२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याजीको पासोमा निमुखा

रामदेव खोज्दै प्रहरी, छोरा नन्दकिशोर पक्राउ

सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए। रामदेवका छोरा नन्दकिशोर साहलाई भने प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

उनलाई शुक्रबार जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए। रामदेवसहित प्रतिवादी खोज्न बिहीबार सप्तरी प्रहरीको विशेष टोली धरान उपमहानगर–१९ स्थित रामदेवको घर पुगेको थियो। तर घरमा कोही भेटिएनन्।

खोज्दै गर्दा रामदेवका छोरा नन्दकिशोर पक्राउ परेको एसपी काफ्लेले बताए। रामदेवसहित परिवारका अन्य सदस्य फरार छन्। उनीहरूको खोजीमा प्रहरीको विशेष टोली खटिएको छ। पीडितले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा रामदेवसँगै पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, नाति चन्दनकुमारसहितका सदस्यविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका छन्।

जाहेरी दर्ता गराए पनि कुनै सुनुवाइ नभएपछि वैशाख दोस्रो साता नौ पीडितले धरान उपमहानगर–१९ स्थित रामदेवको घरसम्मै पुगेर गुहार गरे। चर्को ब्याजमा ऋण लिएर चुक्ता गरिसके पनि साहु रामदेवबाट जग्गा फिर्ता नपाएको भन्दै पीडितले धरान उपमहानगरपालिका र १९ नम्बर वडा कार्यालयमा निवेदन दिए।

निवेदनमार्फत पीडितले सप्तरीको खगड नगरपालिका–७ कल्याणपुर घर भई दुई वर्षदेखि धरान उपमहानगरपालिका–१९ बस्दै आएका रामदेवलाई झिकाएर आफूहरूको जग्गा फिर्ता गराउन माग गरे। प्रहरी, प्रशासन र अदालतबाट पनि न्याय पाउन ढिलाइ भइरहेको भन्दै पीडितले धरान पुगेर जनप्रतिनिधिसँग गुहार मागे।

पीडितले धरान उपमहानगरका मेयर हर्कराज राई (साम्पाङ) लाई भेटेर आफ्ना पीडा सुनाउँदै कारबाहीका लागि लिखित निवेदन दिएका थिए। पीडितले जग्गा फिर्ता गर्न दबाब दिन थालेपछि रामदेव सप्तरीको कल्याणपुरस्थित पुख्र्यौली घर छोडेर दुई वर्षदेखि धरान उपमहानगर–१९ धनकुटे रोडमा घर किनेर सपरिवार बस्दै आएका छन्।

‘प्रहरी प्रशासन, अदालत सबैतिर गुहार माग्यौं तर कतैबाट न्याय पाएनौं,’ बोदेबर्साइन नगरपालिका–७ का पीडित तैयब अलीले भने, ‘दुई वर्षदेखि गुहार माग्दा कसैले सुनेनन्। अन्त्यमा मिडिया गुहार्न बाध्य भयौं। अहिले प्रहरी प्रशासनले सक्रियता बढाउँदा रामदेवका छोरा पक्रउ परेका छन्।

ब्याजसहित रकम लिएर गाउँ छाडे रामदेव

प्रहरी प्रशासनले रामदेवमाथि कारबाही अघि बढाउन सक्रियता नदेखाएपछि वैशाखको दोस्रो साता रामदेव खोज्दै धरान पुगेका थिए पीडितहरू। धरानमै पीडितले पत्रकार सम्मेलन गरेर आफ्ना पीडा सुनाए। ऋण लिँदा चलनअनुसार आफूहरूको जग्गा राजीनामा पास गरे पनि ब्याजसहित चुक्ता गरेपछि जग्गा फर्काउनुपर्नेमा रामदेव गाउँ नै छाडेर भागे।

दुई वर्षदेखि नौजना पीडित न्याय दिलाइदिन प्रहरी, प्रशासन र सामाजिक अगुवालाई गुहार्दै हिँडिरहेका छन्। उनीहरू रामदेव खोज्दै धरान पनि पटकपटक पुगे। गत वैशाखमा पनि पीडितहरू इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको ‘मानिस उपस्थित गराइदिने’ शीर्षकको पत्र बोकेर धरान पुगेका थिए।

कल्याणपुर प्रहरीले तेलीको धरान उपमहानगर–१९ स्थित घर खानतलासी गरेर बहिखाता फेला पारेर पठाइदिन आग्रह गरेको थियो। तर त्यो बेला धरान प्रहरीले खानतलासीमा ढिलाइ गर्‍यो। ढिलाइ गरेर पुगेको प्रहरीले खानतलासी गर्दा रामदेवको घरमा बहिखाता फेला पार्न सकेन। निराश भएर फर्केका पीडित फेरि कल्याणपुर प्रहरीको अर्को पत्र बाकेर धरान पुगे।

कल्याणपुर प्रहरीले धरान प्रहरीलाई रामदेव, उनकी पत्नी शिवकुमारी र छोरा चन्दनकुमारलाई उपस्थित गराउन आग्रह गरेको पत्रसहित पीडित धरान पुगेका थिए। तर धरान प्रहरीले प्रक्रिया मिलाउनुपर्ने भन्दै अल्झाएर पठाइदिएको पीडितको गुनासो छ। पीडितसहित धरान प्रहरीको टोली गत शनिबार तेलीको घरमा दुईपटक पुग्यो तर दुईपटक नै पीडितलाई गेटभित्र पस्न दिइएन।

पहिलोपटक पीडितलाई गेटबाहिरै राखेर दुईजना प्रहरी मात्र घरमा छिरे। झन्डै आधा घन्टाभित्र बसेका प्रहरी खानतलासी गर्न जनप्रतिनिधि र छरछिमेक पनि चाहिने भन्दै फर्किए। दोस्रोपटक जनप्रतिनिधि र छरछिमेकीसहित प्रहरी टोली प्रवेश गरेको थियो। तर दोस्रोपटक पनि पीडितहरू घरबाहिरै बसे। घरमा केही पनि भेटिएन भन्दै टोली फर्किएको थियो।

‘हामीले अरू केही चाहेका होइनौं,’ बोदेबरसाइन–९ का पीडित शीतल साहले भने, ‘सुरुमा रामदेवलाई हामीले समाजमै बसेर हिसाबकिताब गरौं भन्दा उनले मानेनन्। अहिले पनि हामीले रामदेवबाट फिर्ता पाउनुपर्ने हाम्रो करोडौं मूल्यको जग्गा मात्र चाहेका हौं। हामीले त ऋण सबै तिरिसक्यौं, जग्गा फिर्ता चाहियो।’

पीडितका अनुसार रामदेवसँगको लेनदेनको मुख्य बही खाता र कपाली तमसुक गरेको कागज छ। आफूहरूले ऋण लिएको र तिरेको रकमबारे तेलीकै मुन्सीले पनि लेखिदिएका छन्। साहु तेलीविरुद्ध अदालतमा ठगीको मुद्दासमेत दायर भएको पीडित बताउँछन्।

एसपी काफ्लेका अनुसार रामदेवको खोजीमा खटिएको प्रहरी टोलीले उनी उपचारका लागि भारत गएको सुराकी पाएको छ। उनी उपचाररत अस्पतालबारे पनि प्रहरीको अनुसन्धान टोलीले खोजी गरिरहेको काफ्लेले जानकारी दिए। रामदेवका छोरा पक्राउ परिसकेको र बाँकी सदस्य पनि छिट्टै पक्राउ पर्ने उनले बताए।

३८ लाखको करोड बुझाउँदा पनि जग्गा फिर्ता भएन

बोदेबर्साइन नगरपालिका–७ का मोहम्मद तैयब अलीले २०७१ सालमा छोरीको विवाहका लागि रामदेवसँग ३८ लाख रुपैयाँ ऋण लिएका थिए। चार वर्षपछि २०७४ सालसम्म उनले रामदेवलाई ब्याजसहित झन्डै १ करोड रुपैयाँ बुझाए। तर ऋण चुक्तापछि पनि साहु रामदेवले फिर्ता गर्ने गरी आफ्नो नाममा लगेको घरसहितको डेढ बिघा जग्गा तैयबलाई फिर्ता गरेनन्।

बोदेबर्साइन नगरपालिका–९ का शीतल यादवले छोरालाई वैदेशिक रोजगारीमा पठाउन २०६५ मा १२ कट्ठा जग्गा रामदेवलाई राजीनामा पास गरेर २ लाख ७० हजार रुपैयाँ ऋण लिए। शीतलले ब्याजसहित १२ लाख रुपैयाँ रामदेवलाई चुक्ता गरिसकेका छन्। तर रामदेवले शीतलमाथि अझै ४४ लाख ब्याज बाँकी देखाउँदै जग्गा फिर्ता गर्न मानिरहेका छैनन्।

साहुबाट चरम शोषण र ठगीमा पर्ने यी उल्लिखित पात्रहरू मात्र छैनन्। यिनीहरूजस्ता सयौं गरिब रामदेवजस्ता साहुको ऋणको पासोमा परेर बिल्लिबाठ भएका छन्। साहुबाट ब्याजको शोषणमा पर्ने जान्दाजान्दै गाउँसहरका गरिबहरू ऋण लिन्छन्। यसको मुख्य कारण हो, आफूलाई चाहिएको जतिसुकै ऋण साहुबाट पाइन्छ। अझ मागेको रकम साहुले घरमै ल्याएर पनि दिन्छन्।

बैंकबाट ऋण लिन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताका कारण मधेसका ग्रामीण बासिन्दाको साहुतर्फ आकर्षण देखिएको बताइन्छ। मधेसका करिब १५ लाख गरिबमध्ये अधिकांशले गरिबीका कारण ऋण लिएरै छाक टार्नुपर्ने बाध्यता छ। मधेस प्रदेशको गरिबी २७.७ प्रतिशत छ।

यसैबीच शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँडलाई मिटरब्याजी रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले खोजीमा सक्रियता बढाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०१:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App