८ वैशाख २०८१ शनिबार
समाज

आकाशे पानीको पुकार गर्दै शिवको शरणमा कृषक

पानीको माग गर्दै महादेवको मन्दिरमा गाईको दुध चढार पूजापाठ गर्दै थारु महिलाहरु।

जेठ सकरे असार महिना सुरु भइसक्दा नेपालका पहाडीलगायत अन्य स्थानमा पानी परे पनि कपिलवस्तुमा वर्षा नहुँदा कृषकहरु चिन्तित बनेका छन्। आकाशमा कालो बादल लागेर मेघगर्जन हुँदा समेत पर्याप्त वर्षा नहुँदा कृषकहरु चिन्तित बनेका छन्।

वर्षा नहुँदा धानको बीउ समेत छर्न नपाएर चिन्तित बनेको यहाँका कृषकहरु पानीको माग गर्दै तौलिहवास्थित तालेश्वर महादेवको मन्दिरमा पूजापाठ गरेका छन्। धान रोप्ने समयमा बीउ समेत छर्न नपाएर आत्तिएका कृषकहरु पानीको पुकार गर्दै सो मन्दिरमा पुगेका हुन्।

सो मन्दिरमा दिनहुँ जसो जिल्लाका विभिन्न स्थानबाट हजार बढी भक्तजनहरु पानीको पुकार गर्दै आउने गरेको मन्दिर व्यवसथापन समितिका अध्यक्ष शिवकुमार कसौधनले बताए। ‘प्रायः जसो सोमबारका दिन भीड लाग्ने मन्दिरमा अहिले भने पानीको माग गर्दै दैनिक हजार बढी भक्तजनहरु आइरहेका छन्।’

जेठ बितिसक्दा पनि पानी नपरेपछि विशेष गरेर जिल्लाको उत्तरी भेगमा पर्ने आधा दर्जन गाउका थारु महिलाहरु मन्दिरमा आउने गरेका छन्। ट्याक्टर बस, साइकल मा चढेर कोपवा, हथौसा, बुढ्ढी, गजेहडा, मार्मा बक्डरीया तिलौराकोट, निग्लिहवालगायत गाविस महिलाहरु मन्दिरमा पूजापाठका लागि आउने गरेका छन्।

शिवको प्यारो महिना साउनमा भक्तजनहरुको लाग्ने भीड मन्दिरमा अहिले नै देखिएको छ। थारु महिलाहरुले विशेषतः मन्दिरभित्र रहेको शिवलिङमा गाईको दुध चढाएर पूजापाठ गर्ने गरेका छन्। वर्षाको कामनाका लागि शनिबार गाउँका २ सय बढी महिलाहरुसँग मन्दिरमा पुगेकी बुद्धभूमी नगरपालिका–२ बक्डरीया गाउँकी महाराजी थारुले मन्दिरमा एक लिटर दुध चढाएर पूजापाठ गरेको बताइन्।

‘जेठ बित्दा समेत पानी परेन, बीउ समेत छर्न पाइएन, त्यसैले शिवको शरणमा पुगेका हौँ,’ उनले भनिन् ‘शिवजीले हाम्रो कामना अवश्य सुन्नु हुन्छ, केही दिन मै वर्षा हुन्छ।’ यस्तै २० किलोमिटर यात्रा तय गएर शनिबार मन्दिर पुगेकी बाणगंगा नगरपालिका–३ गंगालीया गाउँकी मुरिया थारुले आफुहरुको पुकार सुनेर भगवान शंकर पानी पार्ने विश्वास व्यक्त गरिन्।

‘पानी नपर्दा यसरी नै पुस्तौदेखि शिवको शरणमा पूजापाठ गर्ने परम्परा रहेका बताउँदै उनले अबको एक हप्ता भित्रै शिवले वर्षा गराएर आफूरुको कामना पूरा गर्ने बताइन्। केही दिन यता आकाशमा कालो बदाल देखिएर पानी पर्ला जस्तो भए पनि वर्षा भने हुन सकेको छैन। जसले गर्दा मुठी छरेर मानो फलाउने आश लिएर बसेका कृषकरु चिन्तित बनेका छन्।

जिल्लाको कुल खेतीयौगय जमिन मध्ये ७२ हजार हेक्टरमा धान खेती गरिने भए पनि २० प्रतिशतको हाराहारीमा मात्र सिंचाई सुविधा रहेको कृषि ज्ञान केन्द्रे जनाएको छ। लामोसयको खडेरीले नदीनाला, पाखेरी, कुलो ,नहरमा पानी सुकेकोले समेत कृषकरु थप मर्कामा परेका छन्। गतवर्ष जेठ अन्तिमबाट रोपाई सूरु भएको थियो तर यसवर्ष कृषहरुले छिटफुट बाहेक बीउ समेत छर्न पाएका छन्।

उता जिल्लाँको विभिन्न स्थानमा रहेका शिवमन्दिरहरुमा पानीको माग गर्दै अखण्ड किर्तन समेत सुरु गरिएको छ। गाउँ गाउँमा भक्तजनहरु जम्मा भइ पानीको माग गदै भजन, किर्तन, पूजापाठ गर्ने गरेका छन्। पूजापाठ, किर्तनले समेत पानी नपरे जिल्लामा भ्यागुताको बिवाह गराउने, महिलालाई हलो जोत्न लगाउने चलन छ।

प्रकाशित: ४ असार २०७९ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App