coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहोर व्यवस्थापनमा अड्चन

चुनावअघिदेखि नउठेको फोहोर सबै परिणाम आउन लागिसक्दा पनि उस्तै, कहिल्यै नसुल्झिने समस्या बन्दै काठमाडौंको फोहोर

काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिको पदावधि सकिँदै गएपछि राजधानीमा फोहोरमैला असरल्ल रूपमा सडकमै यत्रतत्र थुप्रिँदै आइरहेको छ। काठमाडौं महानगरमा गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय फोहोरमैला सडकमै यत्रतत्र थुपिँदै आएको हो। यही जेठ ५ मा आधिकारिक रूपमा जनप्रतिनिधि रिक्त भएसँगै संघीय राजधानीसमेत रहेको काठमाडौंका सडक, गल्ली र चोकचोकमा असरल्ल फोहोरमैला थुप्रिएर दुर्गन्ध बढ्न थालेको छ।

महानगरको कर्मचारी संयन्त्रले फोहोरमैला नियमित रूपमा उठाउन नसकेपछि राजधानीको फोहोर फ्याँक्न प्रहरीलाई समेत गुहार्नुपरेको छ। संघीय राजधानी काठमाडौं महानगरमा दुई सातादेखि सडकमै असरल्ल रूपमा फोहोरमैला थुप्रिए पनि जनप्रतिनिधिको अभावमा कर्मचारीतन्त्र फोहोरमैला उठाउन असफल देखिएको हो। सहरी विकास मन्त्रालयले सोमबार प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा फोहोरमैला व्यवस्थापनमा सहजीकरण गर्न लिखित रूपमा अनुरोध गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले फोहोरमैला व्यवस्थापनमा कुनै अवरोध आएको खण्डमा प्रहरी परिचालन गरेर भए पनि व्यवस्थापन गर्ने तयारी भइरहेको बताए। ‘फोहोरमैला व्यवस्थापनमा सोमबार कुनै अवरोध आएको छैन,’ उनले नागरिकसँग भने, ‘अवरोध हुने कुनै संकेत पाएको खण्डमा रातिबाटै हामीले सुरक्षाकर्मी परिचालन गरेरै भए पनि फोहोरमैला व्यवस्थापनमा सघाउनेछौं।’ ल्यान्डफिल्ड साइट इन्जिनियर सरकारदीप श्रेष्ठले वर्षात्को पानीका कारण फोहोरमैला ल्यान्डफिल्ड साइटमा लैजान समस्या भइरहेको बताए। ‘तिनपिप्ले–मुड्खु खण्ड अवरोधका कारणले रोकिएको फोहोरमैला अहिलेसम्म पनि समस्या भइरहेको छ,’ उनले भने, ‘चुनावअघि रोकिए पनि अहिले त्यस्तो छैन।

तर पुरानो स्टक फोहोरमैला व्यवस्थापन नभएकाले समस्या देखिएको हो।’ काठमाडौं महानगरपालिका वातावरण विभागका अनुसार गत फागुनदेखि हालसम्म ५० दिनभन्दा धेरै समय अवरोधका कारणले फोहोरमैला सडकबाट उठ्न नसकेको हो।

फागुन १ देखि १३ सम्म फोहोरमैला संकलनमा अवरोध भएको थियो। फागुन २५ देखि चैत ५ सम्म दोस्रोपटक अवरुद्ध बन्यो। तेस्रोपटक चैत १६ देखि २६ सम्म पनि फोहोरमैला संकलन अवरुद्ध भएको थियो। त्यति मात्रै होइन, गत वैशाख ११ देखि २४ सम्म फोहोरमैला उठेको थिएन। महानगरले स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षाकर्मी परिचालन गरेर फोहोरमैला ल्यान्डफिल्ड साइट सिसडोलमा व्यवस्थापन गरेको थियो।

काठमाडौं महानगरपालिका वातावरण विभागकी विभागीय प्रमुख सरिता राईले काठमाडौंको फोहोर एउटा कारणले भन्दा पनि धेरै कारणले उठ्न नसकेको बताइन्। ‘उपत्यकाको फोहोर एउटा निकायको अवरोधका कारण मात्रै होइन, धेरै निकायको अवरोधका कारणले समस्या आएको हो,’ उनले भनिन्, ‘कहिले नुवाकोटको मुड्खु भन्ज्याङ स्थानीयको अवरोधका कारणले त कहिले वर्षात्का कारणले फोहोर उठ्न सक्दैन।’

विभागका अनुसार पछिल्लो समय भने काठमाडौंको टेकुस्थित फोहोरमैला स्टेसन वरपरका स्थानीय जनताको अवरोधका कारण पनि राजधानीमा नियमित फोहोरमैला उठ्न नसकेको हो। महानगरले उपत्यकाको फोहोरमैला अस्थायी रूपमा टेकुको स्टेसनमा संकलन गरेर सिसडोलको ल्यान्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आइरहेको थियो। तर हरेक दिन बिहान ८ बजेपछि अस्थायी रूपमा सञ्चालन हुँदै आइरहेको फोहोरमैला संकलन केन्द्रमा अहिले यहाँका स्थानीयले फोहोरमैला ल्याएको खण्डमा प्रवेश नदिने भन्दै उर्दी जारी गरेका छन्। यसले गर्दा पनि फोहोरमैला संकलनमा अवरोध भइरहेको छ।

शैलुङ–अरभाली इन्फ्रापावर जेभीले २०७०/७१ सालमा सडक सुधार आयोजनाअन्तर्गत बालाजु–रानीपौवा खण्डखण्डको ठेक्का पाएको छ। सो ठेकेदार कम्पनीले समयमै सडक निर्माण नगर्दा पनि स्थानीयले सो सडकखण्डमा बारम्बार अवरोध गर्दै आएका छन्। ‘ल्याडफिल्ड साइटका स्थानीय जनताको अवरोधका कारण पनि फोहोरमैला उठ्न सकेको छैन,’ उनले भनिन्, ‘कहिले वर्षात्को पानीले सडक हिलाम्मे भएर फोहोरमैलाको गाडी सिसडोलको उकालो पार गर्नै नसक्ने कारणले पनि समस्या भइरहेको छ।’

काठमाडौंको फोहोरमैलामा सधैं राजनीति हुने गर्दा पनि धेरै समस्या आउने गरेको छ। त्यति मात्रै होइन, ल्याडफिल्डसाइड सिसडोलवासीको पनि नियमितजसो अवरोधका कारणले फोहोरमैला नियमित उठ्न सक्दैन। अर्कातर्फ फोहोरमैलाबाट हुने आर्थिक लाभको विषयमा पनि बारम्बार हुने विवादले पनि यो समस्या बल्झिँदै आइरहेको छ। अर्कातर्फ सरकारले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन योजना तर्जुमा नगर्दा पनि समस्या भएको हो। सन् २००५ मा तीन वर्षका लागि भन्दै सिसडोलस्थित ल्यान्डफिल्ड साइटमा फोहोरमैला फ्याँक्न थालिएको थियो।

तर १५ वर्षदेखि सोही ठाउँमा फोहोरमैला फ्याँक्ने गरिएको छ। सहरी विकास मन्त्रालयमातहतको सहरी तथा भवन विभागले बन्चरेडाँडामा नयाँ ल्याडफिल्ड साइट समयमै निर्माण गर्न नसक्दा पनि यो समस्या बारम्बार बल्झिने गरेको छ। बन्चरे डाँडामा ल्यान्डफिल्डसाइडको एउटा सेल मात्रै ल्यान्डफिल्ड साइड तयार भए पनि अर्काे सेल भने अहिलेसम्म तयार हुन सकेको छैन।

अहिले उपत्यकामा दैनिक १२ मेट्रिक टनभन्दा धेरै फोहोरमैला संकलन हुने गर्छ। यो काठमाडौं महानगरसहित १८ वटा स्थानीय निकायको फोहोरमैला हो। अहिले काठमाडौंबाट २० प्रतिशत मात्रै फोहोरमैला उठ्दै आइरहेको छ। कुहिने र नकुहिने फोहोरमैलाकोे वर्गीकरण नहुँुदा पनि अहिलेको समस्या देखिएको हो।

सहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले काठमाडौंको फोहोरमैला लामो समयदेखि सडकमै थुप्रिएसँगै मन्त्रालयले फोहोरमैला व्यवस्थापनको लागि अग्रसरता लिएको दाबी गरे। ‘उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने निकाय महानगर हो,’ उनले भने, ‘ल्यान्डफिल्ड साइटमा बिग्रिएको सडक मर्मतसम्भार गर्नेलगायत काम अघि बढाउन महानगरलाई अनुरोध गरेका छौं।’ उनले मन्त्रालयले उपत्यकाको फोहोरमैलाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिरहेको बताए। ‘मन्त्रालयले प्रहरी सेना लगाएर नै फोहोरमैला उठाउने भनेका होइनौं,’ उनले भने, ‘सुरक्षाकर्मीसँग समन्वय गरेर फोहोरमैला हटाउने तयारी गरेका हौं।’

प्रकाशित: १० जेष्ठ २०७९ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App