२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मनाङको दुखः वर्षा लाग्यो, डरैडरमा रात बित्छ

मनाङको तालगाउँ। पोहोर बाढीबाट प्रभावित भएको यो बस्तीका बासिन्दा अहिले पनि त्रासमै छन्। फाइल तस्बिरः नागरिक

अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्‍यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्‍यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त भए नै मनाङ जोड्ने एकमात्र मुल सडक अवरुद्ध हुँदा महिनौं यातायात ठप्प भयो। हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरेर जिल्लाबासीले महिनौं गुजारा चलाए।  

एक वर्षअघिको बाढीबाट बिस्थापित बासिन्दा अहिलेको वर्षायाममा पनि उत्तिकै त्राहिमाम छन्। कुनबेला बाढी आउने हो भनेर उनीहरु त्रसित अवस्थामा छन्। अरुतिर भन्दा कम पानी पर्ने हुँदा हिमाली जिल्ला मनाङका बासिन्दाले बाढीपहिरोको खासै कहर खेप्नुपरेको थिएन। तर, पोहोरको वर्षापछि जिल्लाबासिले चैनको सास फेर्न सकेका छैनन्। उनीहरु भन्छन, ‘फेरि वर्षा लाग्यो। यो पटक के हुने हो। पोहोर नपत्याएको खोलाले बगायो। अहिले पनि डरैडर छ।’

अघिल्लो पल्टको बाढीले सबैभन्दा बढि प्रभावित भएको नासों गाउँपालिका–१ तालगाउँको बस्ती हो। नासों गाउँपालिका–१ का पूर्व अध्यक्ष झलकबहादुर गुरुङका अनुसार अहिले पनि गाउँले त्रसित छन्। पोहोरजस्तो बढी पानी नपरेको भएपनि मनसुनको समय अझै बाँकी रहेकोले गाउँलेहरु त्रसित अवस्थामा रहेको उनले बताए। ‘अहिलेसम्म केही भएको छैन। अझै तीन महिना के हुने हो भनेर कसैले भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘भीषण वर्षा हुने समय अझै बाँकी रहेकोले पनि जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने त्रास छ।’  

अघिल्लो  पटकको वर्षायामको त्यो बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा परेका थिए। तालगाउँमा ४३ घर छन। मस्यार्ङदी नदी किनारसँगैको बस्ती तालगाउँका अधिक घरमा बाढी पसेको थियो। गाउँलेहरु महिनौं अन्यत्र शरण लिएर बसेका थिए। पूर्व अध्यक्ष गुरुङका अनुसार पोहोर बिस्थापितहरुले जसोतसो घर बनाएपनि बाढीको त्रास भने नघटेको उनले बताए। उनका अनुसार तालगाउँको बस्ती जोगाउन मस्यार्ङदी नदीमा बस्तीलाई ढाक्ने गरि तटबन्ध बनाइएको छ। ‘सामान्य बाढी आउँदा पनि तालको बस्तीमा पस्ने त्रास थियो। यो पटक अहिलेसम्म सुरक्षित छौ। तर, अबका दिन भन्न सकिन्न। त्रास भने घटेको छैन,’ उनले भने।

नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ अहिले पनि पोहोरकै झैं स्थानीय बासिन्दामा त्रास भएको बताउँछन्। ‘खोला किनारका बासिन्दा सबै डरैडरमा बसेका छन्। पानी पर्न पनि थालेको छ। त्यसपछि त झनै त्रास छाएको छ,’ उनले भने,‘नदि किनारका बासिन्दामा बढी त्रास छ। उनीहरु तत्कालै बस्ती छाडेर अन्यत्र जाने अवस्था पनि छैन।’ उनका अनुसार तालगाउँका बासिन्दा पोहोरको जस्तै हुने हो की भन्ने बढी त्रासमा छन्।  

तालगाउँ जोगाउनकै लागि २ करोड ३५ लाख रुपैयाँको लागतमा मस्यार्ङदीमा पर्खाल लगाएपनि त्यो सबै पर्याप्त नभएको उनले बताए। ‘करिब दुइसय मिटर लामो पर्खाल लगाइएको छ। त्यसले केही राहत दिएको छ। तर खोलाको किनार नै दुइकिलोमिटर जति भएकोले ढुक्क भने हुन सक्ने अवस्था छैन,’ उनले भने। त्यसबाहेक पोहोरको घटनाबाट सिक्दै गाउँलेलाई सुरक्षित रहन र केही महिनाका लागि खाद्यान्न मौज्दात राख्न आग्रह गरेको उनले बताए।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार विपद जोखिम न्यूनीकरणका लागि उपकरण भित्र्याउनेदेखि भत्किएका पुल निर्माण गर्ने काम यो बीचमा गरिएको छ। अहिले पनि मस्र्याङदी नदी किनारमा बस्ती जोगाउने काम भईरहेको उनले बताए। मस्र्याङदीको जोखिम भएको ठाउँमा नदी नियन्त्रणका लागि काम भईरहेको उनले बताए। त्यसबाहेक तल्लो क्षेत्रमा पर्ने लम्जुङ, गोरखा र तनहुँसँग पनि समन्वय गरिएको प्रजिअ आचार्यले बताए।  

‘मनाङ माथिल्लो भेगमा पर्ने भएकोले बाढीपहिरोले तल्लो खण्डमा पनि क्षति पुर्‍याउँछ। त्यो बेला तल्लो भेगमा सूचना दिनेगरि हामीले तयारी गरेका छौ। त्यसबाहेक खोज, उद्धार र राहतका लागि एकले अर्का जिल्लालाई सहयोग गर्ने पनि समन्वय गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिमेकी जिल्लाको सहयोगमा जनशक्ति परिचालन गर्ने हो।’ उनका अनुसार डुम्रे–बेशीसहर–चामे सडकले तीनवटा जिल्ला (तनहुँ, लम्जुङ  र मनाङ) लाई छुने भएकोले तिनवटै जिल्लाले सडकलाई संचालनयोग्य अवस्थामा राख्ने गरि समन्वय गरेको पनि आचार्यले बताए।  

त्यस्तै विपद् पूर्वसूचना प्रणालि जडान गर्नका लागि गृहमन्त्रालयमा अनुरोध गरेको उनले बताए। उनका अनुसार पूर्व सूचना प्रणालि कहाँ र कहिले राख्ने भन्ने यकिन नभएपनि मनाङको माथिल्लो भेगमा रहनेछ। प्राविधिक रुपमा उपयुक्त ठाउँ छानेर पूर्व सूचना प्रणालिका पूर्वाधार राख्नेगरि गृहमन्त्रालयसँग समन्वय भईरहेको उनले बताए। ‘प्राविधिक हिसाबले मनाङको कुन ठाउँमा राख्ने भन्ने हेर्नेछौ,’ उनले भने। त्यसबाहेक विपद् आइपरेमा प्रभावित बासिन्दाका लागि पनि व्यवस्थापन तयारी गरिएको उनले बताए। प्रजिअ आचार्यका अनुसार प्रभावित दुइसयजनाका लागि खान र बस्नका लागि व्यवस्थापन गरिएको छ। त्यो व्यवस्थापभित्र एकमहिनाका लागि आवश्यक खाद्यान्न जोहो गरिएको छ। सुत्ने सामाग्री भने ६ महिनासम्मका लागि पनि पुग्ने उनले बताए।  

अघिल्लो पटक वर्षाले क्षति गर्दा ठाउँठाउँमा संचार सेवा पनि अवरुद्ध भएको थियो। आगामि दिनमा त्यस्तो समस्या नदोहोरियोस भनेर स्याटेलाइट सिस्टमको संचार उपकरण पनि तयारी अवस्थामा राखेर केन्द्रीय सरकारका विभिन्न निकायसँग संचार कायम गर्नेगरि तयार पारेको पनि उनले बताए। त्यस्तै पोहोर बिस्थापित भएकालाई सकेसम्म सुरक्षित ठाउँमा बस्न भनिएको छ।

नदी किनारको नजिक घर बनाउन रोक लगाउनका लागि स्थानीय तहलाई निर्देशन दिइएको  पनि उनले बताए। ‘पोहोरकै त्रास त छ। तर, पनि हामीले सकभर क्षति नहोस भनेर सबैलाई सचेत गराएका छौ,’ उनले भने, ‘स्थानीय तहसँग पनि त्यही अनुसार समन्वय भएको छ।’ उनले सबैभन्दा बढी जोखिममा परेको तालगाउँको बस्ती जोगाउन त्यहाँ पर्खाल लगाइएको पनि जानकारी दिए। 

प्रकाशित: ६ असार २०७९ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App