२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नुन बोक्ने बाटोमा गाडी सरर...!

पाँचथरको फिदिम नगरपालिकामा पर्ने माझीटारमा रहेको तमोर करिडोर सडक। तस्बिरः गिरिराज/नागरिक

हिलिहाङ गाउँपालिका अमरपुरका लक्ष्मीप्रसाद लिङदेनलाई धरान नुन बोक्न गएको सम्झना ताजै छ। गाउँबाट घिउ लिएर धरान पुगी नुन साटेर घर फर्कंदाको दुःखको सम्झना उनीसँग छ।

तमोर नदीको किनारैकिनारै धरान पुगेर नुन तथा मट्टीतेल ल्याउनु पथ्र्यो। गडतिरको बाटो भएर धरान नुन बोक्न गएको सम्झना धेरै बूढापाका गर्छन्। नुन बोक्न भारतको विजनबारीतिर पनि जाने गरेको बूढापाका बताउँछन्। सिमानाभन्दा टाढा भएका तथा हिउँ पर्ने भएकाले धेरैजसो तमोरको किनारैकिनार धरान पुग्थे। तीसको दशकमा यसरी भारी बोक्ने हिँडेर धरान गएका लिङदेनको घरनजिकबाट धरान जाने गाडी चल्छ।

यसरी पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दा धरान भारी बोक्न जाने गरेको बाटोमा सडक बनेको छ।

गणेशचोक–मूलघाट– चतरा (तमोर करिडोर) सडक बनेपछि पूर्वीपहाडसँग तराई नजिकिएको छ। पछिल्लो वर्ष ट्र्याक सम्पन्न भएसँगै धेरैको रोजाइको बाटो बनेको छ। ताप्लेजुङ, पाँचथर र तेह्रथुमका बासिन्दा यही बाटो भएर धरान, धनकुटा र विराटनगरको यात्रा तय गर्छन्। पूर्वीपहाडको ‘लाइफ लाइन’ का रूपमा यो सडकलाई लिइन्छ।

‘घरैबाट सातु तथा चामल बोकेर जान्थ्यौं। पुग्न ६ दिन लाग्थ्यो। गाउँबाट लगेको घिउँ साटेर नुन ल्याउँथ्यौं। पुगेर आइपुग्दा १५–१६ दिन लाग्थ्यो। रूखका फेदमा आगो फुक्यो, पकाएर खायो। यो बाटोमा सामान बोक्न हिँड्नेको दोहोरी लता हुन्थ्यो,’ लिङदेनले सुनाए, ‘अहिले त यहींबाट गाडी जान्छ। गडतिरको बाटोमा सडक बनेपछि त गाडी पो धेरै चल्छन्। पाँच घन्टामा पुगिन्छ रे। केटा (छोरा) को गाडी छ। यो पालीको हिउँदमा गाडीमा सरर धरान जानु छ।’

टंक ढकालको सम्झना रमाइलो छ। १३ वर्षको उमेर बाउसँग गोठ बस्न गएका बेला भागेर हिँडेका थिए। आफूभन्दा जेठा साथीसँग लागेर सुनसरी इटहरीको गछिया भन्ने ठाउँमा भागेर गएका थिए। पाँच दिनमा पुगें। ‘तमोरको किनारैकिनार भागेर गइयो। अहिलेको जस्तो फोन कहाँ थियो र? बाटोमा मान्छे बाक्लै हिँड्थे। त्यसपछि हामी धेरैपल्ट हिँडेर गयौं,’ ढकालले भने, ‘यसरी सडक बन्ला भन्ने लागेको थिएन। अहिले त बिहान धरान गएर फर्किन भ्याउँछन्। यो बाटो कालोपत्रे हुदाँ त झन् सुविधा हुने छ।’

स्याबरुम्बा भन्ने ठाउँसम्म उनीहरू हिँडेभन्दा केहीमाथि सडक बनाइएको छ। प्रस्तावित तमोर जलाशययुक्त आयोजना बन्दा असर नपरोस् भनेर सडक केही माथि सारिएको हो।

पाँचथरको गणेश चोकदेखि सुनसरीको बराह क्षेत्रसम्म ग्राबेलस्तरको सडक बनेको छ। गणेश चोकदेखि १ सय ५८ किलोमिटरमा चतरा पुगिन्छ। सडकको ट्र्याक खुलेसँगै ताप्लेजुङ र धनकुटाका विभिन्न गाउँबाट तराई झर्ने गाडी चल्न थालेका छन्। धनकुटाको साँगुरीगडी, चौबिसे, पाँचथरको तुम्बेबा, कुम्मायकका बासिन्दा फुत्त तराई पुग्छन्। ताप्लेजुङ सदरमुकाम, फिदिमबाट यही बाटो भएर गाडी छुट्छन्। विभिन्न गाउँलाई यो सडकले जोडिदिएो छ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको फिदिम कार्यालयले ट्र्याक खोल्ने काम हेरेको थियो। अब कालोपत्रे गर्नका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरिएको छ। कच्ची सडक भएकाले बर्खामा केही समस्या हुने छ। मध्यपहाडी लोकमार्ग फिदिम कार्यालयका आयोजना प्रमुख दानकुमार शाक्यका अनुसार अवरुद्ध हुने सक्ने ठाउँमा नजिकै मेसिन राखिएको छ। ‘कच्ची सडक भएकाले बर्खामा समस्या हुने गर्छ। धनकुटाका केही ठाउँमा समस्या छ,’ शाक्यले भने, ‘सडक डिभिजन कार्यालय धनकुटालाई भनेर मेसिन राखेका छौं।’

शाक्यका अनुसार ट्र्याक खोल्ने काम सकिइसकेको छ। कागजी प्रक्रिया असार मसान्तसम्ममा सकिने शाक्ले बताए।  

यो सडकले सुविधा दिएको छ। प्रदेश र संघीय राजधानी र ठूला अस्पताल भएको ठाउँ जाने बाटो छोटिएको छ। यही भएर अहिले रोजाइको बाटो बनेको छ। केही ठाउँमा राम्रोसँग मर्मत हुन सके बर्खामा पनि गाडी चल्ने यातायात व्यवसायी धनेश्वर गजुरेल बताउँछन्।

यो सडक कालोपत्रका लागि पनि प्रक्रिया अघि बढेको छ। असार मसान्तसम्ममा ठेक्का खुलाउने गरी काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताए। ‘हाम्रा बाउले नुन तथा समान बोक्न प्रयोग गर्ने बाटो थियो। अहिले यो सडक बनेपछि धेरै सुविधा थपिएको छ। यो क्षेत्रको महत्वपूर्ण सडक भएकाले कालोपत्रे गर्ने काम प्राथमिकतामा परेको छ,’ नेपालीले भने, ‘गणेशचोक नजिकबाट मूलघाटसम्मको १ सय १० किलोमिटर खण्डमा कालोपत्रे गर्ने तयारी भएको छ।’

गणेशचोक नजिकैबाट मूलघाटसम्म कालोपत्रे गर्ने तयारी छ। मूलघाटमा कालोपत्रे सडक भेटिन्छ। मूलघाट–चतरा जोड्ने सडकको कालोपत्रे गर्ने काम भने प्राथमिकतामा छैन।

तमोरनजिकै फराकिलो सडक बनेपछि यी जिल्लाका बासिन्दालई सुविधा मात्र थपिएको छैन; सडकआसपास घर बनाउने र होटेल खोल्ने क्रम पनि बढ्दै गएको छ। यीमध्ये एक हुन्, स्वाबरुम्बाका रामकुमार घिसिङ। उनको घर झापा हो। उनले लुमुघाटनजिकै जग्गा किनेर घर बनाएर होटल व्यवसाय थालेका छन्। ‘यो सडक बनेपछि व्यवसाय चल्छ भनेर थालेको हुँ,’ उनले भने, ‘सडकले छोएका जग्गाको भाउ त छोइसक्नु छैन।’

यो सडकमा पर्ने नौवटा पुलका लागि ठेक्का अघि बढेको नेपालीले जानकारी दिए। यो सडकको ट्र्याक खोल्न ६ अर्ब १५ करोड १४ लाखमा ठेक्का लागेको थियो। केही ठाउँ रुट परिवर्तन हुँदा लागत केही बढेको बताइएको छ।

नेपाल–चीन सिमाना ताप्लेजुङको टिप्ताला जोड्ने सडक पनि यहींबाट अघि बढ्छ। पाँचथरको सुभाङखोला भएर अघि बढ्छ। यसले गर्दा पनि यो सडक महत्वपूर्ण मानिन्छ।

प्रकाशित: ७ असार २०७९ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App