१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कारको आरोप लागेका शिक्षक पक्राउ गर्न प्रहरी टोली सक्रिय

छ वर्षअघि इटहरीको एक निजी विद्यालयका प्रिन्सिपल हुँदा छात्रालाई पटकपटक बलात्कार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय भएको छ।

२०७२ सालदेखि डेढ वर्षसम्म इटहरीको ब्लुमिङ् लोटस इङ्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल रहेर अहिले काठमाडौंको नेपालटारस्थित सिद्दार्थ इङ्लिस स्कुलमा शिक्षण गर्ने राज खड्काको खोजीमा प्रहरी सक्रिय भएको हो। उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली खटिएको छ। एसपी सञ्जयसिंह थापाले आरोप लागेका शिक्षक खड्कालाई पक्राउ गर्न खोजतलास गर्ने क्रममा प्रहरी नजिक नजिक पुगीसकेको बताए।

शिक्षक खड्काविरुद्ध जिल्ला अदालत सुनसरीमा बलात्कारको मुद्दा विचाराधीन अवस्थामा छ। सो घटनाकी पीडितले भने प्रहरीले आरोपित व्यक्ति छ वर्ष बित्दा पनि पक्राउ नपरेको सार्वजनिक नगरेपछि यस घटनामा प्रहरीको सक्रियता बढेको हो।

खड्कालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिम पनि परिचालित भएको छ। इटहरीको ब्लुमिङ् लोटसमा खड्काले २०७२ देखि २०७३ को अन्तिमसम्म प्रिन्सिपल भएर काम गरेका थिए। त्यतिबेला १५ वर्षकी कक्षा ९ मा पढ्ने छात्रालाई होस्टेलमा बसेका बेला पटकपटक बलात्कार गरेको आरोप छ। प्रिन्सिपल खड्काले ती छात्रालाई उपचार गराउन लाने बाहानामा धरानको एक होटलमा समेत लगेर जबरजस्ती गरेको पीडित युवतीको दावी सार्वजनिक गरेकी छन्।

खड्काले बलात्कार गरेको भिडियो बनाएर ब्ल्याकमेल समेत गरेको ती युवतीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि यतिबेला सबैको त्यस घटनाप्रति चाँसो बढेको हो।  

घटनाको विषयमा पीडित युवतीले जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा २०७४ भदौ २३ गते जाहेरी दिएकी थिइन्। प्रहरीले समेत आवश्यक अनुसन्धान पूरा गरेर मुद्दा सुनसरी जिल्ला अदालत इनरुवा बुझाएको थियो। अदालतले पनि आरोपित खड्काको नाममा फरार अभियुक्त भनी सूचना प्रकाशित गरेको छ। अब भने जिल्ला अदालतले पीडितको बकपत्र गरेर मुद्दा फैसला गर्न बाँकी छ। पीडित युवतीले खड्कालाई चाडो पक्राउ गर्न प्रहरी समक्ष आग्रह गरेकी छिन्।

प्रकाशित: ९ जेष्ठ २०७९ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App