१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तनहुँमा चितुवा आतंक, एकैरात दुईजनामाथि आक्रमण

फाइल तस्बिर।

जिल्लाको बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाले आतंक मच्चाएको छ। दुई वडाको सीमा क्षेत्रका बस्तीमा एकै रातमा नरभक्षी चितुवाले आक्रमण गर्दा दुई जना घाइते समेत भएका छन्।  

बन्दीपुर–४ टावरमा शनिबार राती साढे ८ बजे चितुवाको आक्रमण परी आठ वर्षीया बालिका रियाना थापा घाइते भएकी छन्। घर नजिकैको बाटोमा उनलाई चितुवाले आक्रमण गरेको हो। उनको घाँटीमा चोट लागेको छ। घाइते बालिकाको अवस्था अहिले सामान्य छ।

बजारबाट फर्कंदै गरेका आमाबुवा नजिकै भएकाले रियानाको ज्यान जोगिएको हो। ‘हामी बजारबाट घर फर्कंदै थियौँ। नानुले हामीलाई घरबाट देखेर लिन आउदै थिइन्। घरबाट झर्नेबित्तिकै बाटोमा चितुवाले आक्रमण गर्‍यो,’ घाइते बालिकाको बुवा सन्तोषले भने। आफूहरु नजिकै भएकाले छोरीको ज्यान बचाउन सफल भएको उनले बताए।  

आइतबार विहानपख फेरि सोही क्षेत्रमा चितुवाले अर्का एक व्यक्तिलाई आक्रमण गरेको छ। बन्दीपुर गाउँपालिका–१ बागदले शिखरडाँडामा बिहान साढे दुई बजे चितुवाले आक्रमण गर्दा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका छन्। पिँढीमा सुतिरहेका उनलाई चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए। चितुवाको आक्रमणमा परेका उनको खुट्टामा चोट लागेको उनले बताए। वडाध्यक्ष श्रेष्ठका अनुसार थापा र गरञ्जाको घर २५० मिटरको दुरीमा छ। दुवैलाई आक्रमण गर्ने चितुवा एउटै भएको स्थानीयको अनुमान छ।  

एकै रातमा दुई जनालाई चितुवाले आक्रमण गरेपछि स्थानीय त्रसित भएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘बच्चासहितको चितुवा गाउँमा डुलेको छ,’ स्थानीयको भनाईलाई उदृत गर्दै उनले भने। बागदले क्षेत्रमा पहिल्यैदेखि बेलाबखतमा चितुवा देखापर्ने गरेको उनले बताए। बासस्थानका लागि उपयुक्त भएकाले बागदले क्षेत्रमा चितुवा आइरहेने उनको भनाइ छ। ‘बासस्थानका लागि ओडार, पानीको व्यवस्थासँगै जंगल नजिकै भएकाले चितुवा देखा परिरहन्छ,’ उनले भने।  

बेलाबेलामा चितुवा देखा परेपनि मान्छेलाई आक्रमण भने गरेको थिएन। यसपाली एकै रातमा दुई जनालाई आक्रमण गरेर घाइते बनाएपछि त्रास बढेको उनले बताए। चितुवा नियन्त्रणका लागि पासोसहितको खोर राख्नलाई सव डिभिजन वन कार्यालय विमलनगरलाई अनुरोध गरेको उनले बताए। स्थानीयले पनि घर आसपासको झाडी फँडानी थालेका छन्।

चितुवाले आक्रमण भएको स्थानमा नियन्त्रणका लागि खोर राख्ने तयारी भएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले बताए। बच्चासहितको चितुवा भएकाले फेरि पनि आक्रमण गर्न सक्ने उनको भनाइ छ। ‘स्थानीयले बच्चासहितको चितुवा देखेको बताएका छन्। बच्चा भएको बेलामा चितुवा बढी आक्रमक बन्छ। ‘आहारा व्यवस्थापन र बच्चाको सुरक्षाका लागि आक्रमक हुन्छ,’ उनले भने। आक्रमणबाट बच्नलाई स्थानीय सचेत बन्नुपर्ने उनको भनाइ छ। साँझपख बालबालिकालाई घर बाहिर एक्लै हिँड्डुल गर्न नदिने, घर गोठ उज्यालो राख्ने र घर वरपरको झाडी फँडानी गर्न वन कार्यालयले स्थानीयलाई सचेत गराएको छ।

पछिल्ला केही वर्षमा तनहुँका विभिन्न स्थानमा चितुवाले निरन्तर आक्रमण गरिरहेको छ। २०७४ फागुन १ गते जिल्लामा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो। त्यसपछि चितुवाले श्रृखंलाबद्ध बालबालिकालाई आक्रमण गरिरहेको छ। चितुवाको आक्रमणमा परी हालसम्म ११ जना बालबालिकाको मृत्यु भएको छ। यो अवधिमा एक दर्जन बढी चितुवाको आक्रमणमा परी घाइते भएका छन्। बन्दीपुर गाउँपालिकासँगै भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकामा चितुवाले बढी आतंक मच्चाएको पाइन्छ।

अहिलेसम्म चितुवाले केहीलाई घरमै आएर त केहीलाई घर वरपरको बाटोमा आक्रमण गर्ने गरेको छ। धेरै जसो चितुवाले बालबालिकामाथि आक्रमण गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०७९ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App