४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सवस्टेशनमा चट्याङ पर्दा १८ घण्टादेखि उदयपुर अन्धकारमा

नेपाल विद्युत प्राधिकरणको सिराहाको लाहानस्थित सवस्टेशनमा गएराति चट्याङले क्षति गर्दा लाहान बजारसहित उदयपुर सदरमुकाम गाईघाटलगायत सिंगो जिल्ला १८ घण्टादेखि अन्धकारमा छ। सोमबार मध्यराति गड्याङगुडुङ गर्दै चलेको हावाहुरी र वर्षासँगै परेको चट्याङले लाहान बजारस्थित प्राधिकरणको सवस्टेशनमा क्षति पुगेकाले उदयपुरवासी यतिका समयसम्म अध्याँरोमा बस्न बाध्य भएका हुन्।

चट्याङ परेर सवस्टेशनमा प्राधिकरणको महत्वपूर्ण यन्त्र उपकरणमा क्षति गरेकाले त्यतिबेलादेखि नै विद्युत आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणका उदयपुर वितरण केन्द्र प्रमुख पञ्कजकुमार गोईतले बताए। उनका अनुसार हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सवस्टेशनको उपकरणमा निकै ठूलो क्षति गरेकाले विद्युत अवरुद्ध भएर जनजीवन प्रभावित बन्न पुगेको हो।  

सवस्टेशनमा क्षति गरेपछि विद्युत आपूर्ति बन्द हुदा सदरमुकाम गाईघाट, बोक्सेस्थित सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्थाहरु र अन्य नियमित कामकाज गर्ने निकायहरु नराम्ररी प्रभावित भएका छन्। राति पानी परे पनि विहानदेखि लागेको चर्को घामले गर्मी अत्याधिक बढेको र विद्युत अवरुद्ध भएर पंखा, फ्रिज र कुलर तथा एयर कन्डिसन (एसी) चलाउन नपाउँदा जनजीवन अझ बढी प्रभावित हुन पुगेको भुक्तभोगीहरु बताउँछन्।  

सवस्टेशनमा चट्याङले पुर्‍याएको क्षति मर्मत गर्न विहानैदेखि प्राविधकरणका इन्जिनियरलागयत प्राविधिक टोली घट्नास्थलमा खटिरहेका छन्। तर, पनि मर्मत गर्न निकै लामो समय लाग्ने कार्यालय प्रमखु गोईतले बताए। ‘सवस्टेशनमा चट्याङले बिगारेका यन्त्र उपकरणहरुको मर्मत गर्ने काम विहानैदेखि भईरहेको छ,’ सवस्टेशन कार्यालय लाहानलाई उद्धृत गर्दै प्रमुख गोईतले भने, ‘इन्जिनियर साव, इलेक्ट्रिसियनहरुको टोली पूरै खटिरहेको छ। तर, निकै ठूलो क्षति भएकाले पूरै मर्मत गर्न अलि लामो समय लाग्ला।’  

मर्मत गर्न समय लाग्ने भएपछि तत्काललाई मंगलबार दिउँसोदेखि सोलु करिडोरको विद्युत उदयपुरमा मंगलबार दिउँसो ४ः३० बजेदेखि आपूर्ति गरिएको छ। सवस्टेशन नै बिग्रेपछि कुलेखानीको मुल लाईनको विद्युत तत्काल सुचारु गर्न असंभव भएको भन्दै ओखलढुंगाको विद्युत सोलु करिडोरमार्फत खोटाङको दिक्तेल भएर उदयपुरमा आपूर्ति गरिएको गोईतले बताए।  

गोलु करिडोर अन्तर्गत ओखलढुंगाको विद्युत खोटाङको हलेसी, दिक्तेल, भँडारे, रसुवा, अँधेरी, साउने हुँदै गाईघाटमा आपूर्ति गरिएको हो। कुलेखानीबाट लाहान–गाईघाट हुँदै खोटाङ जोडिएको गाईघाट–साउने–रसुवा–दिक्तेल–हलेसी खण्डको विद्युत विस्तार लाईनबाटै सोलु करिडोरको विद्युत गाईघाट ल्याएर सामान्य काम चलाउ बालेको प्राधिकरणले जनाएको छ।

ओखलढुंगाको विद्युत उत्पादन क्षमता नै कम भएका कारण यसबाट ल्याएको विद्युतबाट ठूलठूला यन्त्र उपकरणहरु चलाउने भोल्टेज क्षमता नपुग्ने पनि वितरण केन्द्रले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७९ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App