जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबार ताप्लेजुङका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र विपद् घटना सम्पर्क व्यक्ति (फोकल पर्सन) सहितका सरोकारवालासँग मौसमी विपद् पूर्व तयारी र प्रतिकार्यबारे अभिमुखीकरण गरेको छ।
मौसमी विपद्का सम्भावित घटना, पूर्व तयारी र घटना भइहाले गर्न सकिने राहत र उद्धारका कार्यसहितका बिषयमा केन्द्रित रहेर छलफल गरिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यामबहादुर भट्टराईले जानकारी दिए। भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले मौसमी विपद् र ताप्लेजुङमा हुने अन्य सम्भावित विपद्का घटना रोकथाम तथा न्यूनीकरणका उपाय, पूर्व तयारी र प्रतिकार्यबारे सरोकारवाला निकायबीच हुने सहकार्य र समन्वयका बारेमा छलफल केन्द्रित भएको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले विपद् रोकथाम तथा न्यूनीकरण, पूर्व तयारी र विपद्का घटना भइहाले राहत र उद्धारका लागि अपनाउन सकिने रणनीति र विपद् व्यवस्थापनमा स्थानीय तहमा भइरहेको प्रयास र आगामी समन्वयका लागि छलफल लाभदायी भएको बताए। छलफलको अधिकांश समय सम्भावित मौसमी विपद् (बाढी, पहिरो)का बिषयमा केन्द्रित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
स्थानीय तहले विपद् पूर्व तयारी र प्रतिकार्य योजना बनाइ त्यसलाई सरोकारवालासँगको समन्वयमा कार्यान्वयनमा लैजानुपर्ने बारेमा पनि छलफल भएको थियो। ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रमा रहेका हिमतालबाट देखिने सम्भावित जोखिम, विपद् प्रतिकार्यका क्रममा प्रयोग हुने सामग्री व्यवस्थापन र विपद् जोखिम रोकथाम, न्यूनीकरण, पूर्व तयारी र प्रतिकार्यमा खटिने सरोकारवालाबीचको समन्वय र सहकार्यका बिषयमा समेत छलफल भएको नेपाल रेडक्रस सोसाइटीका मन्त्री विकास गौतमले जानकारी दिए।
यसैबीच सम्भावित मौसमी विपद् बाढी पहिरोको जोखिम र विपद् आइपरेपछि गरिने राहत र उद्धार प्रकृयाको चरणबद्ध जानकारी दिने उद्देश्यले शनिबार भीमकाली गुल्मको खेल मैदानमा प्रदर्शन(डेमोष्ट्रेसन) गरिने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको संयोजन र भीमकाली गुल्मको परिकल्पनामा डेमोष्ट्रेसन हुन लागेको हो।
प्रकाशित: २७ जेष्ठ २०७९ १३:०४ शुक्रबार