१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

कोही खुसी, कोही निराश

सरकारले आइतबार संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै गर्दा नवराज कार्की नारायणटारस्थित आफ्नो होस्टलको ह्विल चियरमा थिए। मेरुदण्डको पक्षघातबाट पीडित उनले मासिक ५ हजार पाउने खबरले उत्साहित भएको सुनाए।

‘हामीले लामो समयदेखि उठाउँदै आएको आवाजको सम्बोधन भएको छ’, उनले भने, ‘यसबाट हामीजस्ता झन्डै ५ हजारले सुविधा पाउने छौं।’

अर्थमन्त्री जर्नादन शर्माले आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मेरुदण्डको पक्षघात भएका तथा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका, निको भएका क्यान्सरका बिरामीका लागि मासिक पाँच हजार दिने उल्लेख गरेको छ। ‘यसले हाम्रो ढाड थोरै भए पनि सोझिएको महसुस गरेका छौं’, उनले सुनाए, ‘यसबाट हाम्रो जीवनले केही गति पाउने छ।’

बजेट प्रस्तुत हुदै गर्दा पेप्सीकोलाकी निर्मला कोइराला भान्सामा तरकारी काट्दै थिइन्। अनियन्त्रित महँगीले उपभोक्ताको ढाड भाँचिसकेको भन्दै बजेटले खासै ठूलो राहत ल्याउन नसकेको प्रतिक्रिया दिइन्।

‘कता कसले के सुविधा पाएभन्दा पनि मेरो दैनिकी कसरी सहज बन्ला भनेर चाख मानेर सुन्दै छु’, उनले भनिन्, ‘तर मैले मेरो पहिलो चासो सम्बोधन हुन नपाएको महसुस गरे।’ स्थानीय तहमार्फत एक परिवारलाई एक इन्डक्सन चुलो अनुदानमा दिने निर्णय केही राम्रो देखिए पनि यसले मात्र सबै समस्याको सम्बोधन गर्न नसक्ने उनको बुझाइ छ।

बजारमा अनियन्त्रित महँगी रोक्न असफल भएको सरकारले सर्वसाधारणका लागि राहत ल्याउन नसकेको उनले गुनासो गरिन्। ‘पाक्नेदेखि पाकाउने सबै चिज महँगो छ’, उनले थपिन्, ‘यस्तोमा विकासका ठुला कुराले मात्र मन खुसी हुन सक्दैन।’

कोइरालाको जस्तै बुझाइ छ स्नातक तहमा अध्ययनरत गुह्येश्वरीकी सीता भण्डारीको पनि। उनलाई कसैको सेवा सुविधामा भएको वृद्धिभन्दा पनि दैनिक काम गरी खानेका पक्षमा खासै केही सम्बोधन नभएको सुनाइन्। महँगीले सताउँदै गएको अवस्थामा राहतको प्याकेज नआउँदा अवस्था झनै डरलाग्दो बन्न सक्ने उनले सुनाइन्।

‘दुई घन्टामै सगरमाथा क्षेत्र पुग्ने गरी दु्रत मार्ग निर्माण गरिने कुरा त सुनियो’, उनले भनिन्, ‘महँगीको सगरमाथाचाहिँ कहिले पार गर्ने नि?’

देशमा जागिर खानेभन्दा बेरोजगारको सख्ंया धेरै भएको भन्दै उनीहरूका पक्षमा पनि केही बोलिनुपर्ने उनले सुनाइन्। ‘जागिर खानेले मात्र हैन, जागिर नखानेले पनि खान सक्ने स्थिति सिर्जना हुनुपथ्र्यो’, तबलावादक सीताले भनिन्, ‘त्यो नहुन नसक्दा दुःख लागेको छ।’

कतिपयले भने सरकारले गरेका निर्णयको स्वागत गरेका छन्। सरकारले २५ जिल्लामा सुत्केरीलाई पोषण भत्ता दिने कुरा आशालाग्दो भएको कतिपयको बुझाइ छ। ‘सुत्केरीलाई दिने भनिएको ५ हजार पोषण भत्ता आमालाई गरिएको सम्मान हो, ‘काँडाघारीकी रीता खड्काले भनिन्, ‘थोरै भए पनि यसले पुरै परिवारलाई खुसी बनाउने छ।’

त्यस्तै कतिपयले ६८ वर्षमाथिका लागि सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थालाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने सुझाएका छन्। ‘ज्येष्ठ नागरिकलाई सम्मान गर्नु नराम्रो त होइन’, जोरपाटीका नरेश सुवेदीले भने, ‘तर यो राजनीतिक दाउपेचमा मात्र सीमित हुनु हुँदैन।’

प्रकाशित: १६ जेष्ठ २०७९ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App