल तथा अन्य पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण तथा प्रचारप्रसारमा पनि महानगरले जोड दिने नीतिमा उल्लेख छ।  

‘पर्यटनका थप गन्तव्य ‘केभ टु केभ,’ ‘लेक टु लेक,’ कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पोखरालाई धार्मिक पर्यटनको क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी–पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिनेछ ।’लामो समयदेखि बन्द रहेको र यहाँका पर्यटन व्यवसायीले माग गरिरहेको हिमागृह र रत्नमन्दिर खुलाउन महानगरले पहल गर्ने बताएको छ। प्रदेश सरकारसँगको समन्वयमा हिमागृह र रत्नमन्दिर व्यावसायिक तवरले खुला गर्न पहल गर्ने नीतिमा समेटिएको छ।  

पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गर्ने महानगरले बताएको छ। फेवातालदेखि विमानस्थलसम्मको ६ किलोमिटर सडक अहिले साँधुरो बनिसकेको छ। सडकमा सवारी चाप बढ्दा अहिले यो खण्ड निकै नै व्यस्त हुने गरेको छ। यहाँका व्यवसायीले लामो समयदेखि लेकसाइडदेखि विमानस्थलसम्म आउजाउ गर्न वैकल्पिक सडकको माग गरिरहेका छन। तर, अहिलेसम्म त्यसको खाका समेत कोरिएको छ।  

लामेआहालमा अत्याधुनिक बस टर्मिनल, मध्य पहाडी र सिद्धार्थ राजमार्ग जोड्न वाइपास रोड तथा पृथ्वी राजमार्गको बैकल्पिक मार्गको रुपमा विरौटा–कोत्रे सडकलाई प्राथमिकता दिई तयारी गर्ने पनि महानगरको नीतिमा छ। निर्वाचनको बेला सबै राजनीतिक दलले यी मुद्धालाई प्राथमिकता दिएर घोषणापत्रमा समेटेका थिए।

आगामी दुई वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोन र अन्य तार हटाई भूमिगत अप्टिकल फाइवर जडान गर्ने पनि महानगरको नीतिमा उल्लेख छ। विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरी शहरी जोखिम न्युन गरिने महानगर प्रमुख आचार्यले नीति तथा कार्यक्रममा समेटेका छन्। अहिले छरपस्ट तारका कारण पोखराको सौन्र्दता गुमेको गुनासो पोखरेलीको छ।  

शहरको मुख्य बजार क्षेत्रमा राजमार्ग पर्ने भएकाले सडक जामको अवस्थावाट नागरिकले सास्ती भोग्नु परेकोले यसको दीर्घकालिन समाधान गर्न आगामी वर्षभित्र पृथ्वीचोकमा अण्डरपास तथा फ्लाइ ओभरको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।  

नेपाल भित्रिएका मध्ये करिब ४० प्रतिशत विदेशी पर्यटक पोखरा आउने अनुमान रहेको भन्दै महानगरले पर्यटकलाई पोखराभित्रका सबै पर्यटकीय स्थल पु¥याउने गरि पूर्वाधार बनाउने पनि नीतिमा समेटेको छ। फेवातालबाट नयाँ एअरपोर्ट हुँदै वेगनासतालसम्म फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरिने पनि नीतिमा उल्लेख छ। यातायात व्यवस्थापनका लागि ट्राम, सटल बस र विद्युतीय बसको रुट लगायतका ‘मास ट्रान्सपोर्टेसन’ का सवारी संचालन गर्न अध्ययन गर्ने पनि नीतिमा उल्लेख छ।

 ट्राफिक र पार्किङ स्थलको उचित व्यवस्थापन गरिने पनि नीतिमा जनाइएको छ। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि बाधक मानिएको ल्याण्डफिल साइट व्यवस्थापनमा पनि महानगरले चाँसो देखाएको नीति तथा कार्यक्रममा समेटिएको छ। ल्याण्डफिलसाइट सार्न नसक्दा तयार भएको विमानस्थलबाट पनि उडान र अवतरण संचालन हुन सकेको छैन।  

पोखरा महानगरको नीति तथा कार्यक्रमकाे पूर्णपाठ हेर्न यस लिंकमा क्लिक गर्नुहाेस्।

प्रकाशित: ८ असार २०७९ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App