४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

फुङलिङ नगरपालिकाले उद्यमका आकांक्षीलाई सीप विकासमा सहयोग गर्ने

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहनेहरुलाई सीप विकास, उपकरण र कच्चा पदार्थमा सहयोग गर्ने घोषणा गरेको छ। 

फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रत्येक व्यक्तिले आत्मनिर्भर बन्ने उपायस्वरुप सीप हाँसिल गर्ने र श्रमका लागि जाँगर लगाउन तयार भएको अवस्थामा नगरपालिकाले कच्चा पदार्थ र उपकरणका लागि सहुलियत प्रदान गर्ने बचन दिए। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको संयोजनमा फुङलिङ नगरपालिका वडा नं ६ गुम्बाडाँडामा सञ्चालित एड्भान्स राडीपाखी बुनाई तालिमको समापन समारोहमा बोल्दै मादेनले सिकेको सीपलाई श्रममार्फत रोजगारी सृजना गर्ने कार्यमा जाँगर भएकाहरुलाई नगरपालिकाले सहुलियत प्रदान गर्न कञ्जुस्याँइ नगर्ने बताए। 

बजार नजिकको क्षेत्र भएकोले उत्पादित राडीपाखीको बजारीकरणमा कुनै समस्या नरहेको बताउँदै मादेनले राडीपाखी संगै ऊनमार्फत अन्य नयाँ प्रकारका उत्पादन बृद्धिमा समे ध्यान दिन उनले स्थानीयलाइ आग्रह गरे। बढीभन्दा बढी ऊनदिने भेडापालनका लागि नगरपालिकाले योजना ल्याउने मादेनको भनाइ थियो। फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले राडीपाखी लोपोन्मुख बनिरहेको अवस्थामा यसको संरक्षण र जर्गेना गर्दै यसको व्यवसायिकरणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बचन दिए। 

घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले सीप हस्तान्तरण संगै प्रविधिमा सहुलियत दिएर सीपलाई श्रममा र श्रममार्फत रोजगारी सृजना गर्ने उद्देश्य सहित घरेलु कार्यालयले स्थानीय तहसंगको समन्वयमा सीप हस्तान्तरण अभियान सञ्चालन गरेको बताए। फुङलिङ नगरपालिका वडा नं २ का वडाध्यक्ष मोहन न्यौपानेले सीपलाई श्रममा बदल्न सके रोजगारी सृजनामा अरु कसैको मुख ताक्नुनपर्नेमा जोड दिए। 

घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष राजेन्द्र भारतीले उत्पादन र बजारीकरणमा सघाए उद्यमीहरुको जाँगर बृद्धि हुनेमा जाड दिए। गुम्बाडाँडा होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पूर्णकुमारी गुरुङले कच्चा पदार्थको अभाव र मेहनेत बढी लगाउनुपर्ने भएकोले राडीपाखी उत्पादनको लागत दिनहुँ महंगो पर्दै जाने बताउँदै सहयोगको याचना गरेकी छन्। कार्यक्रममा समापन मन्तव्य राख्दै फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन(तेज)गुरुङले स्थानीय परिवेश र आवश्यकता अनुसारको उद्यम सृजनाका लागि वडातहले योजना तयार पारी नगर कार्यपालिकामार्फत अघि बढाउने बिश्वास दिलाए।

प्रकाशित: १२ जेष्ठ २०७९ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App