१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

फोहोरको ‘राजनीति’ मा ‘गिरोह’ को खेल

काठमाडौंको कमलादी क्षेत्रमा फोहोर अगाडिबाट हिँड्दै सर्वसाधारण। तस्बिरः उपेन्द/नागरिक

काठमाडौं नक्सालका रविलाल सुवेदी आफ्नो होटलअगाडि थुप्रिएको फोहोरका कारण दिक्क छन्। बारम्बार फोहोरको समस्या झेल्दै आएका उनी अहिले रोजीरोटी नै बन्द हुने अवस्थामा पुगेको सुनाउँछन्।

‘कसैलाई फोहोरमा पनि राजनीति गरेर रमाइलो भएको छ’, उनले दिक्दारी पोखे, ‘जनताचाहिँ भोक र रोगले थला पर्ने भए।’ रविलालले दिक्दारीमा भनेको ‘फोहोरको राजीनीति’ भन्ने शब्दावली ककनी १ ‐बञ्चरे डाँडा) का अध्यक्ष पदम बलामी पनि स्वीकार्छन्। राज्यले आफ्नो बाचा पूरा नगर्दा स्थानीय स्तरमा फोहोरमाथि ‘राजनीति’ हाबी भएको बलामी सुनाउँछन्।

‘विभिन्न दलसँग आबद्ध दलका ८–१० जनाको समूहले सर्वसाधारणलाई अन्योलमा राखेका छन् ’, उनले भने, ‘फोहोरमा हुने गरेका राजनीतिका कारण मूल समस्या ओझेलमा पर्दै गएको छ।’ व्यक्तिगत ठेक्का-पट्टा तथा विकासका कुरालाई आफ्नो पक्षमा पार्न उनीहरू सधैं सक्रिय हुने गरेको उनको बुझाइ छ। अस्पताल, खानेपानी, स्कुल, एक घर एक रोजगार, जीवन बिमा, स्वास्थ्य बिमालगायत प्याकेज पनि घोषणा हुनुपर्ने स्थानीयको माग छ।

यस विषयमा सरोकारवाला क्षेत्र ककनी र धुनिबेंसीका जनप्रतिनिधिसँग भन्दा पनि विगतमा सरकार व्यक्तिपिच्छे ‘डिल’ गर्दै अगाडि बढेका कारण समस्या बल्झेको उनले बताए। बञ्चरे डाँडा सरोकार समितिका संयोजक श्रीराम ढुंगाना समस्याको कारक सिसडोल र बञ्चरेका सर्वसाधारण नभएर बीचका गिरोह भएको बताउँछन्। ‘हामीले त नयाँ केही माग राखेका छैनौं’, उनले भने, ‘सरकारले विगतमा गरेका बाचा पूरा गर मात्र भनेका हौं।’

बञ्चरेको डम्पिङ साइट तयार नहुँदासम्म सिसडोलमा अस्थायी रूपले फोहोर फाल्ने सम्झौताअनुसार २०६२ जेठ ६ गते भएको थियो। ‘तर सरकारले गरेको बाचा केही पूरा गरेन’, उनले भने, ‘न त सम्झौताअनुसार बञ्चरे साइटको समयमै निर्माणमा तदारुकता देखियो।’ अहिले साइट निर्माण अन्तिम चरणमा पुगेको छ, तर फोहोरको समस्या सुल्झिने छाँटकाँट छैन। उक्त साइटको आयोजना प्रमुख रवीन्द्र बोहोराले दुई खण्डमध्ये पहिलो खण्डको काम पूरा भएको र दोस्रो खण्डको ८० प्रतिशत सकिएको सुनाउँछन्। असार मसान्तसम्म सबै काम पूरा हुने उनी बताउँछन्।

ढुंगाना भने साइट निर्माणले मात्र समस्या समाधान नहुने सुनाउँछन्। विगतमा गरेका बाचा पूरा नभएका कारण विश्वासको समेत संकट भएको भन्दै अब जनताको मन जितेर अगाडि बढ्नुपर्ने सुझाउँछन्। जथाभावी फोहोर फाल्दा डम्पिङ साइट नजिक मात्र होइन; वरपरका गाउँमा समेत दुर्गन्ध फैलने उनी बताउँछन्। सिसडोलको फोहोर कुकुर, काग र चिलहरूले फोहोरको डुंगुरबाट सिनो ल्याएर गाउँबस्ती प्रदूषित पार्न थालेका छन्’, उनले भने, ‘फोहोरबाट रसाउने दूषित पानी गाउँको खानेपानी स्रोतमा मिसिएको छ।’

‘यहाँ रहेका कतिपय दलका ८–१० जनाको समूहले सर्वसाधारणलाई अन्योलमा राखेका छन्’, ककनी १ ‐बञ्चरे डाँडा) का अध्यक्ष पदम बलामी भन्छन्, ‘फोहोरमा हुने राजनीतिका कारण मूल समस्या ओझेलमा परेको छ।’ बरेडाँडा सरोकार समितिका संयोजक श्रीराम ढुंगाना समस्याको कारक सिसडोल र बञ्चरेका सर्वसाधारण नभएर चलखेल गर्ने ‘गिरोह’ रहेको सुनाउँछन्।

त्यसैले उनी बञ्चरे क्षेत्रका झन्डै ३ हजार रोपनी अधिग्रहण गर्नुपर्ने सुझाउँछन्। आनाको ३ लाख पर्ने उक्त जमिन राज्यले लिएमा समस्याको ८० प्रतिशत समाधान हुने उनको बुझाइ छ। तर वडा नम्बर १ का अध्यक्ष पदम बलामी जमिनको अधिग्रहण मात्र समाधान नभएको बताउँछन्। ‘पहिलो कुरा फोहोरले कतिसम्म जमिनलाई प्रत्यक्ष असर गर्छ, त्यसको अनुसन्धान हुनुपर्ने भन्दै बस्न मिल्ने भए बस्ने नभए मात्र छाड्नुपर्ने धारणा राख्छन्।

‘नास्ट अथवा अन्य कुनै निकायले फोहोरका कारण बस्न सकिन्छ/सकिँदैन हेरिदिनु पर्‍यो’, उनले भने, ‘त्यही आधारमा जमिन अधिग्रहण गर्नुपर्ने/नपर्ने प्रस्ट निकाल्नु पर्‍यो।’ राज्यले विगतमा गरेका बाचा पूरा नगर्दा विश्वासको संकट भएको उनको बुझाइ छ। त्यस्तै सिसडोल र बञ्चरे क्षेत्रलाई एउटै मापदण्डमा राखेर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ।

काठमाडौं नयाँ मेयरप्रति केही गुनासो छैन

फोहोर समस्या समाधानका लागि सक्रिय रहेका काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र साहप्रति कुनै गुनासो नभएको ढुंगाना बताउँछन्। समस्या समाधनामा साहले देखएको सक्रियता राम्रो तर उनलाई सफल हुन नदिने गिरोह लागिपरेको उनी बताउँछन्। ‘विगत १८ वर्षदेखिएको समस्या हो’, उनले भने, ‘उहाँ आएको त भर्खर एक साता भयो।’

मेयरले काम गर्न मागेको ३ महिनामा कुनै आपत्ति नभएको बताउँदै उनले तर सरकारका रबैयाका कारण विश्वासको संकट भएको उनले सुनाए। ‘तीन महिला के, चारै महिना दिऊँला’, उनले भने, ‘तर समस्या समाधान हुन्छ भनेर सम्झौता गर्नुपर्‍यो।’

ढुंगानाले कुन काम कहिले सुरु गर्ने र कहिले टुंगो लगाउने समयतालिका चहिएको बताउँदै काठमाडौं महानगर, ककनी गाउँपालिका, धुनीबेंसी नगरपालिका, सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र संघर्ष समितिबीच सम्झौता हुनुपर्ने उनको भनाइ छ। तर ‘खान पल्केका गिरोह’ का कारण समस्या सल्टिन नसकेको उनले बताए।

‘हिजो गोकर्णमा ‘बाजे’ ले, विष्णुमतीमा ‘छोरा’ ले जसरी फोहोरमा कमिसनको दलाली गरेका थिए’, उनले प्रतीकात्मक ढंगले सुनाए, ‘तिनैका ‘नाति’ हरू यहाँ आएर थप समस्या बल्झाउँदै छन्।’ सरकारले वाचा पूरा गर्न पटकपटक सम्झौता गर्ने तर काम कहिल्यै नगर्ने भएकाले समस्या बल्झिएको ढुंगाना बताउँछन्।

फोहोर विसर्जन गर्न ठाउँमा अवरोध भएका कारण फोहोर संकलन गर्न नसकिएको काठमाडाैँ वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राई बताउँछिन्। ‘ल्यान्डफिल्ड साइटमा अवरुद्ध भएपछि फोहोर उठ्न नसकेको हो’, राईले भनिन्, ‘फोहोर विसर्जन नसकेपछि संकलन गर्न सकिँदैन।’

केमिकल छर्केर दुर्गन्ध हटाउँदै

काठमाडौं महानगरपालिकाले विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरमा केमिकल छर्केर दुर्गन्ध हटाउन थालेको छ। सिसडोल ल्यान्डफिल साइटमा त्यहाँका स्थानीयले फोहोर फाल्न नदिएपछि उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएर बसेको छ। फोहोरले सहर नै दुर्गन्धित हुन थालेपछि महानगरले केमिकल छरेर दुर्गन्ध हटाउन थालेको हो।

वडाध्यक्ष निस्किए फोहोर संकलनमा

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजाल फोहोर संकलनमा निस्किएका छन्। चोकहरूमा थुप्रिएको फोहोर वडाकै पहलमा उठाएर तत्काल समस्या समाधानमा सहयोग पुराएको रिजालले बताए। कालधारा र सासा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको उनले सुनाए। उनले यस काममा सहयोग पुर्‍याउने काठमाडौं महानगरपालिका वातावरण विभाग र अन्य सबैलाई आभार व्यक्त गरे।

प्रकाशित: २४ जेष्ठ २०७९ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App