६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

स्थानीयवासीको अवरोधका कारण फोहाेर व्यवस्थापनमा समस्या

काठमाडौँ महानगरपालिका–१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहाेर व्यवस्थापनमा पुनः समस्या भएको छ।

यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो। अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहाेरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ।

काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा सङ्कलन भएको फोहाेर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरुपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ। लामो समयसम्म टेकुमा फोहाेर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन्।

यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ। स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहरको व्यवस्थापन हुन सकेको थिएन। नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App