२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहोर विसर्जनमा फेरि अवरोध

बञ्चरेडाँडा संघर्ष समितिको अवरोधका बीच त्यहाँस्थित ल्याण्डफिल्ड साइटमा मंगलबार काठमाडौंको केही टिपर फोहोर विर्सजन गरिएको छ।

सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका अधिकारी तथा ल्याण्डपिल्ड साइट प्रभावित बञ्चरेडाँडा र सिसडोल क्षेत्रका जनप्रतिनिधिबीच सोमबार राति भएको सहमति एकपक्षीय भन्दै संघर्ष समितिको अगुवाइमा फोहोर विसर्जनमा अवरोध खडा गरिएको हो।

संघर्ष समितिका नाममा स्थानीयले फोहोर विर्सजनमा अवरोध खडा गरेपछि स्थानीय प्रशासनको सहयोगमा प्रहरी परिचालन गर्नुपरेको थियो। प्रहरीको सहयोगमा फोहोर विसर्जन गरी काठमाडौंबाट गएका गाडी फर्किएका थिए। ‘हामी जनप्रतिनिधिसँग भएको सहमतिअनुसार अगाडि बढेका हौं,’महानगरपालिकाका प्रवक्ता महेशकुमार काफ्लेले भने, ‘तर बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेका कारण समस्या आयो।’

प्रहरीको सहयोगमा अवरोध पन्छाएर ६०/७० गाडी फोहोर विसर्जन गरिएको उनले बताए । फोहोर बोकेर गएका गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गर्नुपरेको हो। प्रहरीले अवरोध गर्ने केहीलाई नियन्त्रणमा लिएको थियो। त्यस क्रममा केहीबेर तनावको अवस्था उत्पन्न भएको थियो।

महानगरपालिकाले विगत केही वर्षदेखि नुवाकोटको बञ्चरेडाँडा र सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जन गर्दै आएको छ। तर त्यहाँका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै फोहोर विसर्जनमा अवरोध गरेपछि करिब एक महिनादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन। सोमबार राति त्यहाँका जनप्रतिनिधिसँग भएको सहमतिअनुसा मंगलबार फोहोर लिएर केही गाडी बञ्चरेडाँडा पुगेका थिए।

संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना स्थानीयको मुख्य मागलाई उपेक्षा गर्दै सम्झौता गरिएको बताउँछन्। स्थानीयका मूल मूद्दालाई उपेक्षा गरी जनप्रतिनिधिसँग मात्र गरिएको सम्झौता मान्न आफूहरू तयार नभएको उनले बताए। ‘सम्झैतामा मिठा कुरा मात्र छन्,’ उनले भने, ‘तर कसरी लागु गर्ने प्रष्टता छैन।’

महानगरका प्रवक्ता काफ्ले प्रत्येक व्यक्तिसँग सम्झौता गर्न नसकिने भन्दै जनप्रतिनिधिले स्थानीयलाई सम्झाउनुपर्ने बताउँछन् । ‘हामीले संस्थागत रुपमा डिल गर्ने हो, व्यक्तिव्यक्तिलाई सहयोग गर्न हामीले सक्दैनौं। उनले भने, ‘हामीले राज्यको आर्थिक नियमकानुन पालन गर्नुपर्छ।’ काफ्लेले महानगरपालिका शक्ति प्रयोग गरेर अगाडि बढ्ने पक्षमा नभएको तर राज्यले तोकिदिएको कुनै पनि स्थानमा फोहोर फाल्न तयार रहेको बताए।

सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, ल्याण्डफिल्ड साइटका कारण प्रभावित पालिकाका प्रमुख/अध्यक्ष लगायतको उपस्थितिमा सोमबार राति फोहोर फ्याँक्ने सम्झौता भएको थियो।

हैजा फैलिने डर

सडक गल्लीहरूमा करिब महिना दिनदेखि थुप्रिएको फोहोर उठ्न नसक्दा काठमाडौं दुर्गन्धित बन्दै गएको छ। वर्षाको पानीले फोहोर कुहिन थालेको छन। यसबाट सर्वसाधारण बढी प्रभावित भएका छन्। कुनै पनि बेला हैजा फैलिन चेतावनी चिकित्सकले दिइरहेका छन्।

उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

’फोहोरले नगरमा दुर्गन्ध बढेको छ, अहिले वर्षा भइरहेको छ, उनले भने, ‘यसले हैजालगायत महामारी फैलिन सक्छ। ’फोहोर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्ने सरोकारवाला सबैको उत्तिकै भूमिका रहने बताए।

सांसद जयन्तीदेवी राईले पनि फोहोरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको बताउँदै दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्। ‘दुर्गन्धले सडकमा हिँडन सक्नेसमेत अवस्था छैन,’ उनले भनिन्, ‘गर्मी र वर्षाको यस्तो समयमा महामारी फैलिन सक्छ।’

यसैबीच काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले अब फोहोर थुप्रिएर काठमाडौंवासीले दुःख भोग्नु नपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अब फोहोर उठ्नेछ, यो सबैका लागि निसन्देह खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर भएको दुखका लागि क्षमाप्रार्थी छौं।’

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रमुख साहले फोहोर उठ्नु मात्रै यसको समाधान नभएको पनि बताएका छन्। उनले फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहेको पनि उल्लेख गरेका छन्। ‘अब तपाईंहरूले हरेक फोहोरलाई कुहिने र नकुहिने गरी कम्तीमा दुई अलगअलग भाँडोमा राखेर आफ्नो कर्तव्य पूरा गरिदिनुस्, ‘उनले भनेका छन्, ‘यति सहयोग गरिदिए तपाईंहरूले फोहोरबाट दुःख पाउनु हुने छैन।’

सम्झौतामा के छ?

ल्याण्डफिल्ड साइट प्रभावित पालिकाका जनप्रतिनिधिसँग सोमबार राति भएको सम्झौताअनुसार बञ्चरेडाडाँमा फोहोर खसालेपछि १५ सेन्टिमिटर अग्लो हुनेगरी माटोले पुर्नुपर्ने, दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सिफारिसमा १० दिनभित्र जैविक उपचारको विधि लागु गर्नुपर्ने छ।

त्यस्तै फोहोर संकलन गर्दा वर्गीकरण गर्नुपर्ने, बञ्चरेडाडाँमा फोहोर फाल्दा त्यसबाट प्रभावित हुने जग्गाजमिन अधिग्रहण प्रक्रिया सुरु गर्नुपर्ने सम्झौतामा उल्लेख छ। एक वर्षभित्र ल्याण्डफिल्ड साइट क्षेत्रका ५ वटा सडक निर्माण सम्पन्न गर्नुपर्ने, नदी नियन्त्रण गर्नुपर्ने, मन्दिर र सामुदायिक भवन निर्माण गर्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने लगायतका विषय पनि सम्झौतामा समेटिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७९ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App