४ वैशाख २०८१ मंगलबार
समाज

पानी अभावमा रन्थनिँदै ब्राह्मण र शाही बस्ती

फाइल तस्बिर।

हिउँद र बर्खा लाग्यो कि पचालझरना गाउँपालिका ५ राम्नाकोटका बासिन्दालाई पिरलो थपिन्छ। खोनेपानीको जोहो कसरी गर्ने ? एक गाग्री पानीको पालो कुर्दा बिहानको समय बित्छ।

नजिक पानीको मुहान छैन। भएका धारामा पनि बिहान र बेलुका छोटो समय पानी खस्छ। गृहिणीहरू डोकोमा गाग्री बोकेर धारामा धाउँछन्। घन्टौं कुरेर खानेपानी जोहो गर्छन्। कष्ट व्यहोर्दै घर फर्कन्छन्। पचालझरना गाउँपालिका ५ राम्नाकोटस्थित ब्राह्मण टोल र शाही टोलका ६७ घरधुरीको खानेपानी संकट आजको भने होइन।

वर्षौंदेखि गाउँलेले खानेपानी समस्या झेल्दै आएको स्थानीय कर्णप्रसाद आचार्यले बताए। ‘पानी अभाव हुँदा खाना पकाउनदेखि शौचालय जानसम्मलाई समस्या छ’, उनले भने। खानेपानी समस्याले वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत सार्वजनिक स्थल पनि प्रभावित छन्।

२०७४ सालको चुनावमा खानेपानी, सडक, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने भन्दै प्रतिबद्धता गरेका जनप्रतिनिधिले हालसम्म ब्राह्मण टोल र शाही टोलका समस्या समाधान नगरेको स्थानीयको गुनासो छ। २०६५ सालमा राखिएका पाइपलाइन बाढीपहिरोका कारण विच्छेद भए पनि नागरिकले टालटुल गर्दै पानी खाइरहेका छन्।

वडा नं ५ का रत्नलाल आचार्यले सिँचाइको व्यवस्था गरेर रोपाइँ तथा अन्य खेती गर्ने विषय सपनाजस्तै लाग्ने गरेको बताए। ‘आकाशे पानीका भरमा मकैलगायतका अन्य बाली लगाउँछौं, आफ्नै वडाका अन्य टोलमा असारे रोपाइँ सुरु हुन्छ, तर ब्राह्मण टोल र शाही टोलका ६७ घरधुरीले भने रोपाइँ गर्ने अवसर कहिल्यै पाएन’, उनले भने। पिउने, चौपायालाई दिने र शारीरिक सरसफाइ गर्न चाहिने पानीमा ठूलो समस्या छ।

यस्तै पानी समस्या जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका १ मा पनि छ। यहाँका नागरिकलाई पिउने पानी समस्या हुँदै आएको वर्षौं भयो। सदरमुकाम मान्मा बजार अस्तव्यस्त छ, पाइपलाइन अव्यवस्थित छन्, फोहोरले बजार दुर्गन्धित छ। नयाँ जनप्रतिनिधिले चासो नदिँदा यस्तो भएको स्थानीय विनोद खड्काको भनाइ छ।

प्रकाशित: १ असार २०७९ ०५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App