६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

छात्रा बलात्कार प्रकरणः शिक्षकलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन

पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिन इटहरीमा शुक्रबार महिला अभियानकर्मीद्वारा प्रदर्शन। तस्बिरः नागरिक

छ वर्षअघि इटहरीमा एक छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिँदै शुक्रबार महिला अभियानकर्मीहरुले प्रदर्शन गरेका छन्।  

सिन्धुली घर भएका राज खड्कालाई बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरि सुनसरी प्रहरीलाई जिम्मा लगाएपछि महिला अभियानकर्मीहरुले दबाबका लागि प्रदर्शन गरेका हुन्। महिला अभियानकर्मीहरुले इटहरी बजार परिक्रममा गरी उपमहानगरपालिका अगाडि गएर प्रदर्शन गरे। अभियानकर्मीहरुले शिक्षक खड्कालाई कडा कारबाही हुनुपर्ने, कानुनको हदम्याद खारेज गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरे।  

अभियानकर्मीहरुले इटहरीका मेयर हेमकर्ण पौडेललाई छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका शिक्षकलाई कारबाहीका लागि दबाब दिन पनि आग्रह गरेका थिए। सो क्रममा मेयर पौडेलले दोषीलाई कारबाहीका लागि आफूले पहल गर्ने बताए। 

२०७२ सालदेखि डेढ वर्षसम्म इटहरीको ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेर काठमाडौंको नेपालटारस्थित एक निजी स्कुलमा शिक्षण गर्ने खड्कालाई सिआईबीको टोली सुनसरी पठाएसँगै शुक्रबार अदालत हाजिर गरियो। अदालतका अनुसार अब सोमबार खड्काको बयान लिएर थुनछेकमाथि बहस भएर आदेश हुनेछ।  

इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि २०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर काम गरेका थिए। त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको आरोप छ। प्रिन्सिपल खड्काले ती छात्रालाई उपचार गराउन लाने बहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको खुलेको छ। खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको युवतीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि यतिबेला सबैको त्यस घटनाप्रति चासो बढेको हो।  

घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७४ भदौ २३ गते जाहेरी दिएकी थिइन्।

प्रकाशित: १३ जेष्ठ २०७९ १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App